कोरोना संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउनु पर्नेमा सांसदहरुकाे जोड
फाइल तस्बिर

कोरोना संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउनु पर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बोल्दै सांसदहरुले कोभिड-१९ संक्रमणको तेस्रो लहरबाट बालबालिकाहरूलाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका हुन् । 

सांसदहरुले समितिको बिहीबारको बैठकमा बोल्दै तेस्रो संक्रमणको जोखिमबाट महिला तथा बालबालिकाहरूलाई बचाउने तयारीमा जुट्न जोड दिएका हुन् । समितिकी सदस्य दुर्गाकुमारी विश्वकर्माले कोरोनाको तेस्रो लहरबाट बच्न सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियू पर्याप्त नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहिलो बजेट छुट्याएर काम गर्नुपर्ने बताइन् । 

विश्वकर्माले भनिन्, ‘कोरोनाको तेस्रो लहरको वेभ आउने नै हो भने, सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियूको पर्याप्त व्यवस्था गर्नुपर्यो, यसमा सरकारले पहिलो बजेट नै स्वास्थ्य क्षेत्रलाई छुट्याएर काम गर्नुपर्दछ, साथै स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थित र अनुगमन गर्नुपर्छ ।’

सांसद हिरा गुरुङले कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनिएकोले पर्याप्त मात्रामा पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकालाई तेस्रो लहरबाट जोगाउने र बालबालिका प्रभावित बन्ने भनिरहेको भन्दै यसको पर्याप्त तयारीमा लाग्न र स्वास्थ्य मन्त्रालयले संवेदनशील भएर काम गर्नुपर्ने बताइन् । 

गुरुङले भनिन्, ‘कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनेका छौँ, बालबालिकालाई कसर जोगाउने भनेका छौँ । तर, यसमा पर्याप्त मात्रामा हामीले पूर्वतयारी गर्न सकेका छैनौँ, यस विषयमा स्वास्थ्य मन्त्रालयले छलफलमा जुटेर एकदमै संवेदनशील बनोस् ।’

समितिमा राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख मिलन धरेलले संस्थाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बालमैत्री क्वारेन्टाइन र आइसोलेसन सेवा बिस्तार गर्न आग्रह गरेको बताए । उनले कोरोनाको तेस्रो लहरको जोखिमबाट बालबालिकाको स्वास्थ्य जोगाउन संस्थाले ५१५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेर प्राविधिक सहायता उपलब्ध गराइरहेको पनि जानकारी गराए । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भनेर सरकार चिन्तित रहेको बताए । तर, यो लहरले कसलाई बढी आक्रमण गर्छ भनेर यकिन भन्न नसक्ने उनले बताए ।

उनले भदौ भित्रमा देशभर २३० वटा भेन्टिलेटर थपेको जानकारी दिए । सचिव पोखरेलले कान्ति बाल अस्पतालमा तेस्रो लहरको जोखिमबाट बच्नका लागि ५० वटा भेन्टिलेटर थप गरेको र विभिन्न प्रादेशिक अस्पतालमा ५–१० वटा भेन्टिलेटर थप्दै जाने गरी २३० वटा भेन्टिलेटर थप गरिएको बताए । 



  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १८:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया