जयसिंह धामी प्रकरण : गृहमन्त्रालयको छानबिन टोली दार्चुलामा

तुइन तर्दा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामी घटनाको छानबिन गर्न गृहमन्त्रालयको छानबिन टोली दार्चुला पुगेको छ । मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोली स्थलगत खटिएको हो ।

 यस्तै समितिले बुधरबार जिल्लामा पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । 

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार टोलीले धामी घटनास्थलमै पुगेर अध्ययन गर्नेछ ।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा  भारतीय सीमा सुरक्षाबलका एसएसबीले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले दावी गर्दै आएका छन् । 



भारतीय प्रशासनले भने एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ । उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई सोमबार नै खलंगा पुर्‍याएकाे हो ।प्रत्यक्षदर्शीलाई सोमबारदेखि प्रहरीको निगरानीमा राखिएको छ । 

बेपत्ता धामीको शव अझै भेटिएको छैन् । धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरेको छ ।



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १२:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया