गम्भीर प्रकृतिका अपराधको ग्राफ बढ्दो, तराईमा धेरै
कर्तव्य ज्यान सम्बन्धी घटना २५.५८ प्रतिशले बढ्यो

मुलुकमा पछिल्लो समय गम्भीर प्रकृतिको अपराधको ग्राफ बढ्दो छ। प्रहरी मुख्यालयको तथ्यांक अनुसार पछिल्लो समय देशभरि नै जघन्य प्रकृतिका अपराध बढेको छ

जघन्य र गम्भीर प्रकृतिका कर्तव्य ज्यान सम्बन्धी २५.५८ प्रतिशतले घटना बढेको पाइएको हो। यस खालका अपराध  अझ बढी तराई क्षेत्रमा हुने गरेको प्रहरीको तथ्यांक छ।

केही उदाहरण हेरौं: 

सर्लाही घर भएका २७ वर्षीय ज्ञानु पाख्रिनको साउन १४ गते वीरगन्जमा शव फेला पर्‍यो। काठमाडौंमा बस्दै आएका उनको वीरगन्जमा शव फेला परेपछि हल्लीखल्ली मच्चियो। सबै चकित परे। प्रहरी पनि गम्भीर बन्यो। अनि सुरु गर्‍यो प्रहरीले अनुसन्धान। अनुसन्धानका क्रममा प्रहरीले मृतकको नजिकबाट सुनको सिक्री बरामद गरेको थियो। यही ‘क्लु’ ले प्रहरी हत्यारासम्म पुग्न सफल भयो। 

घटना घटेको तीन दिनमै प्रहरीले पाख्रिनको हत्या गर्नेलाई कठघरा उभ्याउन सफल भयो। 

प्रहरी हिरासतमा आएपछि उनीहरुले चार जना मिलेर योजनाबद्ध रुपमा पाख्रिनको हत्या गरेको स्वीकार गरे। लुट्ने नियतले पाख्रिनको हत्या गरिएको प्रहरीले जानकारी दिएका छन्। पाख्रिनको हत्या आरोपमा पर्सा प्रहरीले अहिले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।



अर्को घटना हो, बारा जिल्लाको। यो करिब एक महिना अगाडिको घटना हो। बारा विश्रामपुर गाउँपालिका–२ मा २५ वर्षीय वीरेन्द्र बैठाको हत्या भयो। कुटपिट गरी हत्या गरिएको अवस्थामा बैठाको शव बाटोमा फेला परेको थियो।

हत्याको खबर पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धानमा जुट्यो। प्रहरीले कुकुर र आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान साँघुरो बनाउँदै गयो। अनि प्रहरीलाई फेला पर्‍यो–हत्या गर्ने व्यक्ति। त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा थाहा भयो–हत्याको रहस्य। 



बैठाको हत्या गर्ने अभियोगमा नजिकैको मन्दिरका पुजारी वीरबहादुर यादव पक्राउ परे। 

यादवको बयान थियो–‘बैठा सधैं मन्दिरमा चोरी गर्न आउँथे। चोरी गर्थे। हामीलाई कुटपिट पनि गर्थे। त्यही काम आज पनि दोहोर्‍याए। अनि हामीले उनको हत्या गर्‍यौँ।’

यो घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले अहिले पुजारी यादवसहित दुई जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको छ।

पाख्रिन र बैठाको हत्या प्रतिनिधिमूलक घटना मात्रै हुन्। पछिल्लो एक वर्षमा मात्रै ६९७ वटा कर्तव्य ज्यानका घटना घटेको प्रहरी मुख्यालयको  रेकर्ड छ। अघिल्लो वर्ष जम्मा ५५५ वटा कर्तव्य ज्यानका घटना भएका थिए। अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ वटा कर्तव्य ज्यानका घटना बढेको देखिन्छ।

कुन वर्षमा कति ?

पछिल्लो तीन वर्षको प्रहरी तथ्यांक केलाउने हो भने कर्तव्य ज्यानका करिब १९०० घटना भएका छन्। प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/०७६ देखि ०७७ /०७८ सम्ममा १९११ वटा कर्तव्य ज्यानको घटना भएको छ। 

आर्थिक वर्ष ०७५/०७६ मा ६५९, ०७६/०७७ मा ५५५ र ०७७ /०७८ मा ६९७ वटा घटना भएको प्रहरीको रेकर्डमा छ। आव ०७६/०७७ को तुलनामा ०७७ /०७८ मा २५.५८ प्रतिशतले कर्तव्य ज्यान मुद्दाका घटना बढेको देखिन्छ। 

प्रदेश १ र प्रदेश २ मा सबैभन्दा बढी 

आर्थिक वर्ष ०७७ /०७८ मा कर्तव्य ज्यानको घटना सबैभन्दा बढी प्रदेश मा घटेको छ । प्रदेश २ दोस्रो नम्बरमा छ। यो वर्षमा भएको कुल ६९७ वटा घटनामध्ये प्रदेश १ मात्रै १५७ वटा कर्तव्य ज्यानका घटना भएका छन्। अर्थात् कुल संख्याको २२.५२ प्रतिशत घटना प्रदेश १ मा मात्रै भएको देखिन्छ। 

बितेको आर्थिक वर्षमा प्रदेश २ मा १२६ वटा कर्तव्य ज्यानका घटना घटेको प्रहरी रेकर्डमा छ।  यसैगरी बाग्मती प्रदेशमा ६९, गण्डकीमा ५४, लुम्बिनीमा १२४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ६८ वटा कर्तव्य ज्यानका घटना भएको तथ्यांकमा देखिएको छ।  

काठमाडौं उपत्यकाभित्र ५० वटा घटना भएका छन्। 

कर्णाली प्रदेशमा सबै भन्दा कम 

गम्भीर प्रकृतिको अपराध घटना  हुनेमा कर्णाली प्रदेश देखिएको छ। प्रहरी आँकडा अनुसार यो प्रदेशमा बितेको वर्ष ४९ वटा कर्तव्य ज्यान सम्बन्धी घटना भएका छन्। प्रतिशतमा यो ७.०३ प्रतिशत हुन आउँछ। 

तराईमा जघन्य प्रकृतिका घटना बढ्नुको मुख्य कारण तराई क्षेत्रमा हुने विभेद र घरेलु हिंसा रहेको प्रहरीको ठम्याइ छ।

तराई क्षेत्र भारतसँगको खुल्ला सीमासँग जोडिनु र समाजको पछौटेपन गम्भीर प्रकृतिका अपराधको कारण रहेको  नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त बहादुर कुँवर बताउँछन्। तराई खासगरी विभेद र घरेलु हिंसा जस्ता सामाजिक समस्याले जकडिएको छ’ कुँवर भन्छन्, ‘जुन कारणले यो क्षेत्रमा बढी विवाद भइरहन्छ। अनि विवाद अन्तिम गएर हत्यासम्म पुग्छ।’

अहिलेसम्मका घटना र त्यसका कारण केलाउँदा त्यही देखिने प्रवक्ता कुँवरको भनाइ छ।  खुल्ला सीमाका कारणले हत्या तथा अपराध गरेर सजिलै फरार हुन सकिने भएकाले तराई क्षेत्रमा गम्भीर प्रकृतिका घटना बढी भएको उनले बताए। 

‘तराईको तुलनामा पहाड र हिमालमा कम घटना घटेको छ। किनकि त्यहाँ सामाजिक संरचना फरक छ’ कुँवर भन्छन्, ती स्थानमा सामाजिक विभेद र घरेलु हिंसाका कारण हत्याका घटना कम भएको देखिन्छ।’

कसरी कम होला ?

तराईमा बढ्दो अपराधको ग्राफमा कमी ल्याउन ती माथिल्लो तहबाट विशेष पहल हुने पर्ने पूर्व सुरक्षा अधिकारीहरु बताउँछन्। अपराधका घटनामा कमी ल्याउन सामाजिक समस्या पहिचान गरी त्यही अनुसारको कदम चाल्न सरकारलाई उनीहरुको सुझाव छ। 

त्यहाँका कुसँस्कार, कुरीतिहरूको अन्त्य गर्ने, बेरोजगारीको समस्या समाधान गर्ने तर्फ सरकारले ध्यान दिए जघन्य प्रकृतिका अपराधमा कमी आउने नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको तर्क छ। 

पछिल्लो समय नेपाली समाज असहनशील हुँदै गएकोले जघन्य प्रकृतिका घटनाहरु बढ्न थालेको मल्ल बताउँछन्। ‘सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ। विभेद हटाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ’ मल्ल भन्छन्, ‘अनि यस्ता घटनामा कमी आउन सक्छ।’ 

जघन्य प्रकृतिका अपराध बढ्नु भनेको गम्भीर विषय भएको भन्दै यसमा सरकार चाँडै सचेत हुनुपर्ने उनको भनाइ छ। 
 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १२:३२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया