भौतिकशास्त्रको नोबेल पुरस्कार ‘लेजर लाइट’सम्बन्धी अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई

यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार लेजर फिजिक्समा महत्वपूर्ण आविस्कार गरेबापत तीनजना भौतिकशास्त्रीलाई प्रदान गरिएको छ ।

स्विडेनस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मंगलबार एक समारोहबीच सन् २०१८ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी भौतिकशास्त्री अर्थर अस्किन, फ्रान्सेली प्रोफेसर जेरार्ड मोरौ र क्यानडेली प्रोफेसर डोना स्ट्रिकल्यान्डलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरेको हो । 

पुरस्कारको आधा राशि लेजर प्रकाशसम्बन्धी यन्त्र ‘अप्टिकल ट्विजर’ को आविस्कार र जैविक प्रक्रियामा यसको प्रयोगसम्बन्धी खोजका लागि अर्थर अस्किनलाई र बाँकी आधा राशि ‘हाई इन्टेन्सिटी अल्ट्रा–सर्ट पल्सेज’ को उत्पादन गर्ने विधिका लागि गेरार्ड माेउरो र डोन्ना स्ट्रिकल्यान्डलाई संयुक्त रूपमा प्रदान गरिएको हो ।

यी खोजहरूले लेजर फिजिक्सका क्षेत्रमा नयाँ क्रान्ति ल्याएको एकेडेमीको ठहर छ । नयाँ लेजर लाइटको प्रयोग गरी अत्यन्तै सूक्ष्म वस्तु तथा अत्यन्तै तीव्र गतिविधिसमेत प्रस्ट देख्न सकिन्छ । औद्योगिक र चिकित्सा क्षेत्रका अतिसंवेदनशील उपकरणहरूमा त्रुटिरहित नापका लागि यो प्रविधि निकै उपयागी हुनेछ ।

पुरस्कारको आधा हिस्सेदार अर्थर अस्किन अमेरिकाको बेल ल्याबोरेटोरीमा कार्यरत छन् । उनले आविस्कार गरेको अप्टिकल ट्विजरले अणु, परमाणु, भाइरस, जीवकोषजस्ता अत्यन्तै साना वस्तुलाई समात्न सक्छ । सूक्ष्म भौतिक वस्तुहरू छुट्याउन तथा पदार्थको सुद्धीकरणमा यो फलदायी छ । ट्विजरको प्रयोग गरी अस्किनले जीवित ब्याक्टेरियालाई कुनै हानि नपुर्याइकनै पक्रिएका थिए । त्यसपछि उनले जैविक प्रक्रियामा अप्टिकल ट्जिरको प्रयोगसम्बन्धी अध्ययन सुरु गरे । अहिले जैविक संरचनाको अध्ययन, अनुसन्धानमा यसको व्यापक प्रयोग हुन थालेको छ ।

पुरस्कारको अर्को आधा हिस्सेदार गेरार्ड माेउरो र डोन्ना स्ट्रिकल्यान्ड भौतिकशास्त्रका अध्यापक हुन् । फ्रान्सेली नागरिक माेउरो हाल अमेरिकाको युनिभर्सिटी अफ मिचिगनमा कार्यरत छन् । स्ट्रिकल्यान्ड भने क्यानडाको युनिभर्सिटी अफ वाटर्लोकी एसोसिएट प्राध्यापक हुन् ।



माेउरो र स्ट्रिकल्यान्डले सबैभन्दा छोटो र शक्तिशाली लेजर पल्सको उत्पादन गर्ने विधि पत्ता लगाए । प्रकाशका किरण जति छोटा हुन्छन्, त्यति नै शक्तिशाली र प्रभावकारी हुन्छन् । एम्लिफाइङ मटेरियलालाई हानि नपुर्याई यति छोटा र शक्तिशाली पल्सेज उत्पादन गर्नु उनीहरूको मुख्य सफलता थियो । उनीहरूले पहिले लेजर पल्सेरलाई तन्काए, त्यसपछि एम्लिफायरको सहायताले फुलाए, र अन्त्यमा बेस्सरी खाँदे । यसरी खाँदिएका पल्सेजभित्र धरै प्रकाश अत्यन्तै सानो भागमा केन्द्रित हुने हुँदा त्यसको तीव्रता अत्यन्त ज्यादा हुन्छ ।

गेरार्ड माेउरो र स्ट्रिकल्यान्डले पत्ता लगाएको ‘चिर्प्ड पल्स एम्प्लिफिकेसन’ प्रविधि हाई इन्टेन्सिटी लेजरका क्षेत्रमा नयाँ मानकका रूपमा विकास भएको छ । लेजर प्रविधिबाट हुने आँखाको उपचारमा यो विधिले विशेष महत्व राख्दछ । वैज्ञानिकहरूका अनुसार अहिलेको ‘माइक्रोवल्र्ड’मा यस्ता विधिको व्यापक प्रयोग र विस्तार जरुरी छ ।



  • प्रकाशित मिति : असोज १६, २०७५ मंगलबार १७:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया