एन्फा विवाद : प्रशिक्षक र उपाध्यक्षको बयान सकियो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । 

विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानबिन समितीमा आज प्रशिक्षक अलमुताइरीले घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन् । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विवादमा उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो । छानबिनका लागि आजै उपाध्यक्ष पंकजविक्रम नेम्वाङले पनि करिब डेढ घण्टा बयान दिएका थिए ।

समितिले यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्वप्रवक्ता किरण राईसँग पनि बयान लिएको थियो । उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए । 

यसअघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानबिन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनअनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । खेलकुद मन्त्रालयले समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार २०:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया