३० हजार बलात्कृत महिलाको उपचार गर्ने डाक्टर

सन् २०१८ का लागि नोबेल शान्ति पुरस्कार कंगोका स्त्री रोग विशेषज्ञ डाक्टर डेनिस मुकवेगे र महिलाअधिकारकर्मी नादिया मुरादलाई संयुक्त रुपमा दिइयो ।

नादियालाई इस्लामिक स्टेटले बन्धक बनाएर बलात्कार गरेका थिए । उनले अन्तर्राष्ट्रिय सन्चारमाध्यमसँग आफ्नो कथा सुनाएकी छिन् । जुन सुन्दा नै शरीर जुरुङ्ग हुन्छ । उनको कथा पढ्न यो लिंकमा क्लिक गर्नुहोस्ः ६ सुरक्षा गार्डले ममाथि बारम्बार बलात्कार गरे

नादियसँगै नोबेल शान्ति पुरस्कार पाउने चिकित्सक चाहिँ कंगोमा कार्यरत छन् र उनी स्त्री रोग विशेषज्ञ हुन् । उनले सहकर्मीहरुसँग मिलेर ३० हजारभन्दा बढी बलात्कार पीडितको उपचार गरेका छन् । उनले जे अनुभव सेयर गरेका छन्, त्यसले बलात्कारलाई युद्धमा हतियार बनाएर प्रयोग गरिएको कुराको पुष्टि गर्छ । सन् २०१३ मा बिबिसीमा छापिएको उनको वृत्तान्तः

 

जब कंगोमा युद्ध सुरु भयो, तब लेमेरास्थित मेरो अस्पतालमा ३५ जना बिरामीहरुको मृत्यु भयो । म त्यहाँबाट भागेँ र बुकावु भन्ने ठाउँमा पुगेँ । 

बुकावुमा एउटा टेन्ट राखेर मैले उपचार सुरु गरेँ, अस्पताल सुरु गरेँ । त्यो विशेषत प्रसुति गृह थियो जसमा अपरेसन थिएटर पनि थियो । 



तर, सन् १९९८ मा मैले फेरि सबै कुरा गुमाएँ । र सन् १९९९ मा मैले फेरि सबै काम सुरुबाट गर्नुपर्ने भयो ।

यसपटक पहिलो पटक बलात्कार पीडित एक महिला हाम्रो अस्पतालमा आइन् । बलात्कारपछि उनको जनेन्द्रियमा तथा तिघ्रामा गोली हानिएको थियो । 



मलाई लागेको थियो, यो सब युद्धका कारण भएको बर्बरता थियो । तर, ठीक तीन महिनापछि मलाई वास्तविक झट्का मिल्यो । ती महिलाजस्तै ४५ अन्य पीडित महिला हामी भएको ठाउँमा आए । उनीहरु सबैको कुरा पनि ती महिलाको जस्तै थियो । उनीहरुले सबैले बताए, ‘मानिसहरु हाम्रो गाउँमा घुसे, बलात्कार गरे र हामीलाई यातना दिए ।’

त्यहाँ आउने केही महिला यस्ता थिए जसको शरीर पुरै जलेको थियो, उनीहरुले बलात्कारपछि आफूमाथि विभिन्न रसायन हालिएको बताएका थिए ।

त्यति बेला मैले आफैंसँग प्रश्न सोध्न थालेको थिएँ– आखिर यो सब के भइरहेको छ ? यो युद्धमा गरिएको बर्बरतामात्र थिएन, कुनै रणनीति थियो भन्ने पनि मैले बुझ्न थालेको थिएँ । महिलामाथि सामुहिक बलात्कार भइरहेका थिए, सार्वजनिक बलात्कार भइरहेका थिए । एकै रातमा एउटा गाउँका सबै महिलामाथि बलात्कार भइरहेको थियो ।

यस्तो कुकृत्य गरेर महिलामाथिमात्र होइन, सम्पूर्ण समुदायमाथि चोट पुर्याउन खोजिएको थियो । गाउँमा महिलाहरुमाथि भएको बलात्कार पुरुषलाई हेर्न बाध्य बनाउन थालिएको थियो ।

यो युद्धको रणनीति थियो । यसले त्यो गाउँका मानिसहरुलाई घर छाडेर भाग्न बाध्य बनाउँथ्यो । उनीहरुले आफ्नो जमीन छोडेका थिए, आफ्ना सबै सम्पत्ति छोड्न थालेका थिए । यो युद्धको ठाउँमा एउटा प्रभावशाली रणनीति रहेछ ।

हामी महिलाहरुको उपचार कयौं चरणमा गथ्र्यौँ । अपरेसन गर्नुभन्दा पहिले हामी उनीहरुको मनोवैज्ञानिक परीक्षण गथ्र्यौँ । यो समयमा हामी उनीहरुले सर्जरी गर्दाको पीडा सहन सक्छन् या सक्दैनन् भन्ने बुझ्थ्यौँ । त्यसपछि हामी चिकित्सकीय हेरचाह गथ्र्यौँ, अनि उनीहरुलाई सामाजिक तथा आर्थिक रुपमा सहयोग गर्न थाल्थ्यौँ । 

अधिकांश महिला जो हामीसम्म आइपुग्थे, उनीहरुसँग केही हुँदैनथ्यो । कयौँपटक त उनीहरुसँग लगाउने कपडा पनि हुँदैनथ्यो ।

हामीले उनीहरुलाई खाना खुवाउनु पथ्र्यो, हामीले उनीहरुको देखभाल गर्नु पर्ने हुन्थ्यो । अस्पतालबाट छुटेपछि उनीहरुले के गर्न सक्छन् भन्ने पनि हामी ध्यान दिन्थ्यौँ । त्यसैले हामी उनीहरुलाई सामाजिक तथा आर्थिकस्तरमा सहयोग गथ्र्यौँ, उनीहरुले नयाँ काम गर्न सकुन्, स्कुल पढ्नेहरु फेरि पढ्न सकुन् भन्ने हाम्रो चाहना हुन्थ्यो ।

कयौँ पटक हामीले उनीहरुलाई अदालती सहयोग पनि गथ्र्यौ । उनीहरुले आफूमाथि हिंसा गर्नेहरुलाई चिन्थे, अदालतमार्फत् उनीहरुको कारवाही गर्न हामी सहयोग गथ्र्यौँ ।

सन् २०११ मा हामीसम्म आइपुग्ने महिलाहरुको संख्यामा कमी आयो । हामीलाई लागेको थियो, कंगोमा अब महिलामाथि हुने हिंसा अब कम हुन थाल्यो । तर, फेरि युद्ध सुरु भयो, महिलामाथि हुने हिंसा फेरि बढ्यो ।

महिलामाथिको बलात्कारको घटना सिधै युद्धसँग जोडिएको थियो ।

कंगोमा चलिरहेको युद्ध कुनै दुई धार्मिक समूहबीचको युद्ध होइन, न यो कुनै दुई प्रान्तबीच भएको युद्ध हो, न कुनै दुई देशबीच भएको युद्ध हो । यो त आर्थिक कारणले भएको युद्ध हो जसका कारण कंगोका महिलाहरु बर्बाद भइरहेका छन् ।

एकपटक म विदेशबाट कंगोमा फर्किइरहेको थिएँ । मलाई पाँच जना मानिसहरु बाटोमा कुरेर बसिरहेका रहेछन् । उनीहरुले मेरो अपहरण गरे । उनीहरुमध्ये चार जनासँग एके–४७ थियो र एक जनासँग पेस्तोल ।

उनीहरु मेरो गाडीमा छिरे र मलाई बन्दुक ताक्न थाले । उनीहरुले मलाई गाडीबाट निकाले, मेरो गार्डले मलाई बचाउन प्रयास गरेका थिए । तर, ती गार्डमाथि उनीहरुले गोली प्रहार गरे, उनको त्यहाँ नै मृत्यु भयो । गार्डलाई गोली हान्दा म तल बसेको थिएँ, उनीहरुले माथि गोली चलाएका थिए । मलाई अहिले पनि विश्वास छैन, म कसरी बाँचे ?

ममाथि भएको त्यो आक्रमणपछि म स्विडेन गएँ, त्यहाँबाट बेल्जियममा ब्रसेल्समा गएँ ।

तर, सन् २०१३ मा म फेरि फर्किएर मेरो देशमा आएँ ।

कंगोका महिलाले जब शोषणविरुद्ध लड्ने हिम्मत गरे, त्यसले मलाई फेरि कंगोमा फिर्ता ल्यायो । 

ममाथि आक्रमण भएपछि महिलाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले मलाई घर फर्काउन टिकट काटेका थिए । यी तिनै महिला थिए जोसँग आफ्ना लागि मात्र अरु केही थिएन । उनीहरु गरिबीको सबैभन्दा तल्लो स्तरमा थिए, खर्च गर्नका लागि उनीहरुसँग एक डलर पनि थिएन ।

ती महिलाहरुले नै मेरालागि फर्काउन प्रयास गरेपछि म फर्किएँ । म फर्किएपछि मेरो जीवन बदलिएको छ । म अस्पतालमा नै बसेँ, त्यहाँ मलाई महिलाहरुले नै सुरक्षा दिए । उनीहरुले २०–२० जनाको समूह बनाएर सुरक्षा दिएका थिए ।

उनीहरुसँग कुनै हतियार थिएन । तर, उनीहरुसँग हुँदा म आफूलाई सुरक्षित महसुस गर्छु । 

मलाई ती महिलाले आफ्नो काम गरिरहन प्रेरणा दिए र म आफ्नो काम गरिरहेको छु ।

  • प्रकाशित मिति : असोज २०, २०७५ शनिबार १३:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया