नेपाल खेलकुद महसंघले मंगलबार पत्रकार सम्मेलन गर्दै खेल जीवनबाट सन्न्यास लिइसकेका खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्न माग गरेको छ ।
‘देशका लागि आफ्नो जीवन समर्पण गरेका खेलाडीको भविष्य सुनिश्चित गर्न हामीले आवाज उठाएका छौँ,’ महासंघका अध्यक्ष रमेश पौडेलले भने,‘त्यसका लागि खेल जीवनबाट सन्न्यास लिएका खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्नुपर्छ ।’
महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर भदौ १४ देखि खेल जागरणका लागि ‘बृहत् मेचीकाली अभियान’ सुरु गर्ने भएको छ ।
झापाको काँकडभित्ताबाट सुरु हुने यो अभियानको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अभियानको विस्तृत जानकारी भनेपछि दिइने महासंघले जनाएको छ ।
महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हाल करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत प्रशिक्षक तथा प्रशासनिक कर्मचारीको अधिकार सुनिश्चित गर्न माग राखेको छ ।
उनीहरुलाई स्वतः स्थायी गरी सेवा निवृत्तिभरणसमेत दिनुपर्ने महासंघको माग छ ।
देशभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षक नियुक्त गर्न माग राख्दै त्यसका लागि दबाब सिर्जना गर्न नेपाल सरकार तथा सम्बद्ध निकायहरुमा ज्ञापन पत्र बुझाउने महासंघले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।