साताको सेयर : नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । सेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । 

साताभर कुल २२५ कम्पनीको ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता सेयर कारोबार भयो । सबै दृष्टिकोणबाट हेर्दा साताभर सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । 

लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक विन्दु कायम गरेर तीन हजार १०० को विन्दुमाथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखापरेको हो ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो । गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ ।
 
सेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस ट्रेन्ड’को दबदबा कायमै छ । सोही कारण पनि हरेक जसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको थियो । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो । कुल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर ओरालो लाग्दा ११ उपसमूहको सेयर उकालो लागेको थियो । कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद–बिक्री भएको थियो । 



आइतबार उच्च अंकले बढेको कारोबारमापक नेप्से परिसूचक सोमबार ८.२४ विन्दुले ओरालो लाग्यो । त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको थियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ विन्दुले ओरालो लागेर ५७१.१० मा झरेको थियो ।  

नेप्से ओरालो लागे पनि कारोबार रकम भने १४ अर्बमाथि रहेको छ । कुल २२३ कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लागेको थियो । 



कारोबारका आधारमा ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रही ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । सोमबार कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर, माउन्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको सेयरमा सकारात्मक सर्किट लागेको थियो । 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको सेयरमा परे पनि मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो । त्यस दिन बजार पुँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुग्यो । लगानीकर्ताको ध्यान विशेष गरी जीवन बिमा, उत्पादन, निर्जीवन बिमा र जलविद्युत् उपसमूहको सेयरमा परेको नेप्सेको विवरणबाट देखियो । 

मंगलबार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर ५७४.३० मा पुगेको थियो । कुल २२५ कम्पनीका तीन करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको सेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्न निर्देशिका जारी गरेपछि त्यसदिन बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ विन्दुले घटेको थियो । 

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोबार भयो ।
 
नेप्सेका अनुसार मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर, घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको सेयरमा सकारात्मक सर्किट लाग्यो । 

बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । बुधबारको कारोबारपछि नेप्सेले नयाँ इतिहास कायम गर्यो । नेप्से १५.३० अंकले बढेर तीन हजार ९४.९४ मा पुग्दा तीन हजार १०० को विन्दुको यात्रा तय गर्यो । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कुल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद–बिक्री भए ।

कारोबारपछि बजार पुँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुग्यो । यो पनि हालसम्मकै उच्च अंक हो । कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर ओरालो लाग्दा नौ उपसमूहको सेयर भने उकालो लाग्यो । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रही ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोबार भयो । 

बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको सेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । 

अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ कायम भयो । 

कुल २१७ कम्पनीका दुई करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजारबराबर भयो । कारोबार भएका कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढे । 

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१.१२ प्रतिशतले सम्पत्ति थपियो । 

यस्तै, नेपाल हाइड्रो डेभलपर २८.३४, ङादी ग्रुप अफ पावर २७.२२, हिमालयन ऊर्जा विकास कम्पनी २६.७२ र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५.९९ प्रतिशतले आर्जन गरे । 

त्यस्तै, सिटिजन म्युचुअल फण्ड ५.२१, एनआइसी एशिया ग्रोथ फन्ड ४.३४, सिभिल लघुवित्त ३.७६, ग्लोबल आइएमई समुन्नत स्किम एक ३.७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३.६५ प्रतिशतले कमाए । 

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २१:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया