सरकारलाई पूर्णता दिन के पर्खिरहेका छन् देउवा ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ खाएको एक महिना पुग्न अब धेरै दिन बाँकी छैन । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३ साउनमा प्रतिनिधिसभामा विश्वासको मत पनि पाए । तर, यतिका समय हुँदासम्म उनले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रधानमन्त्री देउवाले आफूसँग चार मन्त्रीहरुको पनि सपथ गराएका थिए । अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र गृहमा बालकृष्ण खाँणलाई लगेका देउवाले त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्दा स्वास्थ्यमा राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठलाई लगे । 

सत्ता साझेदार दलहरुको विवाद मिलिसकेको अवस्थामा पनि देउवाले अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । उनको यो ढिला सुस्तीलाई सत्तारुढ दल नेपाली कांग्रेसकै केही नेताहरुले समेत अब आलोचना गर्न थालेका छन् ।

‘विशेष परिस्थितिमा सरकारमा गएकाले यसमा उहाँले ढिलाइ गर्न नहुने हो, तर यो ढिलासुस्तीका कारण जनतामा कांग्रेसको यो सरकारप्रति आम मानिसको धारणा पनि अब गलत हुनसक्छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘देउवाले सायद कांग्रेसको महाधिवेशन र सत्तामा आफूलाई सहयोग गरेका दलहरुको अवस्था हेरेर अहिलेसम्म सरकारलाई पूर्णता दिन नसक्नु भएको हो ।’

यसअघि बारम्बार सत्ता साझेदार दुई दल माओवादी केन्द्र र जनता समाजवादी पार्टी (यादव पक्ष)मा भएको किचलोका कारण सरकारलाई देउवाले पूर्णता दिन नसकेको हुनसक्ने बताइएको थियो । तर, जसपाको आधिकारिकता निर्वाचन आयोगले टुंग्याएसँगै अब सरकारलाई पूर्णता दिन देउवाले पहल गर्नु पर्ने हो ।

तर, अहिलेसम्म माओवादी केन्द्र र जसपाले आफ्ना मन्त्रीहरुको नाम टुंगो लगाए पनि देउवाले यी दुई दलसँग मन्त्रीहरुको नाम मागेका छैनन् ।



‘उहाँ सायद अब सरकार बनाउन नेकपा एमाले माधवकुमार नेपाल पक्षधरको अन्तिम निर्णय कुरिरहनु भएको छ,’ कांग्रेसका ती नेताले भने, ‘नेपाल समूहलाई पनि सत्तामा ल्याउन सकेको खण्डमा आफ्नो सरकारको स्थायित्व हुने विश्वास देउवाको हुनसक्छ ।’

 



याे पनि पढ्नुहाेस्— 

प्रधानमन्त्री देउवाको ढिलासुस्ती

 

 

अर्कोतिर केन्द्रीय कमिटी बैठक गरिरहेको नेकपा एमाले माधवकुमार नेपाल समूहका नेताहरुले आफूहरु सरकारमा सहभागी नहुने बताइसकेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा पनि नेपालले आफूहरुले सरकारमा सहभागी हुनका लागि गठबन्धन नबनाएको जिकिर गरेका थिए । 

बारम्बार आफूहरु सरकारमा सहभागी नहुने भन्दै नेपाल समूहका केही नेताले बताए पनि देउवासँग मन्त्री पदका लागि बार्गेनिङ गर्न एमालेकै केही सांसदहरुले यस बीचमा बारम्बार भेटेका छन् ।

‘किसान श्रेष्ठ, प्रेम आले, मेटमणि चौधरीलगायतका नेताहरुले एक्लाएक्लै भेटेर आफूहरु मन्त्री हुन इच्छुक रहेको बताएका छन्,’ देउवानिकट एक नेता भन्छन्, ‘तर, देउवाले उनीहरुलाई पहिले माधवकुमार नेपालबाट नै निर्णय गराएर आउनु भन्नु भएको छ । यही कारण पनि देउवाले नेपालको अन्तिम निर्णय कुरिरहेका छन् ।’

अर्कोतिर देउवालाई ३ साउनमा विश्वासको मत दिएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुन इच्छुक भएको स्रोतको दाबी छ । ‘ठाकुरले अहिलेको परिस्थितिमा र निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको अवस्थामा आफूलाई तीन मन्त्रालय दिन अनुरोध गरिरहेका छन्,’ स्रोतको दाबी छ, ‘तर, देउवाले उनलाई पनि सरकारमा सहभागी हुने भए एक मन्त्रालय आफूले दिने वचन दिइसकेका छन् ।’

अर्कोतिर नेपाली कांग्रेसमा पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने अहिलेसम्म तय हुन सकेको छैन । 

केही दिनअघि काठमाडौंमा एक बैठकमा नेपाली कांग्रेस पौडेल समूहले आफूहरुलाई सम्मानजनक उपस्थितिका साथ सरकारमा सहभागी नगराए सरकारमा नजाने विषयमा छलफल गरेका थिए ।

‘माओवादी केन्द्र, जसपा र कांग्रेसभित्रकै किचलो, नेपाल समूह सरकारमा आउने हुन् या नआउने हुन् भन्नेबारे अहिलेसम्म ठोस निर्णय नआएकाले सरकारलाई देउवाले पूर्णता दिन नसकेका हुन्, अब एक साताभित्र यी सब कुराहरु हल भएर सरकारले पूर्णता पाउन सक्छ,’ उनीनिकट ती नेताले भने ।

  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १२:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया