[टिप्पणी] प्रधानमन्त्री देउवाको हानिकारक निश्चिन्ता

देशको जेठो र आफूलाई एकमात्र लोकतान्त्रिक दल भनेर दाबी गर्ने नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर भएको अहिले मात्र होइन । यसका शीर्ष नेताहरूको अलोकतान्त्रिक चरित्र धेरै अघिदेखि नै देखिँदै आएको हो । तुलना नै गर्ने हो भने पनि कम्युनिस्टको फुँदा जोडेको पार्टी नेकपा एमालेको आन्तरिक लोकतन्त्रमा कांग्रेसभन्दा अगाडि छ ।

सन्दर्भ भदौ १६ मा हुनुपर्ने १४ औँ महाधिवेशनको हो । महाधिवेशन संघारैमा आइसक्दा पनि यसका जिम्मेवार नेतालाई न विकल्प खोज्ने चिन्ता छ न त पार्टीको वैधानिकता जोगाउने उपाय खोज्ने नै ! नेपाली कांग्रेसकाे विधानमा महाधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने उल्लेख छ । यो पार्टीले १३ औँ महाधिवेशन सम्पन्न गरेको आगामी भदौ २३ गते साढे पाँच वर्ष पुग्दै छ । राजनीतिक दलसम्बन्धी ऐनले महाधिवेशन बढीमा ६ महिना पर धकेल्न ५० हजार जरिवाना तिर्नुपर्छ । कांग्रेससँग अब त्यो विकल्प पनि बाँकी छैन ।

विकल्पहीन बन्दै गएको कांग्रेसका केही नेताहरूले यतिखेर विशेष महाधिवेशनको कार्ड फालेका छन् । त्यो कार्ड बोकेर आइतबार थुप्रै नेताहरूको घरदैलोमा पुगे पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल । तर, सोमबारसम्मको प्रगति हेर्ने हो भने पौडेलको विशेष महाधिवेशन कार्डमा विश्वास गर्ने नेता खासै देखिँदैनन् । पौडेलले विशेष महाधिवेशनको कार्ड अघि सार्नुको कारण पनि पार्टीलाई पर्न आएको वैधानिक संकट टार्न होइन, आफू सभापति बन्न हो । उनले आइतबार पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासँग गरेको संवादले पनि पौडेलको विशेष महाधिवेशन कार्डको उद्देश्य स्पष्ट हुन्छ । उनले सिटौलालाई विशेष महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह मात्र गरेनन्, दुई वर्षपछि तपाईंलाई म मद्दत गर्छुसम्म भन्न भ्याए ।

महाधिवेशन हुँदा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा निकै अघि नै पौडेलले गरिसकेका हुन् । यसअघि पनि उनको सभापति सपना तुहिएकै हो । त्यो सपना पूरा गर्न उनी हरदम तयार भएर बसेका छन् । उनले विशेष महाधिवेशनलाई आफू सभापति बन्ने विशेष अवसर ठानेका छन् । कथंकदाचित् विशेष महाधिवेशन नै भयो भने पनि पौडेल सभापति बन्छन् भन्ने ठोस आधार छैन । त्यो अवस्थामा पनि वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने पक्का छ।

देउवा विशेष महाधिवेशन मात्र होइन, आवधिक महाधिवेशनका बारेमा पनि चुपचाप छन् । उनले महाधिवेशनको तिथि पर सार्न अनेक उपाय खोजिरहेका छन् र केही मानिससँग सल्लाह पनि गरिरहेका छन् । कोरोनाको पहिलो लकडाउनको अवस्थालाई शून्य अवधि मान्न पाउने हो भने भदौ १६ को तिथि केही महिना पर सार्न सकिने उनको अड्कल छ । त्यसबेला महाधिवेशनमा आफू उम्मेदवार बन्ने र सहजै जित हासिल गर्न सकिने देउवाको बुझाइ छ ।

कांग्रेस सभापतिको मैदानमा अहिलेसम्म जोजो दौडन तयार देखिएका छन्, तिनको खुट्टी हेर्दा अर्को अवधिमा पनि देउवा नै सफल हुने अवस्था देखिन्छ । किनकि, अहिले देउवा प्रधानमन्त्री छन् । कांग्रेस यो मुलुकको एउटा यस्तो पार्टी हो, जहाँ बलेको आगो ताप्नेको संख्या अत्यधिक छ । त्यसो त यो अवस्था अन्य पार्टीमा नभएको भन्ने चाहिँ होइन, तर तुलनात्मक रूपमा यस सन्दर्भमा कांग्रेस निकै अगाडि छ । 



भदौ १६ मै महाधिवेशन गर्न देउवा स्वयम् इच्छुक छैनन् । किनकि, यतिखेर उनी सरकार विस्तार र सरकारले गर्नुपर्ने प्रारम्भिक काम नै अघि बढाउन सकिरहेका छैनन् । प्रधानमन्त्री बनेको महिना दिन बित्न लागिसक्दा समेत केवल चार जना मन्त्री बोकेर उनी सत्ताको डुंगा खियाइरहेका छन् । यस्तो अवस्थामा पार्टीको महाधिवेशन गरेर आफूलाई कमजोर बनाउन उनी कुनै पनि हालतमा तयार छैनन् । त्यसकारण पनि कांग्रेसले निर्धारित मितिमा महाधिवेशन गर्न नसकेको हो । सतहमा कांग्रेसले महाधिवेशन गर्न नसक्नुको कारणमा क्रियाशील सदस्यता विवादलाई तेर्साइएकाे छ । तर, त्यो मात्र कारण अवश्य होइन । क्रियाशील विवाद मिलाउन कुनै कठिनाइ छैन । त्यसका निम्ति कांग्रेसले केन्द्रीय सदस्य जीवन परियारको जिम्मामा कमिटी नै बनाइसकेको छ ।

निर्धारित मितिमा महाधिवेशन गर्न नसक्दा पार्टीलाई निर्वाचन आयोगले कारवाही गर्न सक्छ । देशकै एउटा लोकतान्त्रिक पार्टीलाई निर्वाचन आयोगले कारवाही गर्नुपर्ने अवस्था आउँदा त्यो पार्टीप्रति जनताको मनमा कस्तो प्रभाव पर्ला ? यसबारे कांग्रेसका शीर्ष नेताहरु खासै चिन्तित देखिँदैनन् । 



कांग्रेस सभापति यतिखेर तरबारको दुई धारमा हिँडिरहेका छन् । अचानक प्राप्त भएको सत्ता जोगाउने र थोरै भए पनि जनहितकारी काम थाल्ने तथा पार्टीको वैधानिकता जोगाउने । उनका निम्ति यी दुवै काम अधिक महत्वका छन् । तर, देउवाको हालसम्मको कार्यशैली र अभिव्यक्ति सुन्दा यी दुवै सन्दर्भमा उनी उतिविधि चिन्तित देखिँदैनन् । त्यो निश्चिन्ता देशको भाग्य र नेपाली कांग्रेसको भविष्य दुवैका निम्ति हानिकारक छ । 

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १०:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया