काठमाडौं उपत्यका घरेलु हिंसामुक्त : तीन वर्षमा एउटा मात्रै घटना !
तर, अधिकारकर्मी भन्छन्– बाहिर मात्र नआएको हो
सांकेतिक तस्बिर

काठमााडौं उपत्यका घरेलु हिंसाको समस्याबाट मुक्त रहेको पाइएको छ । देशभरि घरेलु हिंसाका घटना बढ्दो ग्राफमा रहेको बेला उपत्यकामा भने घरेलु हिंसाको ग्राफ माथि उक्लिन सकेको छैन ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)को आँकडाले काठमाडौं उपत्यकालाई घरेलु हिंसामुक्त रहेको देखाएको छ । महिला तथा बालबालिका सम्बन्धी अपराध शीर्षकको अरु ‘क्लस्टर’मा आपराधिक घटनामा घटबढ भएको देखिए पनि घरेलु हिंसाको अपराध भने अपवादमा मात्रै देखिएको हो । 

अर्थात् पछिल्लो तीन वर्षमा एउटा मात्रै घरेलु हिंसाको अपराध भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको रेकर्ड छ । यद्यपि, देशभरिमा भने घरेलु हिंसाको अपराध २१.२४ प्रतिशतले बढेको प्रहरी मुख्यालयकै तथ्यांक छ । 

यस्ताे छ घरेलु हिंसाकाे देशभरको ​आँकडा

प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०७७–०७८ देशभरि कुल ४० हजार एक सय २४ वटा घटना भएका छन् । जसमध्ये यो वर्षमै १४ हजार दुई सय ३२ वटा घटना घरेलु हिंसाको घटना भएको प्रहरी रेकर्ड छ । 

यसलाई प्रतिशतमा हेर्ने हो भने ३५.४७ प्रतिशत हुन जान्छ । अर्थात्, अन्य अपराधको तुलनामा एक तिहाइभन्दा बढी घरेलु हिंसाको अपराध भएको प्रहरी तथ्यांकबाट पुष्टि भइरहेको छ । 



बितेका आर्थिक वर्षमा पनि घरेलु हिंसाको तथ्यांक अरु अपराधभन्दा बढी नै छ । देशभरिको घरेलु हिंसाको तथ्यांक हेर्ने हो भने ०७६–०७७ मा ११ हजार सात सय ३८ र ०७५–०७६ मा १४ हजार सात सय ७४ वटा घटना भएको तथ्यांक छ । 

यसरी आर्थिक वर्ष ०७६–०७७ मा भएको ११ हजार सात ३८ वटा घटना र ०७७–०७८ मा भएको १४ हजार दुई सय ३२ वटा घटनाको प्रतिशत निकाल्ने हो भने अघिल्लो वर्षसँग तुलनामा २१.२४ घरेलु हिंसाका घटना बढेको देखिन्छ । 



उपत्यकाको तीन वर्षकाे घरेलु हिंसाको आँकडा

काठमाडौं, ललितपुर र भक्तपुरमा गरी तीन वर्षमा एउटा घरेलु हिंसाको अपराध भएको छ । प्रहरी आँकडामा आर्थिक वर्ष ०७५–०७६ देखि ०७७–०७८ सम्ममा जम्मा १ वटा ललितपुरमा घरेलु हिंसाको घटना भएको देखिएको छ । 

प्रहरी तथ्यांकअनुसार उपत्यकामा आर्थिक वर्ष ०७५–०७६ र ०७६–०७७ मा शून्य तथा ०७७–०७८ मा ललितपुरमा एउटा घरेलु हिंसाको घटना भएको प्रहरी तथ्यांक छ ।

उपत्यकामा यो तीन वर्षमा महिला तथा बालबालिकासम्बन्धी अन्य अपराधमा कमी आएको तथ्यांक छ । मेट्रो प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा महिला तथा बालबालिकासम्बन्धी अपराध २०.४१ घटेको तथ्यांक छ । 

प्रहरीले छुट्याएका मुद्दाका आठ शीर्षकमध्ये महिला तथा बालबालिकासम्बन्धीको एउटा शीर्षक हो, जसमा १९ प्रकारका महिलासँग सम्बन्धित अपराधका उप–शीर्षक छन् । जुनमध्ये एक हो, घरेलु हिंसाको अपराध ।

किन घटना नै नभएको ?

प्रहरीको घरेलु हिंसाको तथ्यांकले सबैलाई चकित बनाएको छ । धेरैको मनमा शंका उत्पन्न भएको छ कि प्रहरीको यो तथ्यांक नै गलत छ । तर, प्रहरी भन्छ, होइन तथ्यांक सही छ । 

उपत्यकामा घरेलु हिंसाका घटना नहुनुको पछाडि धेरै कारण रहेको प्रहरी दाबी छ । मेट्रो प्रहरी कार्यालय प्रमुख एआइजी हरिबहादुर पालले उपत्यकामा धेरै शिक्षित वर्गको बसोबास रहेकोले घरेलु हिंसा कम हुने गरेको पाइएको जनाए ।

‘उपत्यकामा बस्ने अधिकांश व्यक्तिहरु शिक्षित हुन्छन्, बेरोजगार हुँदैनन् । सबै काममा व्यस्त रहने भएकाले यहाँ आपसी झै–झगडा त्यति हुँदैन, जुन कारणले यहाँ घरेलु हिंसाका घटना नभएको हो । तर, गाउँघरतिर धेरै बेरोजगारी हुन्छ,’ उनी भन्छन्,‘जाँड–रक्सी पनि अत्यधिक सेवन गर्ने हुन्छन्, जसको कारणले झै–झगडा पनि उत्तिकै हुन्छ । मूलतः यही कारणले बाहिरी जिल्लातिर बढी घरेलु हिंसाका घटना हुने गरेको छ ।’

रिपोर्टिङ कम : महिला अधिकारीकर्मी बस्नेत

उपत्यकामा देखिएको घरेलु हिंसासम्बन्धी प्रहरी तथ्यांक चित्तबुझ्दो नरहेको महिला अधिकारीवादीको दाबी छ । उनीहरुका अनुसार उपत्यकामा त झन् धेरै घरेलु हिंसाका घटना हुने गरेको छ, खाली बाहिर मात्र नआएको हो । 

महिला अधिकार संरक्षणका लागि वकालत गर्ने अधिकारकर्मी बबिता बस्नेतले सहरमा धेरै घटना भए पनि कम रिपोर्टिङमा आएकोले संख्या नदेखिएको बताइन् । 

उनी भन्छिन्, ‘यदि यो तथ्यांक सही हो भने हामीले सहरका मान्छेका बारेमा जे सोचेका हुन्छौँ, जस्तो कि सहरका मान्छे सचेत हुन्छन्, चेतनशील हुन्छ । त्यो कुरा यो तथ्यांकले गलत साबित गरिरहेको छ । 

किनकि उपत्यकामा पनि धेरै घटना हुने गर्छ, उनले भनिन्, ‘तर त्यो रिपोर्टिङ नआउँदो रहेछ, जसले गर्दा प्रस्ट भइरहेको छ कि सहरका मान्छे कस्ता छन् ।’ अर्थात् सहरमा घरेलु हिंसाका घटना पर्दाभित्रको मौनता रहेको छ,’ उनले भनिन् । 

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १७:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया