विवाह गर्ने सही उमेर कुन हो ? कुन उमेरमा विवाह गरे जीवन सुखी र सफल हुन्छ ? यस्ता प्रश्नमा धेरै छलफल, बहस हुने गर्छन्। तर यसको कुनै निश्चित उत्तर पनि भेटिँदैन। नेपाली समाजमा २० वर्ष कटेपछि विवाह गर्न ढिलो भयो भनिन्छ। ३० वर्षसम्ममा प्राय सबैको विवाह भइसकेको हुन्छ।
अभिनेता राजेश हमालले ५ दशकको उमेर पार गरेपछि विवाह गरे। ५० वर्षको उमेर पार गरेर राजेशले बिहे गर्दा निक्कै चर्चा भयो। उनले मधु भट्टराईसँग २०७१ साल बैशाखमा बिहे गरेका थिए।
धेरैले अब राजेशले बिहे गर्दैनन् भन्ने निष्कर्ष निकाल्न थालेका थिए। उनको विवाहका विषयमा धेरै ट्रोल जोक्सहरूसमेत बनेका थिए त्यतिबेला।
विवाहपछि हमालले सार्वजनिक गरेका तस्बिरले पनि उनको विवाहलाई थप चर्चित बनायो। उनले विवाहकै दिन धुलिखेलमा सुहागरात बेडको तस्बिर आफ्नै फेसबुक एकाउन्टबाट सार्वजनिक गरे। हमाल दम्पतीको उक्त तस्बिर निक्कै चर्चित बन्यो।
जीवनको एक बिन्दुमा हमालले सोचेका थिए, ‘मेरा लागि विवाह लेखेको रहेनछ।’ उनले विवाह गर्ने सोच पनि त्यागिसकेका थिए। तर, विवाह भयो।
उनले विवाह पछि पुनः भने ‘विवाह मेरो योजनामा थिएन। जसले जीवन दियो उसको योजनामा रहेछ भयो।’ विवाहको योजना नै त्यागेका हमाललाई ‘वैवाहिक जीवनको सुख भोग गर्न ढिला गरेछु वा विवाह किन गरे हुँला’ भन्ने लागेन ? भनेर प्रश्न गर्दा दुवै नलागेको बताए।
‘लेटर द बेटर’ भनेजस्तै उनले आफूले विवाह गर्दासम्म जीवन बुझेको भनाइ राखे। ढिलो विवाहले उनको मनमा खड्किएको एउटै कुरा हो ‘छोराछोरी’। विवाहपछिको एक भेटमा हमालले भनेका थिए ‘चाँडो विवाह गरेको भए सायद यतिबेला छोराछोरी हुर्कन्थे।’
राजेशले मधुसँग विवाहको टुंगो लाग्नुअघि भनेका थिए, ‘जीवनसाथी भनेको सोचेर वा रोजेर पाइने कुरा होइन रहेछ। विवाह गरिने रहेनछ, भइदिँदो रहेछ !’ उनले आफ्नो पाको उमेरको विवाहलाई सामाजिक परिधिले निम्त्याउने आवश्यकताका रूपमा हेरे। अहिले उनीहरुको वैवाहिक जीवन राम्रो चलिरहेको छ। पाको उमेरमा विवाह गरेका हमाललाई हिजो आज धेरैबाट प्रश्न आउने गर्छ ‘बच्चा कहिले ?’
उमेरले आधा शताब्दी पार गरेपछि विवाह गर्ने अर्की कलाकार हुन् मिथिला शर्मा। स्वभाव र बानीहरूको बन्धन बाँच्न नचाहने मिथिला ठ्याक्क यति नै बेला यही हुनुपर्छ भन्ने मान्यता राख्दिनन्। उनको विवाहले पनि नेपाली समाजले निर्धारण गरेको विवाहको मानक भत्काइदियो।
मिथिलाले लगभग ६० वर्षको उमेरमा २०७१ सालमै विवाह गरेकी हुन्। २०७१ असारमा पूर्वआइजिपी मोतिलाल बोहरासँग विवाह गरेकी शर्माले बुढेसकाललाई साथी चाहिने बताएकी थिइन्। विवाह अघिसम्म मिथिलालाई पनि खुब सोधिने प्रश्न हो ‘विवाह किन नगरेको ?’ उनी भन्थिन्, ‘यसको कुनै कारण छैन। जीवनमा खुसी हुन कुनै ठूलै उपलब्धि हुनु पर्दैन। स–साना कुरामा खुसी हुन सकिन्छ।’
विवाह गरेपछि पनि उनलाई यो उमेरमा विवाह किन भन्ने प्रश्नले छाडेन। उनले त्यसबेला पनि भनिन्, ‘मैले विवाह गरेँ। यसमा कुनै कारण छैन्। विवाह हुनु थियो भयो।’
विवाह नगरेका सेलिब्रेटी
पाको उमेसम्म विवाह नगर्ने सेलिब्रेटीको चर्चा गर्दा गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीको नाम चर्चामा आउँछ। उनले आजसम्म झल्दै आएको प्रश्न हो, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको ?’ कहिले विवाह हुन्छ ? भनेर सोधिने प्रश्नले पनि छाडेको छैन।
यस्ता प्रश्नको उत्तरमा ओली भन्छिन्, ‘खै अब त के विवाह गरिएला र ? धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ।’
स्कुल जीवनमा कोमललाई बेहुली बन्ने रहर थियो। स्कुल जीवनमै आफ्नी साथीलाई श्रीमानले गरेको माया देखेर बेहुली बन्ने चाहना पालेकी कोमल स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि गायन र खेलकुदमा व्यस्त रहिन्।
बिस्तारै सञ्चार हुँदै राजनीतिमा सक्रिय उनको त्यो चाहना पनि उनीसँगै बुढो भएको छ।
अर्का चर्चित अविवाहित कलाकार हुन्– गायक राजेश पायल राई। अहिलेसम्म आफ्नो विवाह हुन नसक्नुको कारण लेखान्त नै भएको गायक राईले बताउँदै आएका छन्।
आफूले मित मानेका अभिनेता राजेश हमालले विवाह गरेपछि यी गायकले पनि अब तत्कालै विवाह गर्छु भनेर घोषणा गरेका थिए।
उनको घोषणाले दशक छुन थालिसक्यो। तर राईको विवाह साइत जुरेको छैन। उनी भन्छन्, ‘विवाहको कुरा परिवारबाट बारम्बार चल्दै आएको हो। तर, अझै पनि विवाह जुर्न नसक्दा कतै यो लेखान्त नै पो हो कि जस्तो पो लाग्न थालेको छ।’ यी गायकको विभिन्न समयमा विभिन्न महिलासँग नाम जोडिने गरेको छ।
निर्देशक दीपाश्री निरौलाले हरेक दिन सामना गर्नुपर्ने प्रश्न हो, ‘विवाह कहिले गर्नुहुन्छ?’ उनी प्रायः प्रश्नको जवाफ हाँसेर टारिदिन्छिन्। ५० को हाराहारी उमेरमा पुगेकी दीपाले अब आफूलाई विवाह गर्ने चाहाना नभएको बताउन थालेकी छिन्।
केहि वर्षअघिसम्म त उनलाई हरेक साल मंसिरमा घरबाट विवाहका लागि दवाब आउँथ्यो। त्यतिबेला उनी भन्थिन्, ‘विवाह फुसर्दमा गरिने काम हो। तर म विवाहको विरोधी होइन। परिपक्व नभई हतार र दबाबमा गरेको विवाह सफल नहोला भन्ने लाग्छ।’ अहिले यो क्रम पातलिएको छ। उनी आफैं पनि विवाह नगर्ने मनस्थितिमा पुगेकी छिन्।
बिहेको विषयमा चर्चामा आइरहने अर्की कलाकार हुन् गायिका– सुनिता दुलाल। ४ दशक हाराहरीको उमेरमा रहेकी यी गायिकाले पनि विवाह गरेकी छैनन्।
सुनितालाई विहेको प्रस्ताव आउनेक्रम रोकिएको छैन्। उनले सामाजिक सञ्जालको माध्यमबाट पनि निक्कै प्रेम र विवाहको प्रस्ताव आउने गरेको बताएकी छिन्। भन्छिन्, ‘आइ लभ यु भन्नेदेखि विहेका प्रस्ताव पनि म्यासेजमा आउँछन्। म सिंगल भएकाले यस्तो म्यासेज आउनु स्वभाविक पनि हो।’
एकताका सुनिताको विहेको मिति समेत सार्वजनिक भएको थियो। तर, त्यो मिति टरेको पनि लामो समय भइसक्यो। सुनिताको विहेको साइत भने अझैं जुर्न सकेको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।