सडक भत्किँदा खच्चरबाट प्याज ढुवानी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनीमा उत्पादित प्याज खच्चरबाट ढुवानी गर्न सुरु गरिएको छ । सडक भत्किएका कारण कृषि ज्ञान केन्द्र बाजुराले खच्चरमार्फत प्याज ढुवानी सुरु गरेको हो ।

जिल्ला सदरमुकाम मार्तडीसम्म खच्चरमार्फत प्याज ढुवानी भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जोशीले बताए । बाढी–पहिरोका कारण क्षतविक्षत् बनेको सडकको मर्मतसम्भार नहुँदा खच्चडबाट पनि मुस्किलले ढुवानी गर्नुपरेको सूचना अधिकारी जोशीले बताए । बाहुनीमा यो वर्ष ४ सय क्विन्टलभन्दा बढी प्याज उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्र बाजुराले एक किलोको ४५ रुपैयाँमा किसानसँग सम्झौता गरी ढुवानी प्रक्रिया सुरु गरेको हो । पहिलो चरणमा १२ क्विन्टल प्याज स्वामीकार्तिक खापर गाउँपालिकाबाट ढुवानी गरेको र बाँकी दोस्रो चरणमा ढुवानी गर्ने तयारी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

वर्षायामको बाढी र पहिरोका कारण मार्तडी कोल्टी सडक र कर्णाली करिडोर सडकमा अवरोध भएसँगै किसानले उत्पादन गरेका सामग्री ढुवानीमा समस्या भएको छ ।

घरमा भण्डारण गर्दा प्याज कुहिन थालेपछि निराश बनेका किसान प्याजले बजार पाउने भएपछि स्थानीय खुसी भएका छन् । खेतबाट निकालेको करिब एक महिनासम्म प्याजले बजार नपाएपछि उनीहरु चिन्तित भएका थिए । 

प्याज खेतीमा किसान आकर्षित



बाजुरामा पछिल्लो समय प्याज खेतीतर्फ किसान आकर्षित छन् । खाद्यान्न बाली छाडेर नगदे बालीतर्फ किसान आकर्षित भएका हुन् ।

तर, बजार नहुँदा समस्या हुने गरेको गुनासो उनीहरुले गर्दै आएका छन् । बाजुरा सदरमुकाम जोड्ने राजमार्ग बर्खायाममा बन्द हुँदा किसानलाई बजारमा पुर्याउन समस्या हुने गरेको हो ।



‘स्थानीय बजारमा प्याज खपत छैन’, स्वामीकार्तिक खापर गाउँपालिका–१ का हंशबहादुर विकले भने । ‘टाढा लिएर जाऊँ भने बाटो नै हुँदैन’ द्वारीको पहिरोले गर्दा ७ वर्षदेखि सदरमुकाम जाने सडक अवरुद्ध हुँदै आएको छ ।

‘खाद्यान्न भएको भए केही भकारीमा राख्थ्यौँ । केही खान्थ्यौँ । तर, प्याज खानाका रुपमा प्रयोग गर्न पनि नमिल्ने,’ उनले भने, ‘गहुँ फल्ने खेतमा प्याज रोपेर बजार नहुँदा समस्या हुने गरेको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत आर्थिक वर्षमा स्वामीकार्तिक खापर गाउँपालिका–१ बाहुनीलाई प्याजको पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम आएपछि गाउँलेले १२ हेक्टर जमिनमा प्याज खेती लगाएका थिए । 

गाउँका एक दुईजनाले मात्र होइन, पूरै ४० परिवारले प्याज खेती गरेका थिए । ‘अन्न फल्ने खेतभरी प्याज लगाएका थियौँ, धेरै फल्यो बजारीकरणको समस्या भएको छ,’ अर्का किसान सतल विकले भने, ‘गाउँमा धेरै प्याज कुहियो । बाँकी रहेको प्याजसमेत कुहिने हो कि भन्ने चिन्ता बढेको छ ।’ 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १८:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया