एसइईमा अंक बढाउन प्रधानाध्यापकले १५ हजार रुपैयाँ मागेको विद्यार्थीको आरोप

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अंक बढाउनका लागि विद्यार्थीले पैसा नदिँदा जनकपुरधामका एक निजी विद्यालयले मूल्यांकन कमजोर पठाएर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गरेको आरोप लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ थापाचोकस्थित युनाइटेड एकेडमी विद्यालयले एसइई परीक्षामा राम्रो मूल्यांकन पठाउनका लागि १५ हजार रुपैयाँ मागेको र  विद्यार्थीहरूले त्यो पैसा नदिँदा करिब २९ जना विद्यार्थीको मूल्यांकन कमजोर पठाइ सबै विद्यार्थीको उच्च शिक्षाको सपनामाथि तुषारापात गरेको आरोप लागेको हो ।

भर्खरै सार्वजनिक भएको एसइईको नतिजामा सो विद्यालयबाट एसइईका लागि फारम भरेका सबै विद्यार्थीको ग्रेड ‘सी प्लस’ आएको र विज्ञान लगायतका विषय पढ्नबाट वञ्चित गरी विद्यालयले भविष्यसँग खेलबाड गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् । 

विद्यार्थीहरूले सोमबार कमजोर मूल्यांकन गरेको विरोधमा विद्यालय घेराउ गरी मूल गेटमा ताला समेत लगाएका छन् । उनीहरूका अनुसार मूल्याङ्कनभन्दा पहिले विद्यार्थी, विद्यार्थीको अभिभावक र शिक्षकहरूबीच बसेको बैठकमा विद्यालयका प्रिन्सिपल कुशे यादवले विद्यार्थीहरूको मूल्यांकन बढाएर उच्च ग्रेड ल्याउनका लागि प्रति विद्यार्थी १५ हजार रुपैयाँ माग गरेका थिए ।

तर अभिभावकहरूले आफूहरूले विद्यार्थीको विभिन्न शुल्कहरू तिर्दै आएकाले प्रधानाध्यापक यादवले माग गरेको पैसा दिनबाट अस्वीकार गरेका थिए । यता रिजल्ट सार्वजनिक भएपछि सो विद्यालयका २९ जना विद्यार्थीको रिजल्ट कमजोर आएको र यसबाट उच्च शिक्षामा विज्ञान विषय पढ्नबाट वञ्चित भई भविष्य नै अन्धकार भएको भन्दै विद्यालयविरुद्ध अदालत जाने उनीहरूले चेतावनी समेत दिएका छन् ।

सो विद्यालयसँग १० कक्षा पढाउनका लागि अनुमतिसमेत नरहेको बताइएको छ । विद्यालयले धनुषाको कटरैतस्थित सामुदायिक विद्यालयबाट विद्यार्थीसँग परीक्षा दिन लगाएका थियाे । यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक कुशे यादवले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । उनले आफूले कुनै विद्यार्थीसँग एसइईमा अंक बढाउनका लागि पैसा माग नगरेको दाबी गरेका छन्।



यसअघि हिजोमात्रै धनुषाको विदेह नगरपालिका वडा नम्बर-१ ठाढीस्थित मावि ठाढीका प्रधानाध्यापक उमेश पाण्डेले एसइई दिने विद्यार्थीसँग आन्तरिक मूल्यांकनमा अधिक नम्बर दिने प्रतिबद्धता जनाउँदै प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिएको आरोप लागेको थियो । पछि  रिजल्ट प्रकाशित हुँदा कम ग्रेड आएको भन्दै विद्यार्थीहरूले उनको घर समेत घेराउ गरेका थिए । 

२०७७ सालको एसइई परीक्षाका लागि कोरोनाको कारण देखाउँदै सरकारले आन्तरिक मूल्यांकन गरी नम्बर पठाउन निर्देशन दिएपछि अधिकांश विद्यालयले आर्थिक चलखेल गरी नम्बर दिएको आरोप छ । 



कोरानाको महामारी भन्दै सरकारले भौतिक रूपमा परीक्षार्थीहरूलाई उपस्थित गराउने अवस्था नरहेकोले विद्यालयहरूलाई आन्तरिक मुल्यांकन गरी अंक पठाउन पत्राचार गरेको थियो ।

  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १६:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया