जयसिंह धामी बेपत्ता प्रकरण : मन्त्रालयको टोली घटनास्थलको अध्ययन गरेर फर्कियो
एसएसबीको टोली पनि निरीक्षणमा सहभागी

दार्चुलाको ब्याँस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित छानबिन टोली घटनास्थल पुगेर फर्किएको छ । भारतको बाटो भएर छानबिन टोली संयोजक जनार्दन गौतम नेतृत्वको टोली घटनास्थलको भारततिर पुगेर अध्ययन गरेर फर्किएको हो । 

घटनास्थलको भारततिर स्थलगत रुपमा अवलोकन गरेर टोली फर्किएको समिति सदस्य एवं दार्चुका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् । ‘छानबिन समितिको टोली भारततिरको घटनास्थलको स्थलगत अध्ययन गरेर फर्किएका छौँ, मौसम प्रतिकूल नभएमा नेपालतिर पनि जाने तयारीमा छौँ,’ भट्टले भनिन् ।

समिति संयोजक गौतमका अनुसार सदस्य डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ, दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीको टोली घटनास्थल पांगला गस्कु पुगेर फर्केको हो । 

छानबिन टोलीको साथमा नेपालबाट सशस्त्रको ४४ नम्बर गणका सशस्त्र एसपी नरेन्द्रबहादुर बम, नेपाल प्रहरीका डिएसपी मनोहरप्रसाद भट्ट र अनुसन्धान अधिकृत सहभागी थिए ।

टोलीसँगै भारतीय एसएसबीलाई समेत सहभागी गराइएको थियो । एसएसबीकै जवानहरुमाथि घटनाको आरोप लागिरहेका बेला भारतीय अर्धसैनिक बल एसएसबी डिडिहाटका कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुईजना एसएसबी अधिकारी पनि छानबिन टोलीसँगै घटनास्थल गस्कु पुगेको थिए ।

भारतको धार्चुलाबाट गाडीमा गएको टोली करिब २० किलोमिटर अघि तिउतोला भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा केही दूरी हिँडेर गाडी झिकाएर गस्कुसम्म पुगेको हो ।
 भारतको बाटो भएर घटनास्थलतर्फ गएको नेपाली छानबिन टोलीले सञ्चारकर्मीलाई भने सँगै लगेन । बुधबार दार्चुलाका सञ्चारकर्मीसँगको भेटघाटमा संयोजक  गौतमले छानबिनको प्रोटोकलअनुसार सञ्चारकर्मी सँगै लैजान नसकिएको बताए । टोली भारतको बाटो भएर घटनास्थलतर्फ गएको हो । 



साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका २ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन फुकालिदिँदाँ स्थानीय युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् । प्रत्यक्षदर्शीले एसएसबीका दुई जवानले तुइन फुकालिदिँदा (काटिदिदाँ) जयसिंह महाकालीमा बेपत्ता भएका बताइरहेका छन् ।

भारतीय पक्षले भने सो घटनामा एसएसबीको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
छानबिन टोली घटनास्थलमा पुग्ने बित्तिक्कै नेपालतर्फबाट स्थानीयको साथमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । 



नेपालकै बाटो भएर नेपालतर्फ नआएका कारण आफूहरुले नाराबाजी गरेको नेकपा विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक भुवन जोशीले बताए ।
 

  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार २१:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया