प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षको नाममा पार्टीको विरुद्धमा उभिएका व्यक्तिलाई पार्टीमा स्थान नहुने बताएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई एमालेमा अब ठाउँ नभएको बताएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टाएका हुन् ।
ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने । यस्ता प्रतिक्रियावादीहरुकाे मतियारका लागि पार्टीमा ठाउँ छैन । अरु साथीहरु गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौँ । आउनुहोस्- यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं ।
अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् । अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने । अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ । अब यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैसियत विजयका साथ देखाउनु पर्नेछ । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ पर्यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ ।
जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुकाे दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारबाही गर्नुपर्ने विषय हो । त्यस्ता तत्वलाई कारबाही गर्न पाइदैन अदालतले भन्छ । यही व्याख्या सधैं चल्छ त ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।