ओझेलमै बाँचिरहेका जनगायक जेबी टुहुरे

आफ्नै पौरख खान्छन्, आफ्नै सीपमा बाँच्छन्
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन्
असल महान व्यक्तिहरु यिनैले जन्माउँछन्
ज्ञान गुन बुद्धिहरु यिनैले सिकाउँछन् 
तर पनि अँधेरोमा जीवन बिताउँछन्।


यो गीत र जेबी टुहुरे एक-अर्काका पर्याय नै हुन् भन्दा पनि हुन्छ। 

जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायक, यिनै परिचय छन् जेबी टुहुरेका। वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका थिए उनी। सानो तिनो व्यापारिक पृष्ठभूमि, निम्न मध्यम वर्गीय परिवारमा उनको जन्म भयो। पिता कृष्णबहादुर खड्गी, माता दानदेवि खड्गीका जेठो सन्तानका रुपमा टुहुरेको जन्मिका थिए। 

जेबी टुहुरेको वास्तविक नाम भने जुटबहादुर खड्गी हो। २०२१ सालमा जब उनका पिताको निधन भयो जुटबहादुर वास्तवमै टुहुरा भए। त्यसपछि उनले आफ्ना नामको पछाडि टुहुरे जोडे। जुटबहार खड्गी नेपाली समाजमा जेबी टुहुरेको नामबाटै चिनिए। 

नाम परिवर्तनको यर्थाथतालाई सम्झँदै उनले भने ‘त्यतिखेर निक नाम राख्ने प्रचलन थियो मेरो बुबाको निधन भयो र टुहुरे नाम मैले त्यतिबेला आफैँले थपेको हुँ।’

बुबा कपडा व्यापारी भएकाले २००७ सालमा मोर मधुमल्लामा बसाई सराइ भयो उनको परिवारको। बुबासँगै व्यापारमा घोडा लिएर हिँड्नु पर्दा उनको औपचारिक शिक्षा अघि बढ्न सकेन।



उनी सुनाउछन् ‘मेरा पिता एउटा व्यापारी हुनुहुन्थ्यो। व्यापार गर्ने ठाउँ धरानदेखि पूर्व मधुमल्ला, दमक, बिर्तामोड, मंगलबारे लगायतका ठाउँ हुन्थ्यो। बुबाको त्यही कामले गर्दा हामी सपरिवार २००७ सालमा बसाई सर्नुपर्यो। कामतिर लाग्नुपर्दा पढाइ बिग्रियो।’ 

सानैदेखि उनलाई गीत गाउनमा भने खुब रमाइलो लाग्थ्यो। उनको विवाह २०१७ सालमा भयो। कसरी भयो विवाह ? हाम्रो प्रश्नमा उनले भने ‘सुनसरी सिमरीयाकी सत्यदेवीसँग मेरो मागी विवाह भयो।’



उनका प्रगतिशिल गीतहरु आज पनि जन–जनका मुखमा झुण्डिरहेका छन्। राष्ट्रिप्रेम र विद्रोहका भाव उनका गीतले बोकिरहेका छन्। अन्याय र थिचोमिचो विरुद्ध आवाज बुलन्द पारिरहेका छन्। टुहुरेले २०१० सालबाट सांगीतिक यात्रा प्रारम्भ गरेका थिए। 

गायनमा विशेष रुची राख्ने टुहुरे केही समय शिक्षक पनि भए। उनले त्यतिबेला टाँडी गएर पढाए। साहखरे भन्ने ठाँउमा पनि पढाए। ‘मैले पढाएको एउटा विद्यार्थी त्यो रकम चेम्जोङ(एमाले नेता) पनि हो। ५ कक्षासम्म पढाउथेँ तर मैले त्यतिसम्म पनि पढेको थिइँन।’ 

राजनैतिक चेतना भएपछि टुहुरेको गायन यात्रा जनवादी गीततर्फ मोडियो। उनी अगाडिका दिनको सम्झना गर्छन् ‘म ९, १० वर्षको उमेरदेखि नै गाउने नाच्ने गर्थेँ। स्कुलका चौरहरुमा गाउँदै जाँदा उमेर पनि बढ्दै गयो र गायनमा पनि रुची बढ्दै गयो। मान्छेहरुले पनि गाउन प्रोत्साहन दिने गर्थे।’

हुनत उनी राजनीतिज्ञ पनि हुन्। २०२० को दशकदेखि नै कम्युनिस्ट पार्टी र कम्युनिस्ट विचारधारासँग नजिक रहेका उनी कम्युनिस्ट जनमत निर्माणका लागि गीत गाउँदै हिडेँ। माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट छन्। २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य चयन भएका थिए। नेपालको वर्तमान संविधान बनाउने सदस्यमध्ये एक हुन् उनी। 

तर उनी आफूलाई जनवादी गायककै रुपमा चिनाउन चाहान्छन्। ‘मलाई जनवादी गायक भन्दा नै सबैभन्दा आनन्द आउँछ किनभने म बिशेषगरी जनतासँग एकाकार हुन चाहन्छु। म यहाँसम्म आएको नै जनताले गर्दा हो’ उनी भन्छन्।

टुहुरेले गाउन थालेपछि देशमा धेरै राजनीतिक परिवर्तन भए। शासनले विभिन्न रुप फेर्यो।

परिवर्तनको पक्षमा, न्याय र समानताको पक्षमा टुहुरेले करिब ५ दशक गाए। 

कुनै समय संकल्प गीति कार्यक्रम मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सचेतना भर्ने काम गरे। पुराना दिन सम्झँदै टुहुरे भन्छन् ‘एक समय संकल्प गीति कार्यक्रमका रुपमा हामीले एउटा आन्दोलनकै रुपमा काम गर्यौँ।’

त्यतिबेला प्रगतिशिल गीत भूमिगत ढंगबाट लेखिन्थ्यो। पञ्चायती शासन व्यवस्थामा स्वतन्त्र रुपमा बोल्न मुस्किल थियो। लुकेर गीत गाउँदै हिँड्नुपर्थ्यो। 

उनी २०३३ सालको आफ्नो एउटा सनसनीपूर्ण गीत यसरी सम्झन्छन् ‘२०३३ सालमा यकदेव ज्ञवालीले लेख्नु भएका केही गीतहरु थिए। उहाँ गुल्मीको हुनुहुन्थ्यो। उहाँले लेखेको ‘चरी भरर’ भन्ने पुस्तकबाट एउटा गीत प्राप्त गरेँ।

त्यतिबेला प्राय गीत भूमिगत रुपमै लेखिन्थ्यो। त्यो गीत हेर्दै गएपछि आफै संगीत बन्यो र त्यही गीत हो ‘आमा दिदीबैनी हो।’ यसलाई हामीले नै अलिअलि परिमार्जित गरेका हौँ। त्यो गीत आजसम्म हजारौ पटक गाइसकेको छु। आज पनि कुनै कार्यक्रममा त्यही गीतको माग हुन्छ।’

अहिले गायन क्षेत्रमा धेरै मान्छेको प्रवेश सहज रुपमा भइरहेको छ। टुहुरे पञ्चायती व्यवस्था भन्दा पनि पहिलेको गायक। त्यो पनि सरकार विरोधी। पहिलाको र अहिलेको समयलाई  उनी सम्झना गर्छन् ‘हामी त्यतिबेला कार्यक्रम गरेर हिड्थ्यौँ। पुलिस आएर लखेट्थ्यो। हामीलाई गीत गाउन पनि निक्कै गाह्रो थियो। गीत गाएकै कारण जेल बस्नुपथ्र्यो। अथवा मारिनुपर्ने अवस्था थियो। 

कतिपटक पुलिसको हिरासतमा बसियो अहिलेको अवस्था र त्यो बेलाको अवस्थामा धेरै अन्तर छ।’

२०३६ सालदेखि २०६२÷०६३ को परिवर्तनसम्मका लागि खुब गाएर हिँडे टुहुरे। सत्ताको त्रास, दमन, धरपकड सबैलाई बेवास्ता गर्दै जनतामा चेतना भर्न प्राणको बाजी लगाएर लागिरहे। 

व्यवसायिक कलाकार बन्नेतिर उनी लागेनन्। आन्दोलनका लागि महोल बनाउने, परिवर्तनको पक्षमा जनतालाई उलाल्ने, कम्युनिस्ट पार्टीका लागि जनमत बटुल्ने, यही कुरामा केन्द्रीत भयो  टुहुरेको गायनयात्रा। 

उनी व्यवसायिक गायक पनि बन्न सक्थे होला तर उनमा भएको राष्ट्र प्रेम, परिवर्तनको चहाना, विभेद र अन्यायविरुद्ध मनमा उठेको ज्वारभाटालाई पैसाले जित्न सकेन। 

निम्न मध्यम वर्गीय परिवारका टुहुरेले जीवन धान्नका लागि अनेक काम गरे।  ‘विभिन्न खाले व्यापार गरियो, होटल, लज चलाइयो, कहिले पुस्तक पसल त कहिले पान पसल पनि खोलियो’ टुहुरे सुनाउँछन्, ‘जीवनमा बाँच्नका लागि धेरै संघर्ष गरेको मान्छे हुँ।’ 

टुहुरेलाई जीवनमा माया गर्ने धेरै छन् तर जीवन संगीनीको मायाको अगाडि भावनात्मक नाताका हिसाबले पनि अरु माया कमै हुनेगर्छ भन्ने उनको बुझाइ छ।  उनको एउटै चाहना छ ‘जनता सबै एक हुन्। सबैमा समान चेतनाको विकास होस्। सबैको  जीवनस्तर उठोस्। कोही पनि अन्याय र अत्याचारको घेरामा रुन नपरोस्।’

टुहुरेले गोरखा दक्षिणबाहु लगायत थुप्रै मान पदवीहरु पाए तर जीवनस्तर भने माथि उठाउन सकेनन्। यो एउटा उनमा भएको निस्वार्थ त्याग पनि हो। देश र समय अनि माटोका लागि चम्किला तारा भएपनि टुहुरे सधैं ओझेलमै बाँचे। 

राज्यप्रति उनको केही गुनासो छ । आफूहरुको योगदानको मूल्यांकन नभएकोमा दुःख लाग्छ उनलाई । टुहुरेलाई सबैभन्दा मन दुख्ने कुरा यो होकि परिवर्तनका लागि सँगैसँगै लागेका साथीहरु ठाउँमा पुग्दा पनि जनताका पीरमर्का उस्तै छन् । 

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १३:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया