ओलीले गाली गरे पनि म पार्टी एकताकै पक्षमा छु : माधव नेपाल
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । आफू पक्षीय केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा रहेको बताए । 

नेपाल बैठकमा भनेको कुरा उधृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । पार्टी एकतामा जोड दिन चाहन्छु ।’

काठमाडौंमा २ दिनसम्म बसेको नेपाल पक्षको बैठकले पार्टीको सदस्यता नवीकरण गर्ने लगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।

वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले पार्टी एकतामा भाँजो हाल्ने काम हुने निष्कर्ष निकाल्दै एकतर्फी रुपमा पार्टीको सदस्यता नवीकरण गर्ने लगायतका सांगठनिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो । 

पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नवीकरण लगायतका सबै खालको सांगठनिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता पन्तले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षमा स्थायी समितिका नेताहरुलाई दिने निर्णय पनि गरेको छ । 

नेता पन्तले भने, ‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला एक पक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन र पुनर्गठन जस्ता काम अघि बढाइनुले एकतालाई भाँजो हाल्ने काम हुन्छ । त्यसैले तत्काल सदस्यता नवीकरण जस्ता सबै सांगठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’



बैठकमा नेपाल पक्षमा केन्द्रीय सदस्यहरुले पार्टी एकतामै जोड दिएका थिए । त्यसको जवाफ दिने क्रममा वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् । उनले आफूले पार्टी एकताकै पक्षमा जोड दिन चाहेको उल्लेख गर्दै सोही ढंगले आफ्नो मनोबल र उत्साहलाई कामय राख्दै पार्टी एकताको प्रयत्नलाई जारी राख्न पनि आफू पक्षका केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । 

नेता नेपालले बैठकमा अध्यक्ष ओलीले आफूहरुलाई अल्मल्याउन खोजेको हो कि ? भन्ने आशंका समेत व्यक्त गरेका नेता पन्तले बताए । माधव नेपाल पक्षले १० बुँदे सहमति पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधारहरु तयार पार्न सजगताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत औंल्याएको छ ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १८:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया