मोहना पारीका नेपाली सीमा रक्षक : जसले नेपाल आउनकै लागि पैसा तिर्नुपर्छ
फरकधार / १३ साउन, २०७८

कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा अधिकांश ठाउँमा मोहना नदी बगेको छ । नदी वारी नेपाल र पारी भारत भएको भएपनि कहिँकतै नदी पारी समेत नेपाली बस्ती रहेको छ । मोहना पारी नेपालको सीमा जोगाएर बसेका बस्ती हुन् कैलालीको धनगढी उपमहानगरपालिका–१९ को लग्गाभग्गा र आँखाकाटे । यी दुवै गाउँका स्थानीय सीमाका नेपाली पिलर बनेर बसेका छन् । नदी पारी केही भागमा बस्ती भएकै कारण भारतीय पक्षबाट सीमामा हुने अतिक्रमण पनि रोकिएको छ । 



लग्गाभग्गा क्षेत्रसँगै भारतको दुधुवा राष्ट्रिय निकुञ्ज जोडिएको छ । ‘सुरु–सुरुमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले हामीलाई यहाँ बस्न दिँदैन थिए । हामीले जसोतसो गरी यहीँ घर बनाई खेती गरेर आफ्नो जमीनको रक्षा गरेका छौँ’, स्थानीय हंशराम रानाले भने, ‘अहिले सुरक्षाकर्मीले त्यति समस्या दिँदैनन् तर कहिलेकाहीँ धम्की आउन भने छाडेको छैन ।’

रानाले आफूहरु सो समयमा त्यहाँ बसोबास नगरेको भए उक्त क्षेत्र भारतले कब्जा गरिसक्ने बताए । उनले भने, ‘उनीहरु नेपाल–भारतको सीमा यही नदीले छुट्याएको ठान्छन् तर, यो नदीले धार परिवर्तन गर्दा नेपालको बस्ती बढी कटान हुँदै गयो । यो जमिनमा हामी नबसेको भए भारतले आफ्नो भनेर दाबी गर्ने थियो ।’





रानाले भारतीय सुरक्षाकर्मीहरूले नजिकै सुरक्षा पोष्ट खडा गरेको भए पनि नेपाली सीमा सुरक्षा बलले भने कुनै पोष्ट राख्न नसकेको प्रति गुनासो गरे । उनले भने, ‘भारतीयहरूले पोष्ट नै राखेका छन्, तर हाम्रा सुरक्षाकर्मी कहिलेकाहीँ मात्र गस्तीमा आउने गर्छन् । अन्य समय हामी असुरक्षित महसुस गर्छौँ ।’ सरकारले यहीँ एउटा सुरक्षा पोष्ट निर्माण गर्नुपर्ने माग उनीहरुको छ ।

रानाले आफूहरू वर्षाैँदेखि सोही बस्तीमा बस्दै आए पनि लालपूर्जा पाउन नसकेको गुनासो समेत गरे । ‘यी सबै जग्गालाई ऐलानी भनिएको छ । भर्खरै सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमा(सरकारले उक्त आयोग खारेज गरिसकेको छ) हामीले फर्म भरेका छौँ । आशा छ अब लालपूर्जा हातमा आउँछ ।’ उनले भने । 
 
आधारभूत सेवाबाट वञ्चित ‘लग्गाभग्गा’
मोहना नदीको किनारमा नेपालको सीमा सुरक्षा गरेको बस्ती भए पनि लग्गाभग्गा गाउँका स्थानीयले नेपाल सरकारको तर्फबाट आधारभूत सेवा सुविधा पनि पाउन सकेका छैनन् । कैलालीलाई खुला दिसामुक्त घोषणा गरिसक्दा समेत २२ घर परिवारको बसोबास रहेको यो गाउँमा एउटा पनि शौचालय बन्न सकेको छैन ।

लग्गाभग्गामा खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा, बाटोघाटो केही छैन । ‘यो ठाउँमा बसोबास गरेको २५ वर्ष भइसक्यो, सरकारले केही दिएको छैन’, दुखीराम रानाले भने, ‘यो ऐलानी क्षेत्र हो । २५ वर्षअघि बालुवा नै बालुवा थियो । अहिले खनजोत गरी खेती गर्ने खालको भएको छ ।’ दुखीरामका अनुसार उक्त स्थानका जग्गा एउटा परिवारले डेढ बिघाका दरले उपभोग गरिरहेका छन् ।

‘गाउँमा विद्यालय छैन, भारत पढ्न पठाउन गाह्रो छ । नेपालतिर नदी पार गर्नै समस्या’, उनी भन्छन्, ‘मोहना नदीमा झोलुंगे पुल बनाइदिए हाम्रा बालबालिकाले स्कुल पढ्न पाउने थिए ।’ यस क्षेत्रमा बलौटे जमिन भएकाले उब्जनी पनि राम्रो हुँदैन । जसले गर्दा यहाँका बासिन्दा भारतमै मजदुरी गर्न जाने गरेका छन् । ‘बालबालिका पनि घरायसी काम गर्न भारत जान्छन्’, स्थानीय जोखोन राना सुनाउँछन् । उनीहरूले उपभोग गरिरहेको जमिन पनि आफ्नो नाममा छैन । वर्षौँ हुँदा पनि लालपूर्जा नपाएको उनीहरू गुनासो छ ।

जीवनको आधार-भारतीय बजार 
लग्गाभग्गाको जीवनयापन भारतीय बजारमा निर्भर छ । दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार सुडा, चन्दनख चौक जानुपर्छ । उक्त बजार पुग्न दुधवा टाइगर रिजर्भ पार गर्नुपर्छ । ‘सुडा यहाँबाट सात किमी टाढा छ, तीन किमी त जंगलै–जंगल हिँड्नुपर्छ’, स्थानीय ठगनीदेवी रानाले भनिन्, ‘फेरि जंगली जनावर उस्तै डर हुन्छ ।’

केटाकेटीलाई पढाउन नपाएकोमा उस्तै गुनासो छ स्थानीय बालकिसनको पनि । ‘नेपालतिर पठाउन नदीको समस्या भारततिर स्कुल टाढा । हाम्रा छोराछोरी नपढी हामी जस्तै हुने भए’, उनले भने, ‘टाढै भए पनि पठाउन हुन्थ्यो, स्कुल भर्ना गर्न रासन कार्ड, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र चाहिन्छ । हामीसँग केही छैन, कसरी पढाउनु ।’

मोहना पारीको क्षेत्र भएकाले सरकारी सेवा पुर्याउन असहज भएको धनगढी उपमहानगरको वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले बताए । उनले मोहनामा झोलुङ्गे पुलका लागि पहल भइरहेको दाबी पनि गरे ।

नेपाल आउन पैसा तिर्नुपर्छ
सीमामा रक्षक बनेर उभिएका लग्गाभग्गाका नेपाली नागरिकलाई त्यहाँबाट मोहना पार गरेर आफ्नो देश नेपाल आउन पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । स्थानीयहरु मोहना नदी पार गर्न वर्षायाममा डुङ्गा र हिउँदयाममा काठे पुल तर्न पैसा तिर्ने गरेका छन् । वर्षामा सो बस्तीका मानिसले सरकारी सेवा लिनका लागि डुङ्गा प्रयोग गर्नुपर्छ भने अन्य समय स्थानीय ठेकेदारले बनाएको काठेपुल पार गरी आउनुपर्ने अवस्था छ ।


 
लग्गाभग्गाबाट मोहना पार गराउनका लागि नदीमा डुङ्गा चलाउँदै आएका रामकुमार चौधरीले विद्यार्थीहरूलाई निःशुल्क र अन्यबाट डुङ्गामा सवार गरेको ५० रुपैयाँ लिने गरेको बताए । उनले भने, ‘यही मोहना नदीका विभिन्न ठाउँमा पुल नहुँदा मानिसहरूले डुङ्गाको सहारामा वारपार गर्नुपर्ने बाध्यता छ ।’ उनले धनगढी उपमहानगरपालिकाले आह्वान गरेको टेन्डरबाटै सो नदीमा डुङ्गा चलाउने गरेका हुन् ।

२७ वर्षपछि बल्यो बिजुली
बस्ती बसेको २७ वर्षपछि लग्गाभग्गा क्षेत्रमा अहिले बिजुली बलेको छ । स्थानीय सरकारले विद्युत प्रसारण लाइन विस्तार गराएपछि लग्गाभग्गामा बिजुली बलेको हो । त्यो बस्ती मोहनाको वारीपट्टीको बस्ती घुइँघाटबाट बसाइँ सरेको थियो । लग्गाभग्गामा विद्युत बलेपछि स्थानीयहरु खुसी भएका छन् । 

‘लामो समयको प्रयासपछि यस वर्ष बिजुली बलेको छ’, स्थानीय रामबक्स रानाले भने, ‘यसले गर्दा जंगली जनवरीबाट सुरक्षित महसुस भएको छ ।’ उनले मोहना नदीमा पुल परेमा आफूहरुलाई सहज हुने बताए । ‘मोहनामा पुल नहुँदा हाम्रो बालबालिकाहरु पढाइबाट समेत वञ्चित हुने थिएनन्’, उनले भने, ‘झोलुङ्गे पुल भए पनि हाल्नु प¥यो सरकार ।’

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १४:१७:५५,   अन्तिम अपडेट : साउन १३, २०७८ बुधबार १४:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया