पूँजी तान्दै तारे होटल, १५ खर्ब लगानी !

होटल तथा रेस्टुरेन्ट व्यवसायमा नेपाल पछिल्लो समय पकेट क्षेत्रजस्तै बन्दै गएको छ । साहसिक खेल पर्यटनमा अगाडि देखिएको नेपालमा पछिल्लो समय विभिन्न व्यावसायिक घराना सहितको संलग्नतामा खुलेका तारे होटलको संख्या १४३ पुगिसकेको छ । पर्यटन व्यवसायी तथा कर्पोरेट क्षेत्रको लगानीमा देशभरका विभिन्न पर्यटकीय गन्तव्य तथा सहरमा तारे होटलहरु निर्माण भएका हुन् । 

पर्यटन विभागका अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर मुलुकभर १४३ तारे होटल सञ्चालनमा छन् । ठूला होटलको वर्गीकरण गर्ने नियामक निकाय पर्यटन विभागका अनुसार लकडाउनकै बीचमा पनि आधा दर्जनभन्दा धेरै तारे होटल निर्माण भइरहेका छन् । 
सरकारले पर्यटन उद्योगलाई प्राथमिकता दिन थालपछि पर्यटन क्षेत्रबाट राम्रो प्रतिफलको आशासहित व्यवसायीले ठूला तारे होटलमा लगानी गरेका होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

नेपालको पहिलो तारे होटल सोल्टी होटल स्थापना भएदेखि अहिलेसम्म तारे होटलमा मात्रै करिब १५ खर्ब लगानी भएको उपाध्यक्ष शाहको दाबी छ ।  
‘आजको मार्केट प्राइजमा हानको तथ्यांकअनुसार होटल क्षेत्रमा १५ खर्ब लगानी भएको छ । यो क्रम जारी छ,’ प्रथम उपाध्यक्ष शाहले भने, ‘तर, कोरोना महामारीले होटल उद्योग प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित भएको छ । सरकारले राष्ट्रिय नीति बनाएर पर्यटन भित्र्याउन सहज वातावरण तय गर्नु पर्छ ।’ 

१६ वटा पाँचतारे होटल 
पर्यटन विभागको तथ्यांकअनुसार नेपालमा पाँचतारे होटलको संख्या १६ पुगेको छ । भेगस सिटी इन्टरटेनमेन्ट प्रालीले झापाको धुलाबारीमा बनाएको होटल मेची क्राउनले पाँचतारे मान्यता पाएसँगै मुलुकमा १६ वटा पाँच तारे होटल पुगेको हो । विभागले स्तर वर्गीकरणका क्रममा १९ फागुन २०७७ मा यो होटललाई पाँचतारे मान्यता दिएको थियो । 

पछिल्लो समय उपत्यकाभन्दा बाहिर पाँचतारे होटल खुल्ने क्रम तीव्र भएको छ । १६ वटा पाँचतारेमध्ये १० वटा काठमाडौं उपत्यका भित्र रहेका छन् । ६ वटा पाँचतारे भने मोफसलमा खुलेका हुन् । देशभर रहेका पाँचतारे होटलमा कुल २ हजार ६४१ कोठा रहेका छन् । यी होटलले एक साथ ३ हजार ९३९ जना पाहुनालाई सेवा दिन सक्छन् । 

१९ वटा चारतारे होटल 
देशभर चारतारे होटलको संख्या १९ पुगेको छ । २०७७ सालयता मात्र ६ वटा नयाँ चारतारे होटल थपिएको विभागले जनाएको छ । नेपालमा पहिलो पटक लाजिम्पाटस्थित होटल शंकर चारतारे स्तरमा वर्गीकरण भएको थियो । १९ औँ कम्पनीका रुपमा बाँकेको होटल स्टार लाइट चारतारे स्तरको होटलमा वर्गीकरण भएको छ । उक्त होटललाई यही साउन ४ गते तारे होटलको मान्यता दिइएको हो ।



देशभर रहेका चारतारे होटलमा कुल १ हजार ६३२ वटा कोठा छन् । यी होटलले एकै पटकमा २ हजार ४८७ पाहुनालाई सेवा दिन सक्छन् । काठमाडौंमा कुपण्डोलको होटल हिमालय प्राली, रविभवनको होटल क्राउन इम्पेरियल, ताहाचलको ग्राण्ड होटल र धुम्बाराहीको अकामा होटल मात्र काठमाडौंका चार तारे होटल हुन् । मोफसलमा भने बाँकेमा बढी चारतारे स्तरका होटल छन् ।

३३ वटा तीनतारे होटल 
देशभर तीनतारे होटलको संख्या ३३ पुगेको छ । नेपालमा पहिलो तीनतारे होटल कान्तिपथको होटल माउन्टेन हो । कुल तीनतारे होटलमा कुल २ हजार ६२ कोठा र ३ हजार ४१२ बेड संख्या रहेको छ । विभागका अनुसार दुईतारे होटलको संख्या भने ४१ पुगिसकेको छ । एकतारे होटलको संख्या पनि ३४ पुगेको विभागले जनाएको छ । 



हेरिटेज बुटिक होटलको ‘लक्जरी’ 
सरकारले मौलिक शैलीमा निर्माण भएका स्तरीय होटलहरुलाई भने हेरिटेज बुटिक होटलका रुपमा वर्गिकरण गर्न थालेको छ । यस वर्गिकरणको लक्जरी स्तरमा तीन वटा होटल सूचीकृत भएका छन् ।
बत्तिसपुतलीस्थित द्वारिकाज काठमाडौं भिलेज होटल, बबरमहलमा खुलेको बसेरा बुटिक होटल र बुढानिलकण्ठमा खुलेको पवेरा बुटिक होटललाई लक्जरी हेरिटेज बुटिक होटलमा वर्गीकरण गरिएको विभागको सूचीमा उल्लेख छ ।

यी हुन् नयाँ तारे होटलहरु 

मोक्सी काठमाडौं होटल
करिब डेढ अर्ब रुपैयाँमा सुविधा सम्पन्न स्टार होटल ‘मोक्सी काठमाडौं होटल’ खुल्ने भएको छ । इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल प्रालीको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । 

होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेसनल हिमालय हस्पिटालिटी बीच सम्झौता भइसकेको बताइएको छ । यो इन्टरनेसनल हिमालय हस्पिटालिटी र मेरियट इन्टरनेसनल बीचको सहकार्यमा बन्ने तेस्रो होटल हो । यिनीहरुको सहकार्यमा यसअघि दुईवटा ठूला स्टार होटलहरु खुलिसकेका छन् ।  

होटल सहेन्सा इन्टरनेसनल
आइएमएस समूहले बसुन्धरामा तीन अर्ब लगानीमा ब्याङ्क्वेट, हेल्थ क्लब सहितको पाँचतारे होटल निर्माण थालेको छ ।  झण्डै तीन वर्ष अघि यो समूहले ५५ करोड रुपैयाँमा किनेको होटल सहेन्सा इन्टरनेसनललाई अपग्रेड गरेर पाँच तारे होटल बनाउन लागेको हो ।
आइएमएस समूह सामसङ मोबाइल र स्याङयोङ गाडीको अधिकृत बिक्रेता हो । समूहका अध्यक्ष दीपक मल्होत्राले अन्तर्राष्ट्रिय स्तरको हेल्थ क्लब र ब्याङ्क्वेटलाई केन्द्रित गरेर होटल निर्माण गरिरहेको बताए ।

होटल हिल्टन काठमाडौँ
नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालीअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको छ । होटल आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । 

हिल्टन काठमाडौंलाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालिटी ग्रुपले जनाएको छ । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलअन्तर्गत नेपालमा पहिलो पटक चेन होटल निर्माण हुन लागेको हो ।

सन् २०२० मा होटल निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ देखि होटल निर्माण सुरु गरे पनि कोरोना महामारीका कारण ढिलाइ भएको छ । सन् २०२२ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । 

नेपालका पाँचतारे होटल
दी सोल्टी काठमाडौं, ताहाचल 
होटल डेला अन्नपूर्ण, दरबारमार्ग
द एभरेष्ट इन्टरनेसनल प्राली, नयाँ बानेश्वर
पोखरा ग्राण्ड, पोखरा
होटल द फुलबारी, पोखरा
र्याडिसन होटल, लाजिम्पाट
हायात होटल, बौद्ध
याक एन्ड यति होटल, दरबारमार्ग
द मल्ल होटल, लैनचौर
होटल सांग्रिला, लाजिम्पाट
टाइगर वान प्राली, रुपन्देही
सोल्टी वेस्टेण्ड प्रिमियम, नेपालगन्ज
होटल मेरियट, नक्साल
होटल अलफ्ट, ठमेल
होटल मेची क्राउन, झापा

ठूलो लगानीमा निर्माणाधीन होटलहरु
काठमाडौं सेराटन ८ अर्ब 
होटल समिट ६ अर्ब
सुमार्गी ग्रुप ५ अर्ब 
एमएस ग्रुप (मेरियट होटल) ४ अर्ब 
काठमाडौं अलफ्ट ३ अर्ब 
सिल्भर हेरिटेज ३ अर्ब 
जगदम्बा समूह साढे २ अर्ब 
अरुण चौधरी साढे २ अर्ब 
वैद्यज् अर्गनाइजेसन २ अर्ब 
नागरिक उड्डयन प्राधिकरण २ अर्ब 
होटल ली शेर्पा २ अर्ब
सूर्य नेपाल २ अर्ब 
होटल अन्नपूर्ण भ्यू २ अर्ब 
पवन प्यालेस १ अर्ब 
द सेञ्चुरियन होटल १ अर्ब 
एमएस ग्रुप १ अर्ब 
चन्द्रागिरी रिसोर्ट १ अर्ब 
जिंक जर्नी काठमाडौं १ अर्ब

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १५:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया