विचार
कहाँ चुकिरहेछ हाम्रो समाज ?

पछिल्लो समय सतहमा देखिएका समाजका महिला हिंसाका घटनाले हाम्रो समाजलाई त्रसित बनाएका छन् । यसले अहिले महिलामाथि हिंसा हुने क्रम बढेको आभास पनि गराएको छ । तर, त्यसो होइन । घटना पहिले पनि हुन्थे । पहिले चाहिँ यसरी बाहिर ती घटना आउँदैनथे ।

अब मानिसमा घटना भयो भने उजुरी गर्नुपर्छ भन्ने चेतना बढेको छ । त्यसैले घटनाका उजुरी गर्नेहरु बढेका छन् । उजुरी गर्ने त बढेका छन्, तर न्याय पाउने अत्यन्त कम छन् । 

यसले हाम्रो न्याय प्रणाली कमजोर भएको वा यसले आवश्यक चाप धान्न नसकेको आभास गराउँछ । 

हामीले पछिल्ला घटना हेर्ने हो भने बलात्कारका घटना गाउँसहर जहाँ पनि भइरहेको पाएका छौँ । र, यसको शिकार धेरैजसो किशोरी भएका छन् । 

यस्ता घटना हाम्रा सहरमा बढ्दै गएका छन् । सहरबजारमा किन भने मानिसको चहलपहल धेरै हुन्छ, तर एकले अर्कालाई चिनेको हुँदैन । अनि सहरमा बस्नेहरुलाई आफू स्वतन्त्र छु जस्तो पनि लागिरहेको हुन्छ । आफन्त कम हुने भएकाले पनि सहरमा बस्ने किशोरकिशोरीमाथि सम्बन्ध र परिचयको नियन्त्रण कम हुन्छ । अनि यसले बलात्कारका घटना बढ्छन् । 

केही वर्षउता नेपालमा गाउँबाट सहरतिर बसाइँ सर्ने प्रचलन बढेको छ । सहरमा गाउँबाट आएपछि गाउँले स्वभावहरु क्रमशः घट्दै जान्छन् । मानिस लजाउने र डराउने परिवेशबाट मुक्त हुन थाल्छन् । 



केही पहिलेसम्म बसपार्क, क्लबलगायतका सार्वजनिक ठाउँमा यौन हिंसाका घटना बढी हुन्थे । तर, पछिल्लो समय बलात्कारका घटनामा आफन्तहरु नै संलग्न भएका पनि समाचार आइरहेका छन् । यसले हाम्रो समाजलाई झन् त्रसित बनाएको छ । यसरी बलात्कारका घटनामा आफन्त नै संलग्न हुनुले चाहिँ हाम्रो सामाजिक सम्बन्ध झन् खुकुलो बन्दै गएको सङ्केत गर्छ ।

सामाजिक सम्बन्ध खुकुलो हुनुमा चाहिँ वैदेशिक रोजगारी तथा विदेशमा पढ्न जाने कुराले निर्धारण गरेको छ । विदेश जाने क्रम बढ्नाले परिवारका अन्य सदस्यहरु स्वतन्त्र भएका छन् । स्वतन्त्र दुवै अर्थमा आर्थिक र सामाजिक मर्यादामा । कतिपय सन्दर्भमा त परिवारका अभिभावक नभएकाले नै युवा पुस्ताले सामाजिक मर्यादा राम्रोसँग सिक्न पाएका छैनन् । यसले पनि हिंसाका घटना बढ्दै गएका छन् ।



झन्, एउटा परिवारको मूल सदस्य नेपाल बाहिर गएको छ भने हाम्रो समाजले त्यो परिवारलाई कमजोर आँक्छ । कमजोर आँक्दाआँक्दै त्यो परिवारका सदस्यमाथि बलात्कारसम्म भएका घटना बाहिर आएका छन् ।

समाजमा हिंसाका घटना बढ्नुमा हामीले मदिरालाई सामन्यकरण गर्नु पनि एउटा कारण हो । राजमार्ग, होटल तथा बाटोघाटोमा पनि हामी रक्सीका विज्ञापन देख्छौँ, दिउँसो नै रक्सी खानुलाई हाम्रो समाजले विस्तारै पचाउन थालिसकेको छ । हामी के ख्याल गर्दैनौँ भने मदिराको बेहोसीमा मानिसले समाजकिता गुमाउन थाल्छ । रक्सीलाई जब हाम्रो समाजले नर्मल लाइफका रुपमा लियो, त्यसले हाम्रो समाजलाई चुकायो ।

अहिले सबैभन्दा चर्चामा रहेको घटना कञ्चनपुरको घटनालाई उदाहरणका रुपमा लिन सक्छौँ । कञ्चनपुरमा हाम्रो प्रहरी र प्रशासनिक संयन्त्रका कमजोरी बाहिर आएका छन् । यसले हामीलाई के सिकाउँछ भने हामीले देशमा ठूला परिवर्तन गर्यौँ तर कर्मचारी सिस्टम र प्रहरी सिस्टममा आवश्यक परिवर्तन गर्न भुल्यौँ । 

किनकि घटनाका दोषीलाई कानुनी सजाय हुन्छ कि हुँदैन भन्ने मुल कुरा हो । घटनाका दोषीलाई कारवाही गरेर कानुनी व्यवस्था बसाउन सकियो भने हिंसाका घटना विस्तारै कम हुन सक्छन् । तर, हामी कानुनी व्यवस्था र थिति बसाल्न चुकेका छौँ । 

यो सन्दर्भमा प्रहरी प्रशासन अझ कमजोर छ । अहिले पनि प्रहरीमा कानुनभन्दा माथि हाकिम हुने प्रचलन छ । त्यसैले प्रश्न जन्मिएको छ– प्रहरीले कानुन मान्ने हो कि हाकिमको निर्देशन ? 

यसअघि प्रहरीलाई कानुनभन्दा पनि हाकिमको निर्देशन पालना गर्न सिकाइएको छ । अब यसमा परिवर्तन नल्याउने हो भने हाम्रो समाज झन् पछाडि धकेलिइरहन्छ । त्यसैले अहिले प्रहरी प्रशासनमा रिभोलुसन गर्न सकियो भने वा रिफर्म गर्न सकियो भने हामी बलियो हुँदै जानेछौँ ।

यो किन पनि आवश्यक छ भने प्रहरी र कर्मचारीमाथि नागरिकको विश्वास कम हुँदै गएको छ । यसले समाजलाई अपराधिक मनोवृत्तितर्फ मोडिइरहेको छ ।

यही कारणले नेपाली समाजमा नागरिकलाई अपराध सहेर बस्ने प्रवृत्तिको विकास पनि गरिरहेको छ । यसरी सहँदा एक दिन यसले ठूलो स्वरुप लिन पनि सक्छ । अनि प्रहरीका लागि मात्र होइन, सम्पूर्ण राज्य व्यवस्थामा नै प्रश्न आउन थाल्छन् ।

सबैभन्दा पहिले के बुझ्न जरुरी छ भने प्रहरी र कर्मचारीले नागरिकमाथि शासन गर्ने होइन । नागरिकलाई सहजिकरण गर्ने हो भन्ने मानिसकता विकास गराउन जरुरी भइसकेको छ । नभए नागरिकका लागि भनेर राखिएका प्रहरीविरुद्ध नागरिक नै आन्दोलनमा उत्रिनेछन् । कर्मचारी र प्रहरीमा पनि नागरिकले आफ्नो कामप्रतिको अपनत्व महसुस गर्न सकेका छैनन् । यसले हाम्रो समाजलाई ठूलो दुर्घटनामा धकेल्ने निश्ति हो । 

त्यसैले यी आयामहरुमा चुकिरहेको हाम्रो समाजलाई अब बलियो बनाउन सबै क्षेत्रले आफूमा सुधार ल्याउन जरुरी छ ।

  • प्रकाशित मिति : असोज १६, २०७५ मंगलबार १४:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया