नेपाली क्रिकेटमा ‘अतुलनीय’ छाप छाडेर सन्यास लिएका समर्थकका प्यारा कप्तान !

लामो समयदेखि नेपाली खेलकुदमा चर्चा कमाएको नाम हो ‘पारस खड्का’ । सन् २००२ देखि क्रिकेटमा करियर सुरु गरेका खड्काले मंगलबार अप्रत्याशित रुपमा सन्यासको घोषण गरे । पारसले पूर्व योजनाअनुसार नै सन्यास लिएको बताए पनि उनका समर्थक तथा शुभचिन्तकका लागि भने यो अप्रत्यासित थियो । 

सन् २००२ देखि १५ वर्षमुनिको टोलीबाट नेपालका लागि क्रिकेट खेल्न थालेका पारसले २०२० सम्म नेपाली क्रिकेटलाई योगदान दिइरहे । २०२१ मा भएको त्रिकोणात्मक सिरिज भने उनले चोटका कारण गुमाए । 
पारसले क्रिकेटलाई दिएको योगदानका कारण धेरै समर्थकसँगै समर्थकको अथाह माया पनि पाए । चोटका कारण त्रिकोणात्मक सिरिज खेल्न नपाउँदा पनि पारसको नामको पोस्टरसहित त्रिवि क्रिकेट मैदान पुगेका समर्थकले ‘वी मिस यू पारस दाइ’को नारा लगाएका थिए । 

पारसको मिजासिलो स्वभाव अनि बलियो नेतृत्व क्षमताका कारण उनी सबैका प्रिय बने । क्रिकेटमा मात्रै नभएर नेपाली खेलकुदमा नै चर्चित नाम बन्न पुग्यो उनको नाम । तर, अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको निर्णयले समर्थकका साथै नेपाली क्रिकेट टोलीमा रहेका खेलाडीलाई पनि निराश तुल्यायो । 


सबै खेलाडीका लागि सन्यास लिने निर्णय गर्नु सहज हुँदैन नै । प्राय खेलाडी कुनै विशेष खेल वा क्षणको अवसर पारेर सन्यासको घोषणा गर्छन् । तर, पारसले सामान्य रुपमा मंगलबार सन्यास लिने निर्णय गरे । सन्यासको घोषण पश्चात उनले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो इच्छा, सन्यास लिनुको कारण सबै बताए । 

पारसको क्रिकेट यात्रा
सन् २००४ मा सिनियर टोलीमा डेब्यू गरेका पारसले २००९ देखि टोलीको कप्तानी गरे । २००९ देखि २०१९ सम्म उनले नेपाली टोलीको कप्तानी सम्हाले । नेपाली क्रिकेटमा सफल कप्तान कहलाए उनी । 

उनले कप्तानी सम्हाल्दा नेपाल डिभिजन ५ मा थियो । आफ्नो कप्तानीमा उनले नेपाललाई डिभिजन ५ को उपाधि दिलाए । उनकै कप्तानीमा नेपालले डिभिजन ४, ३ को उपाधि जित्दै डिभिजन २ सम्मको यात्रा तय ग¥यो । यहीबीचमा नेपालले सन् २०१४ को टि-२० विश्वकप खेल्ने र सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्ने जस्ता ठूला उपलब्धी हाँसिल गर्यो । 



३३ वर्षको उमेरमा नै सफल र सुखद सन्यास लिए उनले । बुधबार भएको पत्रकार सम्मेलनमा उनले उमेरबारे पत्रकारको प्रश्नमा भने, ‘उमेरले म ३३ वर्षको भएँ होला तर क्रिकेटको बुझाइमा म ५० वर्ष कटिसकेको छु ।’ 
उनको शब्दको अर्थ थियो, उनी एकदमै अनुभवी भइसकेका छन् । ‘२ दशक लामो समयदेखि नेपाली क्रिकेटलाई बुझेको छु’, उनले भने, ‘मैले कप्तानी गर्दै गर्दा सफल नेतृत्वको महत्व कति भन्ने पनि बुझेँ ।’

अब व्यवस्थापकीय तहबाट नेपाली क्रिकेटसँग जोडिने पारसले घोषणा गरेका छन् । सफल नेतृत्वको अनुभव आफूले गरेको र उक्त अनुभवलाई नेपाली क्रिकेटको विकासमा खर्च गर्ने उनले खुलाए । उनले भने, ‘नेपाली क्रिकेटलाई अडिग र नेतृत्ववान व्यक्तिको खाँचो छ ।’ यसो भन्दै आफू नेपाली क्रिकेटसँग सदैव जोडिने प्रतिज्ञा उनले गरे । 
पारसले यसो भन्दै गर्दा समर्थकबाट उनको प्रशंसाको वर्षा हुन थालेको छ । नेपाली क्रिकेटलाई उनले देखाएको माया मैदानमा देख्न नपाए पनि टिमको सुधारमा देख्न पाउने आशासहित फ्यानहरुले खुलेर तारिफ गरेका छन् । 



के भन्छन् त समर्थक ?
‘पारसले क्रिकेट छोड्नु उनको इच्छा थियो तर हामीलाई अझै पनि पारस जस्तो कप्तान र खेलाडीको खाँचो छ ।’ नेपाली क्रिकेटलाई नजिकै बाट नियाली रहेका समर्थक घनश्याम भुसालले भने । 
भुसाल अहिले ५५ वर्षका भए । उनी भन्छन्, ‘पारसभन्दा अगाडि धेरै खेलाडी थिए । शक्ति गौचन पनि नराम्रो खेलाडी होइन । तर, पारसमा भएको नेतृत्व क्षमता अहिलेका कुनै खेलाडीमा छैन ।’

पारसका केही समर्थकले त अब नेपाली क्रिकेट हेर्न जानुको मज्जा नै सकिएको बताएका छन् । तनहुँका सागर पौडेल भन्छन्, ‘पारस दाइ बिना अब नेपाली क्रिकेट हेर्नुको मजा नै सकियो ।’ ‘ही इज दी लेजेन्ड अफ नेपाली क्रिकेट’ यस्तो भन्दै गर्दा उनले अब जति नै राम्रा खेलाडी नेपाली टोलीमा आए पनि पारस खड्काको ठाउँ अर्कोले लिन नसक्ने बताए । 

अर्का १५ वर्षीय समर्थक सुगम भट्ट भन्छन्, ‘पारस दाइ जस्तो खेलाडी आउला तर उहाँ जस्तो कप्तान नेपाली क्रिकेटले कहिल्यै पाउन सक्दैन ।’
पारस खड्काको खेल हेरेर नै आफूले पनि क्रिकेटमा करियर देख्न थालेको उनी बताउँछन् । हाल उनी क्रिकेट एकेडमीमा क्रिकेट पनि सिकिरहेका छन् । 

अर्की समर्थक विपना थापाले त पारसलाई ‘ड्रिम म्यान’ नै भन्न भ्याइन् । उनले ‘पारस दाइ’ सम्बोधन गर्दै उनको नाम र नेपाली क्रिकेटको नाम सधैं जोडिइरहने प्रतिक्रिया दिइन् । विपना भन्छिन्, ‘पारस दाइ नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउने हिरो हो ।’ 
उनी पारस खड्काले आफ्नी पत्नी प्राप्ति राणालाई सोसियल मिडियामा जताउने गरेको प्रेमको त झन् असाध्यै ठूलो फ्यान रहेको बताउँछिन् । उनी आफूलाई पनि पारस जस्तै श्रीमान परोस् भन्ने चाहन्छिन् । 

राष्ट्रिय टोलीका खेलाडीको प्रतिक्रिया !
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लका निकै नजिक थिए पारस खड्का । उनीहरु दुई जनाले १० वर्ष कप्तान र उपकप्तान भएर सहकार्य गरे । उनले पारसको सन्यासपछि एक पोस्ट गर्दै दुखेसो पोखे । 

मल्लले लेखे, ‘तिमीले नेपाली क्रिकेट टोलीको मात्रै हैन देशका लाखौँ जनताका प्रेरणाका स्रोत बनेका छौ । तिमी साच्चै महान नेतृत्वकर्ता र उत्कृष्ट खेलाडी हो । क्रिकेटमा तिम्रो योगदान अतुलनीय छ । तिमीबिना क्रिकेटको मैदानमा प्रवेश गर्न एकदमै कठिन हुनेछ । तिमीले गरेका सबै कुराको लागि धेरै धन्यवाद । हामीले तिमीलाई धेरै याद गर्नेछौँ ।’

त्यस्तै, अर्का खेलाडी कुशल भुर्तेलले पनि पारसलाई धन्यवाद सहित नयाँ सुरुवातको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै कुराको लागि धन्यवाद पारस दाइ । वर्षौँदेखिको समर्पण र प्रतिवद्धताको लागि तपाईलाई धेरै धेरै धन्यवाद । तपाईलाई नयाँ सुरुवातको लागि शुभकामना ।’ 

नेपालका चर्चित युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि लामो स्टाटस राखेर पारसलाई धन्यवाद दिए । 
सन्दीपले लेखे, ‘टि-२० विश्वकप २०१४ मा हङकङविरुद्ध तपाईँको ४१ रन र विकेटले एउटा बालकलाई नेपालको प्रतिनिधित्व गर्ने सपना दियो । त्यो खेल हेरेर क्रिकेट एकेडेमी भर्ना भएँ । हिजो जस्तै लाग्छ तपाईले नामिबिया विरुद्धको खेलमा मिड विकेटबाट पहिलो ओभरका लागि बोलाउनु भएको । उसलाई रमाउन सिकाउनुभयो । यो सबैभन्दा यादगार पल हो । ऊ अझै भगवानप्रति कृतज्ञ छ कि उसले नेपालको महान खेलाडीको कप्तानीमा डेब्यू ग¥यो । तपाईले आफू पछाडि एक महान विरासत बनाएर छोड्नु भयो । एक व्यक्तित्व, जसले नेपाल क्रिकेटलाई सबैथोक दियो । तपाईले अलि चाँडै छोड्नुभएकामा म दुःखी छु, तर तपाईको निर्णयको कदर गर्छु । जीवनको दोस्रो अध्यायका लागि शुभकामना ।’

अर्का खेलाडी वसन्त रेग्मी लेख्छन्, ‘शब्द बिनाको संसार छैन । तर, आज मसँग कुनै शब्द छैन । तिमीले क्रिकेटमा गरेको योगदान सबैलाई अविस्मरणीय छ । सफल सन्यासको शुभकामना ।’
 
राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै पारस खड्कालाई धन्यवाद र आगामी दिनको शुभकामना व्यक्त गरेका छन् । 
ऐरीसँगै विनोद भण्डारी, करण केसी, आरिफ सेख, आशिफ सेखले पनि पारसको सन्यासमा दुखेसो, धन्यवाद र आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन् ।  

नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले पनि आफूले पारसलाई  सम्झिरहने बताए ।

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १७:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया