प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा सहभागिताका विषयमा आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् । निवासमा सांसदहरुलाई बोलाएर नेता नेपालले सल्लाह गरेका हुन् ।
दोस्रो पुस्ताका नेताहरुसँग विश्वास गुमेपछि तेस्रो पुस्ताका नेताहरुको भरोसामा रहेका नेता नेपालले अहिले कांग्रेस सभापति शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुलाई बोलाएर अबको विकल्पको विषयमा छलफल गरेका हुन् ।
छलफलमा सहभागी एक सांसदका अनुसार छलफलका क्रममा नेता नेपालले सांसदहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दोस्रो अध्यक्ष बन्नका लागि प्रस्ताव आएको भन्दै के गरौँ भनेर सोधेका थिए । उनले आफूलाई आएको प्रस्तावको विषयमा खुलेर प्रस्तुत भएका थिए ।
नेता नेपालले आफूलाई एमाले अध्यक्ष ओलीको तर्फबाट दोस्रो अध्यक्षको प्रस्तावसहित पार्टीमा शक्ति बाँडफाँडका विषयमा एकमुष्ट प्रस्ताव आएको भन्दै त्यस विषयमा निर्णय लिनका लागि आफूले छलफल राखेको बताएका थिए ।
छलफलका क्रममा नेता नेपालले देउवा नेतृत्वको सरकारमा सहभागी हुने तथा राजनीतिक नियुुक्तिहरुमा आफ्नो स्थान लिने विषयमा पनि सांसदहरुसँग छलफल गरेका ती सांसदले बताए । उनका अनुसार नेता नेपालले सत्ता गठबन्धनमा रहने अथवा एमालेमै फर्कने विषयमा गम्भीर भएर सुझाव मागेका थिए ।
छलफलमा सहभागी सांसदहरुले नेता नेपाललाई तत्काल हतारिएर एमालेको दोस्रो अध्यक्ष बन्न नहुने सुझाव दिएका छन् । ओलीले पदलोलुपको संज्ञा दिनका लागि दोस्रो अध्यक्षको प्रस्ताव गरेको हुनसक्ने भन्दै सांसदहरुले उक्त प्रस्ताव स्वीकार नगर्न नेपाललाई भनेका छन् ।
उनीहरुले तत्काल सरकारमा सहभागी नहुने तर पार्टीमा फर्कने विश्वासको वातावरण नबने सरकारमा सहभागी हुनेगरी तयारी गर्न पनि नेता नेपाललाई सुझाव दिएका छन् । उनीहरुले नेपाललाई एमालेमा तत्कालका लागि मात्रै हुनेगरी सहमति गर्न नहुने बताएका छन् ।
‘अहिले ओलीले तपाईलाई पदलोलुप देखाउनका लागि दोस्रो अध्यक्ष दिन्छु भनेका हुन्, पछि फेरि धोका दिन्छन् । त्यसैले हतार नगर्नुहोस्’, छलफलका क्रममा सांसदहरुले नेता नेपाललाई भनेको सम्झँदै ती सांसदले भने, ‘बरु बन्ने परे संसदीय दलको नेता बन्ने तर्फ लाग्नुस् ।’
छलफलका क्रममा सांसदहरुले नेता नेपाललाई अहिलेका लागि एमालेमा संसदीय दलको नेता लिएर मिल्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको नेता बनेर केन्द्रीय कमिटीमा बहुमत पुर्याउनेतर्फ लाग्नुपर्ने नेता नेपाललाई सुझाव दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।