नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बिहीबार बानेश्वरको एक ब्याङ्क्वेटमा बसेको बैठकमा नेपालले आफूहरु सरकारमा जानका लागि गठबन्धनमा भाग नलिएको बताएका थिए ।
‘हामीले सरकारमा जान पाइन्छ भनेर गठबन्धन निर्माण गरेका होइनौँ,’ उनको भनाइलाई केन्द्रीय समितिका एक सदस्यले फरकधारसँग उद्धृत गरेका छन्, ‘हामीले त प्रतिनिधिसभाको आयु पूर्ण होस् र संविधानको रक्षा होस् भनेर गठबन्धन बनाएका हौँ ।’ नेपालले बैठकमा कोही नेताको नामै नलिइ उनीहरुलाई संयम भएर अभिव्यक्ति दिन पनि अनुरोध गरेका थिए ।
अर्कोतिर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले मिल्न सक्ने सम्भावना नरहेको पनि नेता नेपालले संकेत गरे । यसका लागि उनले ओलीको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए ।
ओलीले अब आफूहरुलाई स्पेस पनि नदिने भएकाले ओलीसँग तत्काल सहकार्य हुने वा एमाले एक हुने सम्भावना कम रहेको उनले संकेत गरेका हुन् । ‘तर, उहाँले आफू एकताका लागि हदैसम्म लचिलो हुनसक्ने पनि बताउनु भयो,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँको अभिव्यक्तिका कारण अहिले एमाले एकता हुने सम्भावना कम देखिएको छ ।’
अर्कोतिर नेपालले सत्तारुढ गठबन्धनमा पनि अहिले तत्काल सक्रिय नहुने संकेत गरेका छन् । पछिल्लो समय गठबन्धन बैठकमा आफ्ना प्रतिनिधि पठाएका नेपालले अब गठबन्धन बैठकमा प्रतिनिधि पठाउन पनि छाड्न सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।