दार्चुला तुइन प्रकरणमा कोमल ओली भन्छिन्, ‘देउवा सरकारले बिपी कोइरालाकै अपमान गर्यो’

राष्ट्रियसभा सदस्य कोमल ओलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् । 

शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै ओलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् । उनले बिपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन् । उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताइन् । 

ओलीले भनिन्, ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरुको चरित्र ? यो बिपी कोइरालाको अपमान हो । बिपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्ता माथिको अपमान हो । बिपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली जनताको अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो । र मानवतावादको अपमान हो ।’ 

उनले थपिन्, ‘देश, मानवीय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? बिपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? बिपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौँला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’

ओलीले नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यस अघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंकित गर्दै डुंगामा प्वाल परिसकेपछि महसुस गर्नुले कुनै अर्थ नराख्ने बताइन् । उनले आफ्नै जहाजलाई डुबाउनेहरुबाट भविष्यमा अरु सुरक्षित हुन नसक्ने पनि बताइन् । 

ओलीले भनिन्, ‘एक जना आदरणीय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौँ पनि भन्नुभयो । राम्रो कुरा । तर, प्वाल परिसकेपछि अब त्यो प्वाल जोडिँदैन भनिसकेपछि त्यसको महसुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ? अब वर्तमान र भावी पिँढीले बुझ्नुपर्दछ, एउटै पानीजहाजमा सयर गर्नेहरुलाई बिनाविभेद जनताले विश्वास गरे, समर्थन गरे । तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसके पछिको रियलाइजेसनको अर्थ हुन्छ र ?’



ओलीले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गरिन् । वर्तमान सरकारले भोको पेटको दर्दलाई महसुस गर्न नसकेको उनले बताइन् ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १६:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया