नेपाल चाहँदैनन् ओलीसँग भेट्न
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी एमालेमा पछिल्लो समय देखिएको विवाद समाधान हुने सम्भावना कम हुँदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाटको तारतम्य नमिल्दा यी दुई नेता आआफ्नै अडानमा रहेकाले यसको विवाद तत्काल समाधान हुने सम्भावना कम देखिएको हो ।

एमालेमा दोस्रो तहका नेताहरुले बारम्बार यी दुई नेतालाई एकआपसमा भेटघाट गरेर छलफल गर्न दबाब दिएका छन् । तर, पछिल्लो समय भेटघाटका लागि गरिएका प्रस्तावहरुलाई नेपालले अस्वीकार गर्दै आएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धनमा पनि सहभागिता जनाइरहेको नेपाल समूहले पछिल्ला दिन ओलीका अल्टिमेटम तथा चेतावनीहरुलाई बेवास्ता गर्दै आइरहेको छ । 

यहीबीच बिहीबार नेपालसँग पार्टी एकताबारे छलफल गर्न नेकपा एमाले नेता सुवास नेम्वाङ कोटेश्वर पुगेका थिए ।

‘आज दिउँसो भएको छलफलमा उहाँसँग मुख्यतः पार्टी एकताबारे नै कुरा भयो,’ नेम्वाङले फरकधारलाई भने ।

नेम्वाङले आजको भेटमा पनि नेपाललाई ओलीसँग भेट गर्न र यसअघि कार्यदलले सुझाएका १० बुँदे प्रतिवेदनलाई पालना गर्न अनुरोध गरेका थिए । आज नेम्वाङ र नेपालबीच भएको भेटघाटबारे चर्चा गर्नुअघि यसको सन्दर्भबारे चर्चा गरौँ ।



पार्टीमा लामो समय विवाद भइसके पछि नेकपाले विवाद समाधान गर्न र पार्टी एकता गर्न १० सदस्यीय कार्यदल बनाएको थियो । यो कार्यदलले २७ असारमा एउटा १० बुँदे प्रतिवेदन तयार पार्यो । प्रतिवेदन दुवै नेता ओली र नेपाललाई बुझाइयो । 

यही प्रतिवेदनलाई ओलीले एमाले स्थायी कमिटीमा लगे । त्यहाँबाट अनुमोदित प्रतिवेदन केन्द्रीय कमिटीमा पनि पेस गरियो । त्यहाँबाट पनि अनुमोदित १० बुँदे प्रतिवेदन अहिले पनि कार्यान्वयनमा आइसकेको छैन । 



ओली समूहका नेताहरु मात्र सम्मिलित यो प्रतिवेदन स्वीकार गरेको स्थायी कमिटी र केन्द्रीय कमिटीका दुबै बैठकलाई नेपाल समूहले आधिकारिक मानेको पनि छैन । 

अध्यक्ष ओलीले प्रतिवेदनलाई स्वीकार गर्ने बताए पनि नेपालले यसबारे प्रष्ट प्रतिक्रिया अहिलेसम्म दिएका छैनन् । प्रतिवेदन आएलगत्तै उनले केही बुँदामा आफ्नो असहमति रहेको बताएका थिए । तर, यसबारे उनले खुलेर अहिलेसम्म चर्चा गरेका छैनन् ।

बिहीबार नेम्वाङसँगको भेटमा पनि नेपालले यसबारे खासै कुरा राखेनन् । 

‘माधव नेपाललाई आज पनि मैले अध्यक्ष ओलीसँग भेट्नुस्, एमाले एकता गरौँ भन्ने प्रस्ताव राखेको हो,’ नेम्वाङले फरकधारलाई भने, ‘उहाँले म पनि भेट्छु तर त्यसभन्दा अगाडि केही कमरेडहरुसँग छलफल गर्छु भन्नु भयो ।’
 

नेम्वाङका अनुसार अहिले तत्काल नेपाल ओलीसँग भेट्ने पक्षमा छैनन् । 

‘भेट्छु त भन्नु भएको छ,’ नेम्वाङले भने, ‘तर, त्यसअघि उहाँले अरु कमरेडहरुसँग छलफल गर्छु भन्नु भएको छ ।’ पछिल्ला दिन नेपाललाई उनकै समूहका केही नेताले पनि पार्टी एकताका लागि दबाब दिन थालेका छन् । 

तर, उनले देउवा प्रधानमन्त्री भएपछि बसेका गठबन्धनका बैठकमा पनि आफ्ना प्रतिनिधि पठाएका छन् । आज नेम्वाङसँग भेट्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका नेपालले गठबन्धनलाई आफ्नो पूर्ण साथ र सहयोग हुने बताएका थिए । 

नेपालले अब एमालेमा ओलीनिकट अर्का नेता विष्णु पौडेललाई पहिले भेट्ने भएका छन् । 

‘उहाँले विष्णु कमरेडसँग पनि भेट्छु भन्नु भएको छ,’ नेम्वाङले भने, ‘त्यसपछि अध्यक्ष ओलीसँग उहाँको भेट हुनेबारे निश्चित गर्न सकिएला ।’ नेम्वाङका अनुसार नेपाल र पौडेलबीच शुक्रबार नै भेटघाट हुने सम्भावना छ ।

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १९:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया