बाजुरामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा

कोरोना महामारीका कारण वैशाखदेखि बन्द रहेका बाजुराका विद्यालयहरु सञ्चालनमा आएका छन् । कोरोना संक्रमण दर जिल्लामा ओरालो लाग्दै गएपछि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका हुन् ।

जिल्लाका ९ वटै स्थानीय तहले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका छन् । सुदूरपश्चिमका धेरै ठाउँमा अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । बाजुरामा सबैको पहुँचमा अनलाइन छैन । त्यसले गर्दा पनि विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालमा आएको स्थानीय तहले जनाएका छन् ।

साउन ३ गते बाट जिल्लाका विद्यालयहरु सञ्चालन आएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । 

‘स्थानीय तहबाट विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने माग आएपछि स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने भनेका छौँ,’ उनले भने, ‘त्यसैअनुसार जिल्लाका सबै स्थानीय तहका विद्यालय सञ्चालनमा छन् ।’ 

जिल्लामा सक्रिय कोरोना संक्रमित पनि ४ जना मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तर्क्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए ।

 ‘गाउँ घरमा त्यसै पनि बालबालिका एक ठाउँमा नै हुन्छन्,’ उनले भने, ‘संक्रमण दर पनि धेरै नभएको अवस्थामा भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालनमा आएका हुन् ।’ 



साउन ३ देखि सञ्चालनमा आएका विद्यालय अहिलेसम्म एन्टिजेन परीक्षण गर्दा पनि कसैमा संक्रमण पुष्टि भएको छैन । ‘अनलाइनबाट कक्षा सञ्चालन बाजुरा जस्तो ठाउँमा सम्भव छैन,’ अध्यक्ष रावतले भने, ‘त्यसले गर्दा जिल्ला प्रशासनको समन्वयमा विद्यालय सञ्चालनमा आएका छन् ।’

शैक्षिक सत्र सुरु भएको ४ महिना बित्नै लाग्दा पनि अन्य जिल्लाका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । कोरोनाको कारण लामो समय पढाइमा छुट्दा विद्यार्थीहरूमा नकारात्मक प्रभाव पर्दै गएको छ ।



विद्यालय बन्द हुँदा साथीभाइसँग घुलमिल गर्न पाएका छैनन् । उनीहरूमा मनोवैज्ञानिक असर परेको छ । मिहिनेत गर्ने बानी छुटेको छ । अनलाइन कक्षा भौतिकजस्तो हुँदैन, ड्रपआउट हुने, कुलतमा फस्ने जोखिम बढेको शिक्षकहरु बताउने गरेका छन् ।

 ‘दुर्गम ठाउँमा अनलाइन कक्षा सञ्चालन सम्भव छैन,’ बाजुराका शिक्षक ओमप्रकाश जोशीले भने, ‘अभिभाकहरुको आग्रहमा नै विद्यालय सञ्चालमा आएका छन् ।’ लामो समय देखि विद्यालय सञ्चालमा आउँदा विद्यार्थीहरु पनि खुसी भएको उनले बताए ।

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १९:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया