अलमलमा माधव नेपालः सरकारमा जाने कि ओलीसँग मिल्ने ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीनिकट नेताहरुले दिएका दुई सल्लाहका कारण उनी अलमलमा छन् । एकथरि नेताहरुले अब ओलीसँग मिल्नुको विकल्प नभएको बताइरहेको र केही नेताहरुले आफूहरु अब सरकारमा जानु पर्ने बताएका कारण उनी अलमलमा परेका हुन् ।

नेपालनिकट एक नेताका अनुसार नेपाल तत्काल ओलीसँग ‘मिल्ने मुडमा’ देखिँदैनन् । 

‘दोस्रो पुस्ताका नेताहरु र यसअघि बनेको कार्यदलले दिएका १० बुँदे सुझावलाई कार्यान्वयन गर्न र अध्यक्ष ओलीले समान दुई अध्यक्षको प्रस्ताव ल्याएपछि के गर्ने भन्ने विषयमा नेपाल अलमलमा देखिएका छन्,’ ती नेताले फरकधारलाई भने, ‘तर, समूहकै केही सांसद तथा नेताहरु सरकारमा सहभागी हुनु पर्छ भन्ने धारणामा रहेका छन् ।’

आफूनिकट नेताहरु नै दुई धुव्रमा बाँडिएकाले माधव नेपालले के गर्ने भन्ने विषयमा तत्काल निर्णय नलिने ती नेताले बताए ।

यसअघि बुधबार पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विवाद समाधान गर्न शनिबारसम्मको अल्टिमेटम दिएका छन् । ‘अध्यक्ष ओलीले आफू लचक भएको र शनिबारसम्म यो सबै मिलिसक्नु पर्छ भन्नु भएको कुरा बाहिर आएको छ,’ ती नेताले भने, ‘तर, अब के गर्ने भन्ने निश्चित योजना नेपालसँग नभएको बुझिएको छ ।’

एकातिर ओलीले अब नेपाल नआए पनि अगाडि बढ्ने रणनीति बनाएका छन् भने अर्कोतिर कम्तिमा पनि आगामि निर्वाचनसम्म गठबन्धनलाई बलियो बनाएर जानु पर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् । 



‘प्रचण्ड र देउवालाई दिएको कमिटमेन्टबाट कसरी पछाडि हट्ने भन्ने प्रश्नले नेपाललाई द्विविधामा पारेको हो,’ ती नेताले भने, ‘अर्कोतिर फेरि नयाँ पार्टी गठन गरेर अगाडि बढ्न पनि अहिले सहज छैन ।’

नेपालनिकट नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायतले चाहिँ नेपाल पनि सरकारमा सहभागी हुनु पर्ने धारणा छलफलमा राख्न थालेको ती नेताले बताए । 



‘गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम रावलहरु चाहिँ अब नेकपा एमालेलाई एक बनाउनु पर्छ भन्ने लाइनमा हुनुहुन्छ,’ ती नेताले भने, ‘माधवकुमार नेपाल त्यसैले अहिले कन्फ्युजनमा हुनुहुन्छ ।’

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १४:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया