युट्युबमा अभिनेत्रीहरूका भान्छाघर

अभिनेत्री प्रियंका कार्की हिजोआज युट्युबमा बाक्लै भेटिन्छिन् । उनी युट्युबको किचेनमा निकै व्यस्त छिन् । गर्भिणी कार्की आफैं भान्छे हुन्छिन् र विभिन्न परिकार बनाउँछिन् । उनले आफ्नै युट्युब च्यानलमा  ‘चप-चप डायरिज’ नामक कार्यक्रम नै सञ्चालन गर्दै आएकी छन् ।

उनको ‘चप-चप डायरिज’मा विभिन्न परिकार पाक्छन् । उनी यसमार्फत आफ्ना दर्शकलाई विभिन्न परिकार बनाउने विधि सिकाउँछिन् । उनले बनाएका परिकार चाख्न हरेक दिन फरकफरक अभिनेत्रीलाई बोलाइरहेकी हुन्छिन् । किचेनमा उनलाई उनका श्रीमान् आयुषमान देशराज जोशीले सघाइरहेका हुन्छन् । पछिल्लो समयकी नम्बर वान अभिनेत्री हुन प्रियंका । तर, दुई वर्षदेखि चलचित्र बजार ठप्प छ । उनले गर्भवती भएको समयको सदुपयोग गर्दै युट्युवमार्फत आफूमा रहेको पाककलाको सीप अरूलाई बाँडिरहेकी छन् । ‘चप-चप डायरिज’मा प्रियंका र आयुष्मानको रमाइलो संवाद सुन्दै पाककला सिक्न सकिन्छ । 

अभिनेत्री ऋचा शर्मा पनि युट्युबको भान्छामा भेटिने अभिनेत्री हुन । ऋचाले आफ्नै नामको युट्युब च्यानल सञ्चालन गर्दै आएकी छन् । उनी त्यही च्यानलमा विभिन्न पाककलाका सीप लिएर उपस्थित हुने गरेकी छन् । ऋचाको भान्छामा नेपाली मौलिक खानाको स्वाद चाख्न सकिन्छ । उनको भान्छामा नेपाली मौलिक परिकार राइता, चरा साँधेको, पानरोटी, कालो दाल र भुटेको भातलगायतका परिकारको स्वाद चाख्न सकिन्छ । उनी सबै परिकार आफ्नै शैलीमा बनाउँछिन् । भिडियोमा सामान्य रुपमा प्रस्तुत हुने ऋचा सकेसम्म नेपाली भाषामै बोलिरहेकी हुन्छिन् । सामान्य महिलाले पनि बुझने गरी पाककला सिकाइरहेकी ऋचाको शैलीलाई धेरैले मन पराएका छन् ।

ऋचाको एउटै उद्देश्य हो, आफ्नै भान्छामा भएका सामान प्रयोग गरेर सबैले मीठो परिकार बनाउन सकून् । त्यसैले पनि उनले सामान्य तरिकाबाट पाककला सिकाइरहेकी हुन्छिन् । भिडियोमा धेरै तडकभडक नगरी उनी सीधै परिकार तयार गर्न चाहिने सामग्री र त्यसलाई बनाउने विधि सिकाउँछिन् ।

लामो समय नेपाली चलचित्र क्षेत्रमा राज गरेकी अभिनेत्री हुन् करिश्मा मानन्धर । सिने उद्योगमा सदाबहार अभिनेत्रीको ट्याग पाएकी यी अभिनेत्री पनि हिजोआज युट्युबमा भेटिन्छिन् । करिष्माको भान्छामा पनि थरिथरिका परिकार पाक्छन् । उनी ती परिकार बनाउने विधि आफ्ना दर्शकमाझ बाँड्छिन् । करिश्माको पनि पाककला सिकाउने आफ्नै शैली छ । उनी धेरैजसो आफ्नी हजुरआमाले परिकार बनाउने शैली अपनाउँछिन् । कहिलेकाहीँ भने पछिल्लो समय आममानिसको भान्छामा प्रयोग हुने पकवान बनाइरहेकी हुन्छिन् । करिश्मा परिकार मात्रै बनाउँदिनन्, आफ्नो खानपान र स्वास्थ्यका बारेमा पनि चर्चा गर्छिन् । अरुलाई पनि स्वस्थ खानपानका लागि आग्रह गर्छिन् । करिश्माको यो च्यानलमा भान्छा मात्रै भेटिँदैन, सँगै भेटिन्छ उनको मेकअप रुम पनि । कहिलेकाहीँ देशका विभिन्न स्थानमा घुमफिर र रमाइलो गर्दै ती ठाउँहरूका बारेमा  जानकारी दिन्छिन् । आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत गर्छिन् ।

करिश्माकै समयकी चर्चित अभिनेत्री विपना थापा हिजोआज नेपाली चलचित्रमा छैनिन् । फिल्ममा राम्रो क्रेज हुँदाहुँदै उनी बिहे गरेर मुम्बई पुगिन् । घरव्यवहारमै रमाइन् । केही वर्षयता नेपाल आउँदा नेपाली चलचित्रका कार्यक्रममा सामेल हुने, चलचित्रको चर्चा गर्ने, मिडियाकर्मीसँग भेटघाट गर्ने यी अभिनेत्री पनि युट्युबमा भेटिन्छिन् ।



आफ्नै नामको युट्युब च्यानल चलाउँदै आएकी विपना युट्युबमै ‘भान्छाघर’ सञ्चालन गर्छिन् । विपनाको भान्छाघरमा पनि विभिन्न किसिमका परिकार पाक्छन् । उनी सजिलोसँग परिकार बनाउन दर्शकलाई सिकाइरहेकी हुन्छिन् । विपनाको भान्छाघरमा बेलाबेला पाहुनासमेत देखिन्छन् । उनी आगन्तुकसँग भान्छा साझेदारी पनि गरिरहेकी हुन्छिन् ।

भान्छाघरमा उपलब्ध पाहुनासँग रमाइलो कुराकानी गर्छिन् उनी । रमाइलो गर्दै परिकार बनाउन सिकाउँछिन् । परिकारका बारेमा आफूलाई थाहा भएको जानकारी सबैसँग सेयर गर्छिन् । विपनाको भान्छा घर पनि निकै दर्शकले रुचाएका छन् ।
 



  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ७:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया