नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एमाले माधवकुमार नेपाल समूहले अहिलेसम्म आधिकारिक रुपमा केही भनेको छैन ।
नेपाल समूहका केही सांसदहरु सरकारमा जानु पर्ने धारणा राखिरहेका छन् भने केहीले पार्टी एकता गर्नु पर्ने भएकाले पनि सरकारमा जान नसकिने बताउँदै आएका छन् ।
यहीबीच आइतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि नेपालले सरकारमा जानेबारे निर्णय सुनाएनन् । तर, प्रचण्डले स्थायी कमिटी बैठकमा नेपालहरु सरकारमा आउने सम्भावना नभएको बताए ।
‘अधिकांश जिम्मेवार नेताहरुले सरकारमा जानु घातक हुने नेपाललाई बिफ्रिङ गरेका छन्,’ नेपालनिकट एमालेका एक केन्द्रीय सदस्यले भने, ‘तर, नेपाल नै अहिले के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।’ उनले नेपालले सरकारमा जाँदा पार्टी एकता भाँडिने मात्र नभएर नयाँ पार्टी बनाएरै अगाडि बढेको खण्डमा पनि यसको सकारात्मक सन्देश नजाने बताउँदै आएको जानकारी दिएका छन् ।
यही कुरा प्रचण्डले आजको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पनि दोहोर्याएका छन् । ‘अहिलेसम्म नेपालजीले यसबारे केही बोल्नु भएको छैन,’ प्रचण्डले स्थायी कमिटी बैठकमा भनेका छन्, ‘शेरबहादुरजीले चाहिँ नेपालले नभनेसम्म व्यक्तिगत तवरमा सांसदलाई मन्त्री नबनाउने भन्नु भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।