नागार्जुन-१ मा भेरोसेल लगाउनेको भीड
साउन १४ गते ३८५ ले खोप पाए, २ सयका लागि कुपन बाँडियो
काठमाडौंको नागार्जुन-१ मा खोपमा लागि शुक्रबार बिहान ६:३० बजे नै लामबद्ध बनेका सर्वसाधारण । तस्बिर : रामरञ्जन पौडेल/फरकधार

कोभिड-१९ बिरुद्धको खोप लगाउन गोर्खा स्थायी ठेगाना भएकी लक्ष्मी लामिछाने बिहान ५:३० मै लाइनमा आएर बसेकी छन् । नागार्जुन नगरपालिका वडा नं १ को कार्यालयसँगै रहेको खोप केन्द्रमा यो समाचार तयार पार्दासम्म करिब ३ सय मानिसको भीड जम्मा भइसकेको छ । सबै कोरोना खोपकै लागि लाइनमा बसेका छन् ।

साउन १४ बाट ५० वर्षभन्दा माथिका र सरकारले तोकेको अत्यावश्यक सेवाका मानिसहरूलाई खोप उपलब्ध गराउने सूचना नगरपालिकाले गरे पनि १८ वर्षभन्दा माथिका सबैले खोप पाउने आसमा सर्वसाधारण लाइनमा देखिएका छन् ।

हिजो अर्थात् साउन १४ गते ४ सय जनालाई खोप लगाउने भनिए पनि ३८५ जनाले मात्रै खोप पाएका छन् । खोप नपाएका आक्रोशित सर्वसाधारण आन्दोलनमा उत्रिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा १५ गतेका लागि २ सय जनालाई कुपन बाँडिएको थियो । आज ३ सय जनाका लागि मात्रै खोप उपलब्ध हुने संलग्न स्वास्थ्यकर्मीले बताए ।

‘२ सय कुपन हिजो नै बाँडिएको छ । बाँकी १ सय ५० वर्षभन्दा माथिका लागि भनेर  छुट्याइएको छ । उक्त समूहका मानिस कम भएमा लाइनमा बसेका क्रममा सबैलाई खोप उपलब्ध गराउने योजना छ’, उनले भने । 

बिहान १० बजेदेखि ४ बजेसम्म खोपका लागि समय तोकिए पनि​ व्यवस्थापन सन्तोषजनक नहुँदा झिसमिसेमै आएर लाइन बस्नु परेको लक्ष्मीको आरोप थियो ।

शिक्षा क्षेत्रमा संलग्नलाई खोप उपलब्ध गराउने भनिए पनि उपत्यकाका अधिकांश स्थानमा भने विद्यालयको सिफारिस वा परिचयपत्र बाहक शिक्षक तथा कर्मचारीलाई भने फर्काइएको छ । बिहान ६ बजेदेखि लाइनमा बसेर १ बजे पालो आए पनि खोप भने लगाउन नपाएको एसियाप्यासिफिक स्कुलमा कर्मचारी कुमार दाहालले बताए । 
अत्यधिक चाप भएका स्थानलाई हरेर खोपको मात्रा बढाउनु पर्ने सर्वसाधारणको माग रहेको छ । 
 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ७:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया