‘अपहरित’ सांसद विमला वलीले भनिन्– मलाई मुख्यमन्त्री कार्यालयमा ‘बन्धक’ बनाइयो

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको आरोप लगाएकी छिन् ।

बिहीबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै सांसद वलीले आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमा राखिएको बताएकी छिन् । यसअघि आफू एमालेमा भएको भन्दै निकालेको विज्ञप्ति पनि उनले जबरजस्ती हस्ताक्षर गराइएको बताएकी छिन् । १९ साउनमा उनले आफू एमालेमा नै रहेको भन्दै विज्ञप्ति निकालेकी थिइन् ।

१५ साउनदेखि आफूलाई बन्धक बनाइएको आरोप उनले लगाएकी छिन् । 

अनि आफूले १९ वैशाखमा नै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी दिएकाले अहिले पनि आफू माओवादी केन्द्रमा नै रहेको उनले जानकारी दिएकी छिन् ।

वलीले १५ साउनमा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत आफ्नो घरमा आएको बताएकी छिन् । उनीहरु दुवै जनाले आफूलाई एमालेमा आउन दबाब दिए पनि आफूले अस्वीकार गरेको वलीको दाबी छ ।

तर, घरबाट आफू नेपालगन्ज जान खोजेको समयमा ढकालले आफूहरु पनि नेपालगन्ज जान लागेको बताएर आफ्नो गाडीमा राखेको वलीले बताएकी छिन् । वलीले बताएअनुसार उनी उपचारका लागि नेपालगन्ज जान खोजेकी थिइन् । 



‘मैले त विश्वास गरेर गाडीमा बसेँ,’ वलीले भनेकी छिन्, ‘तर, मलाई नेपालगन्ज लगिएन, बुटवल लगियो ।’

बाटोमा आफूले बारम्बार प्रतिवाद गर्न खोजे पनि ढकालहरुले एकपटक मुख्यमन्त्रीलाई भेट्नु पर्छ भन्दै आफूलाई बुटवल पुर्याएको उनले बताएकी छिन् ।



गाडी बाटोमा कतै नरोकी सोझै मुख्यमन्त्री कार्यालय लगेको पनि वलीले बताएकी छिन् ।

मुख्यमन्त्री पोखरेलले पनि निवासमा पुगे लगत्तै आफूलाई एमालेमा आउन बारम्बार दबाब दिएको वलीको आरोप छ । ‘एमालेमा आउनुहोस्,’ उनले भनेकी छिन्, ‘मन्त्री बनाउँछु भनेर प्रलोभन देखाइयो ।’ उनले त्यसपछि तीन दिनसम्म आफूलाई मुख्यमन्त्री निवासबाट बाहिर निस्किन पनि नदिइएको आरोप लगाएकी छिन् ।

प्रदेश सांसद वलीले आफूलाई मुख्यमन्त्री निवासबाट बाहिरिन नदिएको पनि आरोप लगाएकी छिन् ।

उनले आफू २० असारमा मुख्यमन्त्री निवासबाट बाहिरिएको पनि बताएकी छिन् । ‘शौचालयको चप्पल लगाएर भागेकी हुँ,’ उनले भनेकी छिन्, ‘आफ्नो चप्पल लगाउँदा आवाज आउँथ्यो, शौचालयको चप्पल लगाएर त्यहाँबाट भागेपछि म माओवादी संसदीय कार्यालय आएकी हुँ ।’

 


  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १४:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया