नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् । नेता नेपालले पार्टीभित्रका समस्या सुल्झाएर एकता चाहेको बताएका हुन् ।
वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी भित्र समस्या पैदा गरेको उल्लेख गर्दैै ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका हुन् ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे ।
नेपालले भने, ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरू देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र, हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा प¥यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौँ । तर, के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौँ ? हामी हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौँ ।’
वरिष्ठ नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पु¥याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।
वरिष्ठ नेता नेपालले आफूभित्र रहेका त्रुटिहरु स्वीकार गरेर अघि बढने आँट गर्न पनि आग्रह गरे । नेपालले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔँ ।’
वरिष्ठ नेता नेपालले सिंगो कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।