कुनै विन्दुमा गएर नेकपा एमाले जुट्छ भनेर लामो समयदेखि प्रतिक्षा गरिरहेका एमालेजनहरू निराश हुँदै गएका छन्। २३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले ब्यूँताएपछि पार्टीमा देखिएको आन्तरिक किचलो किनारा लाग्न सकेको छैन।
विवादका नयाँ–नयाँ श्रृंखलाहरु देखा परिरहेका छन्। एमालेमा केपी ओली समूह र माधव नेपाल समूहले आ-आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेका छन्।
एमाले माधव नेपाल समूहभित्र ‘हार्ड लाइनर’ नेताका रुपमा चिनिने केन्द्रीय सदस्य विरोध खतिवडा सबै समस्या केपी ओलीकै कारण भएको बताउँछन्। पार्टीमा देखिएको समस्याका बारेमा खुलेर, कडा शब्दमा आलोचना गर्नेमध्येका एक नेता हुन खतिवडा। २८ फागुनमा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठक र त्यसले निर्णय नै एमालेभित्रको समस्याको मूल जड भएको ठहर खतिवडाको छ।
एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खतिवडासँग फरकधारका लागि रुपक चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
एमाले एकताको सम्भावना टरेको हो ?
यो प्रश्न त केपी ओलीलाई सोध्नुपर्ने प्रश्न हो। मलाई किन ? २८ फागुनयता उहाँ (ओली) कुनै हिसाबमा पार्टी एक गर्ने पक्षमा हुनुहुन्न।
अब माधव नेपाल समूह कसरी अगाडि बढ्छ त ?
एमाले एक हुनुपर्छ भनेर हामी निरन्तर प्रयासमै छौँ। कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि, एमालेले लिएको विचारलाई केपीले ध्वस्त पारेर सिध्याउन थालेका छन्। त्यसैले एमालेका इमानदार कार्यकर्ताहरूको भावनालाई बुझेर, उनीहरूलाई समेटेर हामी अगाडि बढ्छौँ।
यसरी एमालेमा सहज अवस्था अब आउला त ?
अनुमानका कुरा नगरौं। अहिलेसम्म केपीको धुन्धुकारी प्रवृत्ति हेर्दा सम्भावना छैन।
१० बुँदे सहमतिमा नेपाल समूह लचक भएन भन्ने आरोप छ नि ?
१० बुँदेमा ओली आफैँ इमान्दार छैनन्। खोइ लागू गरेको ? लागू गरेर देखाए भयो नि। जाल, झेल, षड्यन्त्र र बेइमानी कुरा गरेर हुन्छ ? लागु गरेर देखाए भयो। अनि भन्दा भयो नी हामीले लागू गर्यौँ उहाँहरू आउनुभएन भनेर। कागजमा लेखेर लागू हुँदैन।
सम्पूर्ण जिल्ला कमिटीहरू पुरानै अवस्थामा स्थापित भएर काम गर्नू, बैठक राख्नु। सम्पूर्ण प्रदेश कमिटीहरू पुनःस्थापित भए त्यो बेलाको बैठक बसेर काम अगाडि बढाउनू। सम्पूर्ण नगर गाउँ कमिटीहरू पुनस्थापित गर्नू, बैठक बसेर आफ्ना कामहरू अगाडि बढाउनू। सर्कुलर गरेर देखाए भयो नि। यी सबै जालझेल र फटाहा कुरा हुन्।
अब रणनीतिक रुपमा कसरी अगाडी बढ्ने त ?
राजनीतिक गर्ने प्राणीहरू, राजनीतिक समूहहरू जसरी अगाडि बढ्छन्, हामी पनि त्यसैगरी अघि बढ्छौँ।
कार्यदलका सदस्यहरूले माधव नेपालको भावनाविपरीत सहमति गर्दा झनै समस्या भयो भन्ने सुनिन्छ नि ?
कसले के भन्यो भन्ने मलाई थाहा भएन। केपी ओली बेइमानी हुन्। पार्टी एकता चाहँदैनन्। कार्यदलले गरेको कुरा पनि उनले मान्दैनन्। मान्ने भए त कार्यदलले बुझाएको यत्रो समय भइसक्यो खोइ त लागू भएको ? सर्कुलर गरे भइगो नि त भनिरहेका छौँ हामी।
कार्यदलले प्रस्ताव गरेअनुसार जेठ २ का सम्पूर्ण कमिटीहरू पुनर्जीवित हुनुपर्ने हैन र ? बैठक राखेर पार्टीको काम अगाडि बढाउनु भनेर सर्कुलर गरेको कहीँ देख्नुभएको छ ? छैन नि। मुखले मात्र भनेर हुँदैन। पार्टी चल्नका लागि लिखित सर्कुलर र सहमति चाहिन्छ। यी सबै फाल्तु कुराहरू हुन्। कार्यदलले के गर्यो ? कसो गर्यो यो सबै छाडिदिउँ। कार्यदलले सिफारिस गरेकै कुरा कहाँबाट लागु भयो र ?
पछिल्लो केन्द्रीय कमिटी बैठकले विधान संशोधनको निर्णय गरेपछि एकता टरेको भन्ने निष्कर्ष हो ?
अस्तिको होइन। फागुन २८ गतेदेखि नै समस्या आएको हो। फागुन २८ को निरन्तरता कति भए भए। हामी सदस्यहरूलाई निकाल्ने काम भए, राख्ने काम भए, मनपरी निर्णय गर्ने काम भए। नियुक्ति गर्ने काम भए। निष्कासन गर्ने काम भए। एउटा मात्र छ र ?
ओली सिंगो एमालेको, यत्रो साम्राज्य एमालेको नेता होइनन्। भुरेटाकुरे, जयजयकार गर्ने रामभक्त(हनुमान)हरूको झुण्डको नेता बन्ने क्रममा गएका छन्। एउटा झुण्ड भुरेटाकुरे बाइसे चौबिसे राज्य भनेको जस्तै एमाले साम्राज्यबाट भुरेटाकुरेहरूको राजा भएर बस्न आउँदैछन् ओली। उनले खोजेको पनि त्यही हो, गर्ने पनि त्यही हो। र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न चाहेको उनको चाहना हामी ध्वस्त पार्छौँ।
लोकप्रिय जनमत पाएर सत्तामा पुगेको एमाले केन्द्र हुँदै प्रदेशमा पनि एक्लिँदै गएको छ। यसले एमालेको भविष्यमाथि प्रश्न चिन्ह उठायो नि हैन र ?
यो कसको कारणले आएको हो र ? तपाईँको कारणले वा मेरो कारणले होइन प्रष्टै छ। नेता जो हो उसकै कारणले हुन्छ। नेतामध्ये पनि अध्यक्ष जो हो उसकै कारणले हुन्छ।
अध्यक्षले संसद भंग गरेर अध्यादेशबाट बजेट ल्याउन सिकाए, प्रदेशका उहाँका चेलाहरूले पनि राति १२ बजे संसद बन्द गरेर अध्यादेशबाटै ल्याउन सिके। अध्यक्षले चोर बाटो, जाली बाटो समातेर कानुन र संविधानको प्वाल चिरेर हिँड्न खोजे, उता प्रदेशकाले पनि त्यही सिके। झुट, जालझेल त एकछिन चल्छ, केही समय चल्छ। केही समयपछि जालझेल र फट्याइँको पुलिन्दा त खुल्छ नै।
६ वटा प्रदेशमा पार्टीको सरकार थियो अहिले घट्दै गएर २ वटामा बाँकी छ। त्यो कसको बुद्धिले भयो ? प्रधानमन्त्री मात्र गएको हो र ? सम्पूर्ण प्रदेश गयो, क्षतविक्षत भयो। वामपन्थी आन्दोलन गयो। हठ, ढिपी, घमण्ड, अहम्, इर्ष्याका कारणले सिंगो आन्दोलन, प्रदेश केन्द्र सबै ध्वस्त पार्ने काम केपी ओलीले गरे। यसमा थप व्याख्या गर्नुपर्ने जरुरी छ र? यसले धक्का पारेको कम्युनिस्ट आन्दोलनलाई बचाउन हामी लागेका छौँ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।