महाकाली तुइन घटना : दार्चुलाबाट फर्कियो छानबिन टोली
ड्रोन क्यामरा प्रयोगबारे भारतीय पक्ष मौन

साउन १५ गते तुइनबाट खसेर जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न दार्चुला पुगेको टोली फर्किएको छ । 

भारतीय एसएसबीले तुइन काटेका कारण धामी वेपत्ता भएको स्थानीयले दावी गर्दै आएका छन् । छानबिन टोलीले के कारण धामी बेपत्ता भएको हो भनी निष्कर्ष निकालेको छैन। 

आठ दिनको दार्चुला बसाइपछि टोली फर्किएको हो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबिन समिति मंगलबार घटनाबारे थप बुझ्न बैतडी पुगेको छ ।

समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र बेपत्ता जयसिंहको खोजीका लागि सम्बन्धित जिल्लासँग सहकार्यका लागि समन्वय गर्न अनुरोध गर्नेछ । 

टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्नेछन । जयसिंहको डेथ बडी खोज्न ड्रोन क्यामरा सहितको नेपाल प्रहरीको प्राविधिक टोली दार्चुलामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगका लागि अनुमति दिने–नदिने बारेमा जवाफ पठाएको छैन।

सुरक्षा स्रोतका अनुसार भारतले पत्रबारे लिखित मौखिक जवाफ दिएको छैन। ड्रोन क्यामरा नेपालतिरकै भू-भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी छ । सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाइसक्नु पर्नेछ 



समितिले अझै काम सकेको छैन । ‘छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाण्डौं फर्किएको छ’ छानबिन समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन् ।

सीमा क्षेत्रमा ड्रोन क्यामरा उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामरा लिएर टोली आइतबार मात्रै दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटदेखि सदरमुकाम खलंगासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गरिने छ । 



सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

समितिले दार्चुलामा बस्दा नेपाल भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गरेको थियो । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल गर्दै सूचना संकलन गरेको हो ।

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ११:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया