३२औं गृष्मकालीन ओलम्पिकमा चीनको सहभागिता अविस्मरणीय रहन पुगेको छ । यस पटकको ओलम्पिकमा खेलको १५ औं दिनसम्म अग्रता लिएको चीन अन्तिम दिन भने दोस्रोमा खुम्चिन पुग्यो । अमेरिकाले अन्तिम दिन चीनलाई पदक तालिकामा पछाडि पारेको हो ।
चीनको चर्चित टेलिभिजन स्टेसन सिजिटिएनले ट्विटरमा चीनको सम्पूर्ण खेल सकिएको बताएको थियो । चीनले ३८ स्वर्णसहित ओलम्पिक टुंग्यायो । चीनले ३२ रजत र १८ कास्यसमेत जम्मा ८८ वटा पदक आफ्नो नाममा दर्ता गरेको छ । चीन आफैंले आयोजना गरेको ८औं ओलम्पिकमा भने पहिलो स्थानमा रहेको थियो ।
पदक तालिकाको होडमा २०१६ को रियो ओलम्पिकमा पनि चीन तेस्रो स्थानमा थियो । २०१२ मा लन्डनमा भएको ओलम्पिकमा दोस्रो भएको थियो । त्यस्तै, २००४ मा पनि अमेरिकाले चीनलाई पछि पारेको थियो । २००० मा भएको ओलम्पिकमा भने चीन तेस्रो स्थानमा खुम्चिएको थियो ।
पछिल्लो समय अत्यधिक चर्चाको विषय बन्न पुग्यो चीनका खेलाडीले पाएका पदक । खेलाडीले पदक जितेर मात्रै हुँदैन, खेललाई समग्रतामा हेर्नुपर्ने खेलविद्हरु बताउँछन् ।
स्वर्ण नजितेका खेलाडीलाई होच्याउने तथा हेप्ने सन्दर्भमा बीबीसीमा प्रकाशित समाचारले चीनका खेलाडीमा रहेको स्वर्ण दबाब खुल्न गएको थियो । यति हुँदाहुँदै पनि २००८ मा आयोजक हुँदा चीनले पदक तालिकाको शीर्षमा रहने मौका पाएको थियो ।
ओलम्पिकको शीर्षमा प्रायः अमेरिका
गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण सकिँदा अमेरिका शीर्षमा रहन पुग्यो । १८९६ बाट सुरु भएको गृष्मकालीन ओलम्पिकमा प्रायः शीर्षस्थानमा रहन सफल हुने एक मात्र देश हो अमेरिका ।
१८९६ को पहिलो संस्करणमा पनि अमेरिकाले ११ स्वर्ण, ७ रजत र २ कास्यसहित पहिलो स्थानमा रहेको थियो । अमेरिकाले पहिलो संस्करणदेखि नै हालसम्म पनि प्रायः शीर्षमा स्थान बनाइरहेको छ । ओलम्पिकको इतिहासको पछिल्ला संस्करणहरु हेर्ने हो भने, पहिलोमा अमेरिका र दोस्रोमा चीन हुने परम्परा कायम छ ।
स्वर्ण नजित्दा चिनियाँ खेलाडी आलोचित
२००८ मा चीनले घरेलु मैदानमा ओलम्पिक आयोजना गर्याे । त्यो ओलम्पिक चीनको लागि भाग्यशाली बन्यो । त्यसबेला चीनले ५१ स्वर्ण हात पारेको थियो । अमेरिकालाई पछि पार्दै पदक तालिकाको शीर्षमा रहेको चीन अन्य वर्ष भने अमेरिकाबाट थिचियो ।
चीनमा खेलाडी उत्पादन सानै उमेरदेखि सुरु हुन्छ । कुनै एउटा खेलमा खेलाडी उत्पादन गर्न चीनले ७ देखि ८ वर्ष लगाउने गर्छ । त्यहाँ रजत र कास्य पदक जित्ने खेलाडीले भने अपमान सहनु परेको बीबीसीले समाचार प्रकाशित गरेको थियो ।
चीनको मिड डबल्सको टोलीले रजत पदक हात पार्याे । रजत हात पारेपछि खेलाडी लिउ साइवेनले मिडियासँग भनेकी थिइन्, ‘मैले मेरो देशको शीर निहुराएको महसुस भइरहेको छ, म सबैसँग माफी माग्न चाहन्छु ।’
उनका सबै टोलीले रजत जित्दा आँसु चुहाएका थिए । उनका सहकर्मीले समेत ‘पूरै देशको नजर भएका कारण चिनियाँ टोलीले यो नतिजा स्वीकार गर्न सक्दैन’ भन्ने प्रतिक्रिया दिएका थिए ।
चिनियाँ टोली जापानसँग पराजित भएको थियो । उक्त खेलमा हार व्यहोरेका कारण चिनियाँ नागरिकले सामाजिक सञ्जालमा आक्रोश समेत पोखे । चिनियाँ समाजिक सञ्जाल विवोमा धेरैले मिक्स डबल्स टेनिसका जोडीले देशको शीर झुकाएको प्रतिक्रिया दिएका थिए ।
चीनका खेलाडीले स्वर्ण नजित्दा देशलाई धोका दिएको आरोप समेत खेप्नुपर्छ । पछिल्लो समय चीन र जापानको राजनीतिक सम्बन्धमा आएको खटपटका कारण र आफ्नो देशका खेलाडीले जापानसँग पराजित हुनु परेको आक्रोश जनताले सामाजिक सञ्जालमार्फत् पोखेका हुन् ।
नेदरल्यान्ड्सका लिडेन एसिया सेन्टरका डा. फ्लोरियन स्नाइडर भन्छन्, ‘चिनियाँ जनताको एक तहको लागि ओलम्पिक पदकको सूची देशको क्षमता र प्रतिष्ठाको प्रतिबिम्ब हो ।’ यस्ता प्रतिक्रियाको सिकार यस पटक भने स्वर्ण पदक विजेता पनि बनेका छन् । सार्पसुटर याङ कियानले ओलम्पिकमा स्वर्ण जित्दा समेत उनले विदेशी जुत्ता लगाएकोमा आलोचना भएको थियो ।
नेपाल पदकविहीन हुँदा पनि खेलाडीलाई सम्मान
ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान भनछन्, ‘देशको नाम जोडिएका खेलाडीलाई हतोत्साहित गर्नु कदापि उचित होइन । खेलाडीको सम्मान हुनुपर्छ चाहे पदक जितोस् या हारोस् ।’ उनी थप्छन्, ‘चीन जस्तो देशले खेलाडीलाई हरेकखाले सुविधा दिएको हुन्छ । त्यसैले चीनले धेरै स्वर्ण र पहिलो हुने अपेक्षा राख्नु स्वाभाविक हो ।’
नेपालमा खेलाडीलाई दिनुपर्ने पर्याप्त सुविधा नभएका कारण पदकबाट वञ्चित भएको उनको भनाइ छ । ‘खेलाडीबाट पदकको आश गर्नु गलत हो,’ उनी भन्छन्, ‘तर, चीनले हरेक प्रयास गरेको हुन्छ । ओलम्पिकमा खेलाडी होइन खेलाडीको रुपमा देशले खेलिरहेको हुन्छ । त्यसैले हरेक खेलाडीको हार र जितमा देशको प्रतिक्रिया आउनु स्वाभाविक हो ।’
नेपालका खेलाडीलाई सेवासुविधा कम भएका कारण ओलम्पिकमा भाग लिन पाउनु नै ठूलो कुरा रहेको उनको भनाइ छ । ‘नेपालका खेलाडीले राष्ट्रिय रेकर्ड सुधार गर्छ भने नेपाल र नेपालीले प्रशंसा गर्नुपर्छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।