दार्चुला तुइन दुर्घटना : छानबिन समिति हेलिकप्टरबाट मालगाउँ पुग्यो

तुइन चढ्दा दार्चुला ब्यास गाउँपालिका-२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता प्रकरणको छानबिन गर्न जिल्ला पुगेको टोली हेलिकप्टरमार्फत मालगाउँ पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानबिन टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत पुगेको हो ।

टोली शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको मालघाट गएको हो । व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो । बिहीबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस गरेका थिए । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबारदेखि दार्चुलामा छ । साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए ।  घटनाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । 

व्यासका जनतालाई गाउँसम्म पुग्न राम्रो घोरेटो बाटो समेत छैन । ठाउँ ठाउँमा बाटो भत्किएको छ । सडकमा गाडी गुड्ने बाटो छैन । तर, अनुगमन समिति हेलिकप्टरमार्फत माल गएको छ ।

घटना घटेको आठ दिनसम्म शव भेटिएको छैन । आफन्तले कुशको मूर्ति बनाएर अन्त्येष्टि गरिसकेका छन् । मृतकका आफन्तले पीडकलाई कारबाही र पीडित परिवारले उचित क्षतिपूर्ति, बालबच्चाको पालन पोषणको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएका छन् । टोली बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको थियो । 



घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रुखको नापजाँच लिएको छ । महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रुखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १६:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया