नयाँ पार्टी घोषणा गर्न किन डराइरहेका छन् माधवकुमार नेपाल ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा संघर्ष गरिरहेको यो समयमा केहीले अनुमान गर्न पनि थालेका छन्– अब माधवकुमार नेपालले नयाँ पार्टी खोल्न सक्छन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँग दर्जनौँ विषयमा विमति राख्दै आएका नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेको केही समयअघि समाचारहरु पनि आएका थिए । तर, अहिलेसम्म उनले आफूनिकट नेताहरुसँग पनि नयाँ पार्टी खोलेर अगाडि बढ्ने विषयमा स्पष्ट रुपमा केही भनेका छैनन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत नदिने नेकपा एमाले स्थायी कमिटी बैठकले निर्णय गरे पनि नेपाल र उनीनिकट नेताहरुले देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको सर्वोच्च अदालतले उनलाई मत दिने सांसदलाई पार्टीले कारवाही गर्न नपाउने फैसला सुनाएकाले एमालेले ती नेताहरुलाई कारवाही गर्न चाहिँ सकेन ।

२८ असारमा सर्वोच्च अदालतले  प्रधानमन्त्रीमा देउवा नियुक्त गर्न दिएको परमादेश आएपछि यो विषयमा एक भएका पाँच दलका नेता नेपाल निवास कोटेश्वरमा भेला भएका थिए । 

त्यसको अघिल्लो दिन मात्रै नेकपा एमालेले बनाएको कार्यदलले पार्टी एकता गराउन १० बुँदे प्रस्तावना पनि ल्याएको थियो । यही प्रस्ताव आएकाले हुनुपर्छ, नेपालले गठबन्धनका नेताहरुको त्यो भेलामा अब आफू गठबन्धनमा नरहने र आफ्नो पार्टीको अवस्था फरक भएको बताएका थिए । 

तर, पछि देउवालाई विश्वासको मत दिए नेपालले । अनि उनी देउवा प्रधानमन्त्री भइसकेपछि बसेका गठबन्धनका बैठकमा पनि सहभागी भए । उनी सहभागी नभएको बैठकमा उनले आफ्ना प्रतिनिधि चाहिँ पठाइरहेका छन् ।



अहिले एकातिर उनीनिकट केही नेताहरु सरकारमा समावेश हुनु पर्ने माग गरिरहेका छन् भने केहीले पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने बताउन थालेका छन् । यसका कारण अहिले माधवकुमार नेपाल अलमलमा परेका छन् ।

एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ९ जेठमा माधवकुमार नेपालनिकट नेता जीवन राईले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको दल दर्ता गराएका थिए । यसका लागि उनले वैशाखमा नै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।



राईले यो पार्टी दर्ता गराएपछि अधिकांशको अनुमान थियो, नेपालले अब यही नामको दललाई नेतृत्व दिनेछन् । तर, अहिलेसम्म एमाले नेता नेपालले नयाँ पार्टी दर्ता गर्ने वा बनाएर अगाडि बढ्ने घोषणा गरिसकेका छैनन् । 

आखिर नयाँ पार्टी घोषणा गर्न के कुराले रोकिरहेको छ नेपाललाई ?

‘यसको मुख्य कारण भनेको अहिले नयाँ पार्टीको आवश्यकता हो कि होइन भन्ने हो,’ नेपालनिकट एक नेता भन्छन्, ‘हामीले नेपाललाई दिएको सल्लाह र सुझाव के हो भने अहिले पार्टी किन खोल्ने भन्ने स्पष्ट खाका नभएसम्म पार्टी खोल्ने होइन ।’

६८ वर्ष पुगिसकेका नेपालले नेकपा एमालेमा आफ्नो जीवनका ४ दशकभन्दा बढी समय व्यतित गरिसकेका छन् । त्यसैले उनले चटक्कै एमाले छोड्न पनि नसकेको ती नेताको विश्लेषण छ ।

‘जहाँ जीवनका महत्वपूर्ण वर्षहरु बिताइएको हुन्छ, त्यसलाई चटक्कै छोड्न कसले सक्छ र ?’ उनले भने, ‘यसले पनि त माधवकुमार नेपाललाई एमाले छाड्नेबारे कम्तिमा पनि दर्जनभन्दा बढी पटक सोच्न बाध्य बनाउँछ ।’

केही दिनअघि आफूनिकट केही नेताहरुसँग नेपालले नयाँ पार्टी बनाउनेबारे छलफल पनि गरेका थिए ।

‘उहाँले एमाले छाडेर नयाँ पार्टी बनाउँछु भन्नु भयो भने अहिले जति जनाले उहाँलाई साथ दिइरहेका छन्, उनीहरु सबैले साथ दिन्छन् भन्ने पनि छैन,’ उनले भने, ‘उहाँले नयाँ पार्टीको सिद्धान्त र विचार, आदर्श र नीतिबारे पहिले प्रष्ट पार्न सक्नुपर्छ । अहिले नेपालमा नयाँ पार्टीको आवश्यकता पनि होइन, माधवकुमार नेपालले अब पार्टी खोल्ने भन्ने पनि सान्दर्भिक हुँदैन ।’

केही दिनअघिको छलफलमा माधवकुमार नेपाललाई नयाँ पार्टी बनाउनेबारे भएको छलफलमा केही नेताहरुले तीन प्रश्न गरेका थिए । ती प्रश्न हुन्–

१. नयाँ पार्टीको सिद्धान्त र विचार के हो, के जनताको बहुदलीय जनवाद नै हाम्रो मुख्य सिद्धान्त हो र मदन भण्डारी नै हाम्रा नेता हुन् ?

२. केही वर्षअघि वामदेव गौतमले नयाँ पार्टी बनाउँदा, शेरबहादुर देउवाले नयाँ पार्टी बनाउँदा भएका असफलताबारे हामीले कसरी सोच्ने, हामी सफल हुन्छौँ भन्ने के विश्वास हुनसक्छ ?

३. विचार, सिद्धान्त र अरु धेरै कुरामा एमाले एकता गर्न सम्भव छ भन्ने निर्क्योल निस्कँदा निस्कँदै के ओली र नेपालको मन मिलेन भनेर हामीले नेपाललाई फलो गर्नु पर्ने हो ?

नेपालले उक्त छलफलमा यी तीन प्रश्नको जवाफ दिएनन् । छलफलमा सहभागी ती नेताका अनुसार उनले बरु उल्टै प्रतिप्रश्न गरे– अब ओली सुध्रिएलान् भन्ने कसले ग्यारेन्टी लिन सक्छ ?

उनको प्रश्नमा छलफलमा सहभागी एक नेताले जवाफ दिएका थिए, ‘हामी नयाँ पार्टी खोलेर अब अगाडि बढ्ने होइन, बरु एमालेमै जीवनभर अन्तरसंघर्ष गर्न हामी तयार छौँ ।’

आफूनिकट नेताहरु नै नयाँ पार्टीको पक्षमा नभएकाले नेपालले अहिलेसम्म नयाँ पार्टी घोषणा गर्न नसकेको ती नेता दाबी गर्छन् । तर, पछिल्लो समय एमालेमा एकता हुने सम्भावना पनि कम हुँदै गएकाले र देशभर एउटा नेटवर्क भइसकेकाले नेपालले नयाँ पार्टी घोषणा गरेको खण्डमा पनि आश्चर्यमा पर्न नहुने ती नेताले बताए ।
 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार २१:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया