[अन्तर्वार्ता] 'एकता कठिन मोडमा पुगेको छ तर, थाकेका छैनौँ'

आन्तरिक किचलोकै कारण यतिबेला लोकप्रिय जनमतसहित सत्तामा पुगेको नेकपा एमाले केन्द्रदेखि प्रदेशसम्म कमजोर हुँदै गएको छ । ६ मध्ये ४ प्रदेशको जिम्मेवारी एमालेले गुमाइसक्यो भने संघीय सरकारको नेतृत्व पनि विपक्षी दल नेपाली कांग्रेसको हातमा परेको छ । २३ फागुनमा सर्वोच्च अदालतले ब्यूँताइदिएको एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि विभाजनको डिलमा अड्केको छ । कानुनी रुपमा अहिलेसम्म एक देखिए पनि व्यावहारिक र राजनीतिक रुपमा एमालेमा प्रष्टै दुई धार देखिएको छ । दुवै समूह आ–आफ्ना गतिविधि तीव्र रुपमा अघि बढाइरहेका छन् । 

त्यसो त पार्टी विवाद समाधान गर्न बनेको कार्यदलले बेला–बेलामा सक्रिय भएर एकताको दियो बल्न लागेको आशा जगाइरहन्छ । तर, आमकार्यकर्ता र शीर्ष नेताहरु नै एकताको सम्भावना एकदमै न्यून भएको बताउँछन् । पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले विधान संशोधनको निर्णय अघि बढाएपछि विवाद झाँगिदै गएको छ ।

केही समयदेखि पार्टी एक गराउनुपर्ने तर्कसहित अघि बढेका एमाले नेता भीम आचार्य एकताका प्रयत्न जारी रहेकाले सम्भावना अझै बाँकी रहेको बताउँछन् । यद्यपि, एकता प्रक्रिया कठिन मोडमा पुगेको उनको निष्कर्ष छ । आचार्यसँग फरकधारका लागि रुपक चौलागाईंले गरेको कुराकानीको सार :

एमाले एकताको सम्भावना अब टरेको हो ?
अहिले नै एकताको सम्भावना टरेको त म भन्दिनँ, तर अलि कठिन मोडमा पुगेको भने पक्कै हो । प्रयत्नहरु म गरिरहेको छु । थाकेको पनि छैन । हेरौं के हुन्छ । 

पटक-पटक कार्यदल सक्रिय भइरहेको छ । तर, निष्कर्ष निकाल्न सकिरहेको छैन । कार्यदलप्रति नै नेताहरुको विश्वास नभएको हो ?
कार्यदलमाथि शंका हुने वा विश्वास नहुने कुरा होइन । तर, उद्देश्य नै फरक भइदियो । कार्यदलले मिलाउन खोजेको छ । कसैले फुट्ने, फुटाउने, खेल्ने, खेल्दिने खालको उद्देश्य भएपछि त शंकाको कुरै भएन । उद्देश्य नै फरक हुुनु भनेको फरक ढंगबाट जान खोजेको हो । तर, म अहिले निराश नै भइसकेको भने छैन । 

त्यसो भए अहिले पनि मिलाउने प्रयास जारी छ ?
एकताका लागि प्रयास एकदमै जारी छ ।



१० बुँदेमा सहमति हुन नसकेको हो वा अन्य कुनै समस्या हो ? 
१० बुँदेमा सहमति जुटाउन नसक्ने भन्ने त हुँदै भएन । विभिन्न चरणमा छलफल भएपछि १० बुँदेसम्म हामी पुगेका हौं । यो सहमति नै हो । मान्छेको उद्देश्य नै फरक भएको देखियो । त्यसकारण एउटाले एउटा कारणबाट निहुँ खोज्ने, अर्कोले बेग्लै कारणले निहुँ खोज्ने भएकाले समस्या आएको हो । 

अब तपाईंहरु कसरी अघि बढ्नुहुन्छ त ? 
अहिले हामीले एकताकै प्रयत्नलाई जारी राखेका छौं । अहिले हामी हरेस खाएका छैनौं । 



कसको कारणले पार्टीमा यो समस्या बढ्दै गएको ? 
यो विषयमा सबैले मूल्यांकन गर्न जरुरी छ । अहिले यसको कारणले वा त्यसको कारणले किन भन्नु ! अध्यक्षज्युले नै एकलौटी ढंगले बैठकहरु गर्ने, छलफल गर्ने प्रक्रिया थालनी गरेपछि यो अवस्थाको सुरु भएको हो । पछिल्ला दिनमा एकताका कुरामा चाहिँ के हो भने, दुवै पक्ष उस्तै उस्तै अवस्थामा देखियो । कहिले एउटा पक्ष अडानमा कहिले अर्को पक्ष अडानमा जाने भइरहेको छ । 

पछिल्लो पटक केन्द्रीय कमिटी बैठकले विधान संशोधनको निर्णय गरेपछि झनै विवाद बढ्दै गयो नि ? 
विधान संशोधनको निर्णय ठूलो होइन । पार्टी एकताको बाटोमा गयो भने त्यो हुँदै हुँदैन नि । पार्टी एकता नहुँदा उहाँहरुले आफ्नो गुटको निर्णय बनाएको होला त्यो । त्यो गुटको प्रस्ताव हो, केन्द्रीय कमिटीको होइन । एकता भएर गएपछि बसेको केन्द्रीय कमिटीले कोर्स नै फरक पार्छ । अहिले जसरी निर्णय भएको भनिएको छ त्यसरी जाँदैन । 

लोकप्रिय मत पाएर सत्तामा पुगेको एमाले आज केन्द्रदेखि प्रदेशसम्म खुम्चिँदै गएको छ । यसरी त एमालेको भविष्यमाथि नै प्रश्नचिन्ह उठ्ने भयो है ? 
फुट्नु एकदमै नराम्रो काम हो । त्यसकारण नै मैले यो पुस्तालाई बिदा गर्नुपर्छ भनेको हो । मेरो संकेत नै त्यतै थियो । त्यत्रो जनमत, यत्रो ठूलो जिम्मेवारी उहाँ (अध्यक्ष)ले धान्न सक्नुभएन । धान्न नसक्ने मान्छेलाई भारी बोकाएपछि सत्तामा बस्नुबाहेक अरु कुरा कसरी देख्नु ? देख्नै सक्नु भएन । पार्टी एकता गर्नका लागि क्रमशः पहिलो पुस्ताले अभिभावकत्व ग्रहण गरिदिने हो भने देश, जनता र राष्ट्रको लागि राम्रो हुने हो । सधैं आफैं बसिरहने, काम गर्न पनि नसक्ने अनि जिम्मेवारी बहन गर्न पनि नसक्ने स्थितिको अन्त्य हुनुपर्छ । 

पार्टीको भविष्यमाथि आमकार्यकर्ताले चिन्ता व्यक्त गरिरहेका छन् । नेता÷कार्यकर्ताको अबको भूमिका के हुने हो ? 
एकताको पक्षमा कार्यकर्ताहरु पूरै लाग्नुपर्यो । गुट विभाजनमा उहाँहरु लाग्नुभएन । त्यसको विपक्षमा उभिनु पर्यो । त्यति काम हुन सक्यो भने पार्टीलाई एकताबद्ध बनाउन सहज हुन्छ। हामी त्यही भूमिका खेलिरहेका छौं । अब त्यसमा बल पुग्ने काम हुनुपर्यो । 

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १९:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया