अझै तीन-चार वटा ओलम्पिक सहभागितामै सीमित हुनेछन्

शुक्रबार बिहानको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ। पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएका थिए। प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन। 

विगतका संस्करणजस्तै यो संस्करण पनि औपचारिकतामै सिमित भयो। खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ। 

सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। यस संस्करणमा पनि नेपाल सहभागितामै सीमित हुनपुग्यो 

विगत जस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बाहेक अन्य  उपलब्धी भएन।  गत संस्करणकै जसरी खेलाडीको भन्दा भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो। 

असम्बन्धित पदाधिकारीको सहभागिताले नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ। यस पटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्ड भन्दा माथि उठ्न सकेन।

ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्ट मात्रै हुन्। 



संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए। के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सिमित हुने हो ?

यसबारे खेलकुदविज्ञ सुशिल नरसिंह राणाले न्यूज एजेन्सी नेपालसँग गरेको कुराकानीको सम्पादित अंशः



नेपालले ओलम्पिकमा सधैँ सहभागितामै चित्त बुझाउनु पर्ने हो  ?

यो आम मानिसको प्रश्न हो। नेपालले ओलम्पिकमा सहभागिता सधैँ जनाउने गरे पनि पहिलो चरण भन्दा दोस्रो चरण पार गर्न सकेको छैन। यो संस्करणको सहभागिता पनि औपचारिकतामा सीमित भएको छ।

आगामी तीन÷चार वटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सिमित हुनेछ। ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौँ भने नेपालको सम्भावना अझै कमजोर हुन्छ।

पुरानो सोचलाई नै हाबी हुन दिने हो भने जसरी ६ दशकको यात्रा औपचारिकतामा सिमित छ, आगामी ६ दशक पनि यस्तै हुनेछ। किनभने हाम्रो कर्मचारी तन्त्रले खेलकुद के भन्ने बुझेको छैन। 

अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नु पर्ने हो उनीहरु राजनीतिक स्वार्थमा तल्लीन छन्।  जबसम्म राजनीति र स्वार्थको खेल खेलकुदमा हाबी हुन्छ परिवर्तन २०औं वर्षसम्म पनि हुँदैन। खेलकुदले छलाङ मार्न सक्दैन। अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन।

नेपालका राजनीतिक हस्तक्षेपले राम्रो खेलाडी उत्पादन गर्नबाट रोकेको होकी राम्रो खेलाडी नै  नभएका हुन् ?

नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन्। अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन्। तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन्। 

अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठ भूमिको हुन्छ। उनीहरुको ध्यान पद मात्र लिने रहन्छ। त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्नका लागि कुनै पनि योजना छैनन्। सरकार कसको छ त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन्। 

अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनु भन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए। तर अन्तिममा जो राजनीतिक क्षेत्रमा बढी पहुँच भएको व्यक्ति थियो उ नै नेतृत्वमा आए। यस्तो नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ। 

उनीहरुको ध्यान कसरी विवाद रहित कार्यकाल सकाउने भन्नेमा मात्रै हुन्छ। उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन। खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन। ओलम्पिककै कुरा गर्नु पर्दा यो वृहत क्षेत्र हो। यसमा पुग्नका लागि दीर्घकालीन योजना निकै अपरिहार्य छ। अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालिन योजनामा अघि बढेको देखिँदैन।

सधँै केही महिनाको तयारीका आधारमा मँत्तै सहभागिता हुँदै आएको छ। केही महिनाको तयारीमा हामी साफ, एशियन गेम्स खेल्दै आएका छौं। तर ओलम्पिक भनेको वृहत क्षेत्र हो। यो छोटो र अल्पकालीन योजनाले सम्भव छैन। दीर्घकालीन योजना बनाएर युथ एथ्लेटिक्सहरुलाई अभ्यास दिलाउँदै उनीहरुको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ।

यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ। 

जसमा नयाँ खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्फुटन गराएका हुन्छन्। तर सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरुको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन। साँच्चिकै प्रतिभावान खेलाडी, जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरु प्रति कोही जवाफदेही छैनन्। हामी यस्तो सोचबाट धेरै नै टाढा छौँ। रातारात कोही पनि पूर्णखेलाडी बन्न सक्दैन।

हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरुको खेल करियर कलिलै उमेरबाट सुरु भएको देख्न सकिन्छ। त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ।

दीर्घकालीन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ? 

दीर्घकालीन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन। योजना कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे सम्भव छ। बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन। 

पोलिसी नै बन्न सकेको छैन। बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन्। अहिलेको अवस्थामा कुनैपनि योजना बन्न सकेका छैनन्। सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ। कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन्। अझै महामारीले गर्दा त्यस्ता संघहरूलाई फाइदा मिलेको छ। अभ्यास गर्ने स्थल बन्द भएको बहाना छ। 
खेलाडीमा केवल नैराश्यता मात्र छाएको छ। खेलेर जिविका चलाउन कठिन हुने खेलाडीले बुझिसकेका छन्। 

खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेका खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन।

ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६÷२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता ?

वास्तवमा यो निकै नै अस्वभाविक विषय हो। हिसाब किताबकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो। जम्बो टोलीको आवश्यक छैन। अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन्। 

उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन। लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नु पर्ने थियो। 

पदाधिकारीलाई लग्नु अहिलेको अवस्थामा अलि अस्वभाविक भएको मात्र हो। यसरी ठूलो संख्यामा पदाधिकारीलाई शयर गराउनुले राम्रो सन्देश जाँदैन। 

अभिभावकको विश्वास नै टुट्छ। मैले किन मेरो बालबच्चा खेल क्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ। कसरी लगानी गर्ने भनेर प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन्। यो किसिमका क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं। त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ।

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १३:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया