जयसिंह धामी बेपत्ता प्रकरण : गृहमन्त्रालयको छानबिन टोली घटनास्थल प्रस्थान

महाकालीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोली स्थलगत अध्ययनको लागि घटनास्थल प्रस्थान भएको छ ।

टाेली दार्चुलाकाे सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै गस्कु मालघाट गएको हो । घटना भएको ठाउँलाई नेपालतर्फ मालघाट भन्छन् भने भारतीयहरू गस्कु भन्ने गर्छन् । घटनास्थल पुग्न हिँडेर एक दिन लाग्ने गर्दछ । गृह मन्त्रालयका सह-सचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान स्थलगत अध्ययनको लागि गएको हो ।

 यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने छ । गत साउन १५ गते व्यास गाउँपालिका-२ का जयसिंह धामी सदरमुकाम खलंगा जाने क्रममा महाकालीमा बेपत्ता भएका थिए ।

भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझै फेला परेका छैनन् । 

छानबिन समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ । टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया