नेपालमा कोरोनाको तेस्रो लहर असोजको मध्यबाट !
विज्ञ भन्छन्-‘तयारी थालौँ, लकडाउनबारे नसोचौँ’

आगामी असोजबाट तेस्रो लहरको कोरोना महामारी आउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ। देशमा दोस्रो लहरको मार अझै कायमै छ। दोस्रो लहरका कारण जारी गरिएको निषेधाज्ञा अझै पूर्णरुपमा खुल्न सकेको छैन।

यही अवस्थामा असोजको मध्य तिरबाट तेस्रो लहर आउने अनुमान मन्त्रालयले गरेको हो। तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान विज्ञहरुले गरेका छन्।

नेपालमा कोरोना महामारी सुरु भएको ५३५ दिन पूरा भएको छ। महामारी भित्रिएको डेढ वर्षमा ६ महिना भन्दा बढी बन्दाबन्दी, निषेधाज्ञा तथा कर्फ्यु जारी भयो। 

सुरुमा २०७६ चैत्र ११ गतदेखि देशभर बन्दाबन्दी सुरु भएर २०७७ साउन ६ गतेसम्म कायम रहेको थियो। पूरै १२० दिन देश पूर्ण लकडाउनमा गएको थियो। २०७६ माघ ९ गते नेपालमा कोरोनाको पहिलो केस फेला परेको थियो।

सुरुमा नेपालमा लकडाउन गरेर खुल्ला गर्दासम्म  देशभर १७ हजार ९९४ जनालाई कोरोना संक्रमण भएको थियो। खासमा नेपालमा कोरोनाको  पहिलो लहरको लक डाउन अन्त्य गरेपछि सुरु भएको थियो । लकडाउनको समयमा नेपालमा संक्रमण सुस्त मात्रै थियो । लकडाउन खोलेर चलह–पहल बढेपछि एक्कासी बढेको थियो । पहिलो लहरको उच्च संक्रमण कार्तिक महिना देखिएको थियो । 

२०७८ को बैशाख देखि नेपालमा दोस्रो लहरको महामारी सुरु भयो। बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। 



पहिलो र दोस्रो लहर गरी अहिलेसम्म नेपालमा संक्रमितको संख्या बुधबारसम्म ७ लाख ४७ हजार ६५७ पुगिसकेको छ। 

यी मध्ये दोस्रो लहरमा मात्रै ७ लाख २८ हजार ६६३ जना कोरोना संक्रमित थपिए। तेस्रो लहरमा विशेषगरी बालबालिका बढी प्रभावित हुने अनुमान गरिएको छ। 



लामो समयदेखि निषेधाज्ञा तथा बन्दाबन्दीको सामना गर्दै आएका नेपालीहरूले अब कहिल्यै पनि बन्दाबन्दीको सामना गर्नु नपरोस् भन्ने चाहेका छन्। त्यसका लागि तेस्रो लहर आउनु अगावै विभिन्न तयारी गर्नुका साथै सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्य विद्हरूको भनाइ छ। 

कोरोना महामारी आफ्नै व्यवहारका कारण फैलिने तिर सबैले ध्यान दिनुपर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिँदै आएको छ। 

लकडाउन नगरी नियन्त्रण गर्न सम्भव छ ?

जब–जब कोरोना महामारी नियन्त्रण बाहिर जान्छ, त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी हुने गरेको छ। गत वैशाखदेखि जारी भएको निषेधाज्ञा असार महिनाको दोस्रो सातादेखि खुकुलो पारिएको थियो। 

तेस्रो लहरको महामारी निषेधाज्ञा गरेर मात्र नियन्त्रणमा आउन नसक्ने जनस्वास्थ्यविद् डा. शरद वन्तको ठम्याइ छ। लकडाउन नै नियन्त्रणको प्रमुख आधार मानेर सरकार अगाडि बढिरहेको भन्दै यसको विकल्पका साथ अगाडि बढ्नुपर्ने उनको सुझाव छ। 

महामारी नियन्त्रणका उपायहरू सहि तरिकाले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने जस्ता अति आवश्यक रहेको उनको भनाइ छ। तर, यो उपाय मात्र पर्याप्त नभएको उनी बताउँछन्। 

लकडाउन एक चरम र अस्थायी समाधान मात्र भएकाले यसका धेरै नै बेफाइदा रहेको वन्त सुनाउँछन्। अब उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम रुपमा बढाउनु आवश्यक रहेको उनको भनाइ छ। घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उनले बताए। 

१८ वर्षभन्दा माथिकालाई यथाशीघ्र खोप लगाउनु पर्ने र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध/असहायमैत्री तथा कम भीडभाड हुने गरि खुल्ला ठाउँमा पाल मुनि व्यवस्थापन गर्नु आवश्यक रहेको उनको भनाइ छ।

आवश्यक औषधि तथा अक्सिजन आपूर्तिको राम्रो व्यवस्था र प्रभावकारी परीक्षण तथा शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टरको राम्रो तयारी गर्नुपर्ने नेपाल जन–स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष डा. अरुण उप्रेती बताउँछन्।  

संक्रमितहरुलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाई सेवा सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ छ।

यस्तै अस्पतालको बेड, एचडियू (अक्सिजन बेड), आइसियू र भेन्टिलेटरको संख्या पनि बढाउनु पर्नेमा उनले जोड दिए। 

महिला स्वास्थ्य स्वयंसेविका, वडा स्तरका स्वास्थ्यकर्मीका साथै स्थानीय समुदायको सक्रियतामा कोभिड–१९ को निगरानी सुदृढ गरिनुपर्ने उनको सुझाव छ। 

बृहत् परीक्षण, कोभिड सम्पर्कमा आएका व्यक्तिहरु पत्ता लगाउने, आइसोलेसनलाई प्राथमिकता दिने र उपचारको अवश्यकता भएकालाई तुरुन्त अस्पतालको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ। 

सीमा क्षेत्रमा हुने आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधा सहितको होल्डिङ सेन्टर स्थापना गरेर निगरानी गर्नुपर्ने जनस्वास्थ्यविद् वन्त बताउँछन्। 

सबै अस्पताललाई अनिवार्य कोभिड सेवा दिन लगाउनु भन्दा केही निजी अस्पताल र मेडिकल कलेजलाई केही समयका लागि विशेष कोभिड अस्पताल बनाउनु उत्तम विकल्प रहेको वन्तको भनाइ छ। 

लकडाउनले स्वास्थ्य सेवामा समेत अवरोध सिर्जना हुने भएकाले त्यसका लागि पनि सरकारले तयारी गर्नुपर्ने वन्त बताउँछन्।

‘स्वास्थ्य सेवामा अवरोध खडा गर्ने सबैभन्दा ठूलो कारण लकडाउन हो। त्यसैले न्यूनतम रुपमा अस्पताल जानु पर्ने बिरामीका लागि सरकारले निःशुल्क यातायात र विपन्न हरुका लागि खाद्य सुरक्षा सुनिश्चित गरेर मात्र बन्दाबन्दीको दुष्प्रभाव घटाउन सकिन्छ’ उनले भने। 

नेपालमा कोभिड–१९ संक्रमण भन्दा मुटु र फोक्सोको रोग, मस्तिष्काघात र झाडा पखालाका कारण धेरैको मृत्यु हुने गरेको छ। बन्दाबन्दीमा यस खालका बिरामीको मृत्यु हुने सम्भाव बढी हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनले बताए।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ

निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्ड पालनामा लापरवाही हुन थालेको छ। विशेषगरी राजनीति दलहरूले गर्ने विरोध प्रदर्शन, जुलुस, सभा लगायतका कारण कोरोनाको जोखिम बढिरहेको छ। 

दुई महिना अघिदेखि नेपालमा कोभिड–१९ संकट व्यवस्थापन अध्ययादेश २०७८ जारी भएको छ। उक्त अध्यादेशले भीडभाड गर्न रोक लगाएको छ। यस्तो गरेको खण्डमा कारवाही हुने व्यवस्था छ। तर राजनीति दलका तर्फबाट हुने त्यस्ता गतिविधिलाई न नियन्त्रण गर्न सकिएको छ न उनीहरुलाई कुनै कारवाही गरिएको छ। 

राजनीतिक दलका गतिविधिमा प्रहरीले रोक लगाउन नसक्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवर बताउँछन्। ‘यस्तो बेला एक सचेत नागरिक आफैँले बुझ्ने कुरा हो। हामीले राजनीतिक दलका गतिविधिमा रोक लगाउन सक्दैनौँ।’ प्रवक्ता कुँवरले भने। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भीडभाड हुने खालको कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरे। 

जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउनु पर्नेमा जनस्वास्थ्यविद् डा. वन्तको जोड छ।

‘कोरोना महामारी नियन्त्रणका लागि प्रमुख आधार नै जनस्वास्थ्य मापदण्डको पालना गर्नु हो’ उनी भन्छन्, ‘यसको पालना गर्न सकिएन भने महामारी थपिँदै जान्छ।’ 

नेपालमा फेरि डेल्टा प्लस भेरियन्ट

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेल्टा प्लस नामले चिनिने अर्को भेरियन्ट फेला परेको जानकारी दिएको छ।

देशका विभिन्न भागबाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको मन्त्रालयले जनाएको छ। तीमध्ये तीनवटामा थप उत्परिवर्तन के४१७ एन म्युटेसन भेटिएको छ जसलाई एवाई.१ नाम दिइएको छ। 

यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने खालको रहेको विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयको दाबी छ। यी सहित हालसम्म नेपालमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ।  

सम्भावित तेस्रो लहरको तयारी

सरकारले सम्भावित तेस्रो लहरका लागि तयारी अगाडि बढाएको छ। तेस्रो लहरको समयमा प्रभाव पार्नसक्ने समूह र त्यसबाट निम्तिन सक्ने जोखिमबारे स्वास्थ्य मन्त्रालयले तयारी थालेको हो। 

मन्त्रालयले त्यसका लागि आवश्यक तयारी थालेको छ भने आम सर्वसाधारण र अन्य सरोकारवाला निकायले पनि आवश्यक तयारी गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन्। 

त्यसका लागि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने, सरोकारवालाले आ–आफ्नो स्थानबाट संक्रमण फैलिन नदिने समन्व्य, सहकार्य गर्न सकिने उनको भनाइ छ। 

‘मेरो घरमा कोरोना भित्रिन नदिन मैले के गर्न सकिन्छ, मेरो कारण कोरोना अरूलाई सर्न सक्ने सम्भावना कति छ ? मेरो कारण अर्को व्यक्तिसम्म संक्रमण जान नदिन मैले के गर्नुपर्छ भनेर सचेत हुनुपर्छ’ डा. पौडेलले भने। 

कोरोना भाइरसले विगतदेखि स्वरुप परिवर्तन गर्दै आएकाले तेस्रो लहरमा यो थप जोखिमपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

कोरोनाको अर्को भेरियन्ट देखा परेकाले अब तेस्रो लहर पनि आउने भएकाले त्यसतर्फ सबैले सचेत हुनुपर्ने पुनको भनाइ छ। 
 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १४:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया