तीन नेपाली खेलाडी जसले बनाए टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक २०२१ मा नेपालका तर्फबाट पाँच खेलाडीले भाग लिएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीबाजद्वय गौरिका सिंह र एलेक्सजेन्डर शाह र एथ्लेटिक्सकी सरस्वती चौधरीले यसपटक ओलम्पिकमा भाग लिएका थिए । 

नेपालमा सदैव जस्तै यस बर्ष पनि ४ खेल विधामा ५ खेलाडीले सहभागिता जनाएका थिए । पाँच खेलाडीमध्ये तीन खेलाडीले आफ्नै नामका राष्ट्रिय रेकर्डमा सुधार गरेका छन् ।
 
जसमा पौडीबाजद्वय गौरिका सिंह र एलेक्सजेन्डर(एलेक्स) शाह र सुटिङकी कल्पना परियारले आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड सुधार गरेका हुन् । 

नेपालले १९६४ बाट ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । नेपालले १८औँ ओलम्पिकमा दुई खेलबाट ६ खेलाडीको लागि कोटा पायो । एथ्लेटिक्सका दुई खेलाडी र बक्सिङका चार खेलाडीले नेपालबाट पहिलोपटक ओलम्पिकमा भाग लिए । 

हरेक खेलाडीका लागि ओलम्पिक खेल्नु एक सपना हो । १९६४ देखि हालसम्म नेपालले १८ वटा संस्करणमा प्रतिस्पर्धा गरिसकेको छ । नेपालको तर्फबाट ८४ खेलाडीले ओलम्पिक सपना पूरा गरिसकेका छन् ।

नेपालका तर्फबाट हालसम्म ओलम्पिक खेलेका ८४ खेलाडीमध्ये एकजनाले पनि ओलम्पिक पदक नेपाल  भित्र्याएका भने छैनन् । ओलम्पिकमा भाग लिएका केही खेलाडीले आफ्नै रेकर्ड भने तोडेका छन् । यो क्रम यस वर्षको ओलम्पिकमा पनि जारी रह्यो । 

गौरिका सिंह (पौडी) 



बेलायतमा बस्दै आएकी नेपाली पौजीबाज गौरिका सिंहले लङ कोर्समा आफूले रचेको कीर्तिमान सुधार गरेकी हुन् । उनले आफ्नो नाममा यसअघि लङकोर्समा फिना विश्व च्याम्पियनसिपमा आफ्नो पहिलो रेकर्ड राखेकी थिइन् । 



उनले फिना वर्ल्ड कपमा १ः००ः६२ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् । उनले यसपटकको ओलम्पिकमा भने त्यस रेकर्डलाई सुधार गरेकी छिन् । यसपटक उनले ओलम्पिकमा १ः००ः११ सेकेन्डको रेकर्ड राखेकी छिन् ।

सिंह विदेशमा बस्दै प्रशिक्षण लिँदै आएकी छिन् । उनले रेकर्ड सुधारपश्चात् सञ्चारमाध्यमसँग भनेकी छिन्, ‘लामो समय स्विमङपुलहरु बन्द भएका कारण प्रशिक्षणमा समस्या भएको थियो ।’ 

उनले १०० मिटर फ्रिस्टाइलमा भने आफ्नै रेकर्ड पनि पछ्याउन सकिनन् । उनले सर्ट कोर्समा भएको १३औँ सागमा ५८.१३ सेकेन्डको समय निकालेकी थिइन् । 

नेपाललाई पौडी विधामा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ४ स्वर्ण, २ रजत र ३ कास्य जिताउँदै उनले इतिहास रचेकी थिइन् । यसै कारण उनीबाट राष्ट्रले ओलम्पिकमा आशा देखाएको थियो ।

लङ कोर्समा आफ्नो रेकर्ड सुधार गर्दा भने उनी आफैँ निकै प्रफुल्लित भएकी छिन् । सामाजिक सञ्जालमार्फत उनी आफू खुसी रहेको र आगामी दिनमा अझै आफूलाई निखार्दै लैजाने प्रतिज्ञासमेत गरेकी छिन् । 

उनले ओलम्पिकमा सहभागिता जनाएको यो दोस्रोपटक हो । यसअघि उनले रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिसकेकी छिन् । 

एलेक्सजेन्डर (एलेक्स) शाह (पौडी)

पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका एलेकसजेन्डर (एलेक्स) शाहले पहिलोपटकमा नै आफ्नो राष्ट्रिय रेकर्डमा सुधार गरेका छन् । 

नेपाली बुवा र विदेशी आमाका सन्तान एलेक्स चर्चित पौजीबाज सोफिया शाहका भाइ हुन् । उनले १०० मिटर फ्रिस्टाइलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका हुन् । फिना वल्र्ड च्याम्पियनसिपमा ५५.३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका उनले यस पटक ५३.४१ सेकेन्डमा लक्ष्य पूरा गर्दै आफ्नै नामको राष्ट्रिय रेकर्डमा सुधार गरेका हुन् । 

उनी हाल डेनमार्कमा रहँदै प्रशिक्षण गर्दै आएका छन् । एलेक्स यस प्रतियोगितामा हिट्स १ मा अग्रता हासिल गर्दै ७१ जनामध्ये ५१औँ स्थानमा रहे । 

उनी समूह चरणबाट नै बाहिरिए पनि राष्ट्रिय रेकर्ड भने सुधार्न सफल भएका हुन् । 

कल्पना परियार (सुटिङ) 

नेपाली सेनामा कार्यरत कल्पना परियारले पहिलोपटक ओलम्पिकमा भाग लिएकी हुन् । वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनोट भएकी कल्पनाले पनि आफ्नो राष्ट्रिय रेकर्डमा सुधार गरेकी छिन् । 

उनले १३औँ दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले उक्त रेकर्डमा २.३ अंकले सुधार गरेकी हुन् । 

राष्ट्रिय रेकर्ड सुधार गर्ने क्रममा उनले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, दोस्रोमा १०५.४,तेस्रोमा १०१.० चौथोमा १०४.१ पाँचौँमा १०३.४ र छैटौँ तथा अन्तिम सिरिजमा १००.७ अंक जोडिन् । 

कल्पनाले ५० जना सहभागी उक्त खेलमा छनोट चरणको ४६औँ स्थानमा रहन सफल भइन् । 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार २०:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया