कोरोनाको डेल्टा भेरियन्टको निशानामा युवा

पछिल्लो समय नेपालका कतिपय अस्पताल कोरोना संक्रमित युवाको संख्या बढेको देखिएको छ । र, संक्रमणमा परेको ज्येष्ठ नागरिकको मृत्यु संख्या पनि वृद्धि हुन थालेको छ । चिकित्सकहरु अहिले नेपालमा कोरोनाको तेस्रो लहर फैलिरहेको बताउँछन् । यो लहर तुलनात्मक रुपमा घातक रहेको संक्रामक रोग विशेषज्ञहरूको भनाइ छ । 

कतिपय अवस्थामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आइसकेपछि झनै गम्भीर विरामी हुने गरेको समेत पाइएको छ । पोस्ट कोभिड संक्रमणको असरले यस्तो हुने गरेको चिकित्सकहरु बताउँछन् ।

कोरोनाको डेल्टा भेरियन्टले महामारीको सुरुआतको तुलनामा अस्पतालमा ठूलो संख्यामा युवा भर्ना हुने क्रम विश्वभरि नै बढेको छ । यो अवस्था बढी मात्रामा अस्ट्रेलियामा देखिएको छ । न्यू साउथ वेल्समा जुलाई १३ देखि १७ का बीच सबैभन्दा बढी ३० देखि ४९ वर्ष उमेरका मानिस अस्पताल भर्ना भए । 


डेल्टा भेरियन्टका कारण त्यहाँ अस्पताल भर्ना हुने युवा २६ प्रतिशत रहेका छन् । यसको कारण के होला भनी कतिपय वैज्ञानिकहरुले शोध गरेका छन् । उनीहरुका अनुसार, युवाले कम मात्रै भ्याक्सिन लगाउन पाएका छन् । साथै, युवा उमेरका व्यक्तिहरुको घुमफिर र भेटघाट पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । यसकारण पनि डेल्टा भेरियन्टको निशानामा युवा वर्ग परेका हुन् । 

हामीले अस्ट्रेलियामा महामारी सुरु भएपश्चातको आँकडा हेर्यौ. भने,  २० देखि २९ वर्ष उमेरका युवाको संख्या सबैभन्दा बढी अर्थात् २२ प्रतिशत रहेको देखिन्छ । न्यू साउथ वेल्समा बिहीबार दर्ता भएका नयाँ संक्रमितमा ६७ प्रतिशत ४० वर्षभन्दा कम उमेरका थिए । 

विश्लेषकहरुका अनुसार, ४० वर्षमुनिका मानिसहरु ज्यादा सामाजिक सम्पर्क राख्छन्, त्यसैले तिनमा अधिक संक्रमणको जोखिम हुन गएको हो । संसारका अधिकांश देशका सरकारले भ्याक्सिन लगाउन प्राथमिकतामा युवालाई राखेको छैन । यही कारण संक्रमित पनि युवा र मृत्यु पनि युवाकै भएको चिकित्सकहरु बताउँछन् । 



ज्येष्ठ नागरिकको मृत्यु अधिक
काठमाडौंको एक अस्पतालमा कोरोना उपचारका लागि भर्ना भएका एक ज्येष्ठ नागरिक तन्दुरुस्त भएपछि डिस्चार्ज भए । साता नबित्दै उनलाई पुनः कोरोनाको जस्तै लक्षण देखिन थाल्यो । अस्पताल गएर पिसिआर जाँच गराउँदा रिपोर्ट नेगेटिभ आयो । तर, उनलाई अक्सिजन कमी हुनुका साथै निमोनिया भएकाले अस्पताल भर्ना गरियो । तेस्रो दिन उनको मृत्यु भएपछि चिकित्सकहरु भने– कोरोनाले उनको फोक्सो पहिले नै खराब बनाइसकेको थियो । यो पोस्ट कोरोना असर हो ।

गत वर्ष विश्लेषकहरुले के पत्ता लगाए भने, ज्येष्ठ नागरिकलाई संक्रमणले बढी असर गर्छ र ज्यानै लिन सक्छ । त्यसो त उमेर ढल्किएका मानिसलाई अन्य संक्रामक रोगले पनि निकै असर गर्छ । गत वर्षको अन्त्यमा प्रकाशित एक समीक्षामा ढल्कँदो उमेरसँगै संक्रमणबाट हुने मृत्युदर ह्वात्तै बढेको देखाइएको थियो ।



पहिला नै उच्च रक्तचाप, सुगर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमा संक्रमणको असर अधिक देखिएको छ । कोरोनाको सामान्य लक्षण देखिनासाथ चिकित्सकको निगरानी र उपचार हुन सक्दा मृत्युदर निकै कम हुने वैज्ञानिकहरु बताउँछन् । सामाजिक दूरी, मास्क, हात धुने तथा स्यानिटाइजरको प्रयोगजस्ता उपायलाई संसारभर अनुकरण गरिरहनुको विकल्प नभएको उनीहरुको भनाइ छ । (एजेन्सीको सहयोगमा) 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १७:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया