१८ लाखमा खिचियो ‘बुलबुल’को गीत

स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेको फिल्म ‘बुलबुल’ले एक गीतको सुटिङका लागि मात्र १८ लाख खर्च गरेको छ ।

भक्तपुरको हेलमेट डाँडामा २५ वटा टेम्पो र एस सय जनाको कोरससहित चार दिन लगाएर सुटिङ गर्दा उक्त रकम खर्च भएको निर्माण टोलीले दाबी गरेको छ । 

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतहरुमा उल्लेख्य रहेको उनले बताए ।

‘खुद्रा खाद्री’ बोलको यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका छन् । 

चलचित्रका निर्माता अविरल थापाले छायांकनमा जम्मा १८ लाख खर्च भएको पुष्टि गरे । ‘फिल्मको कथा टेम्पोको सेरोफेरोमा छ । गीतमा पनि हामीले प्रशस्त टेम्पो प्रयोग गरेका छौँ । ‘यही कारण गीतको बजेट सोचेभन्दा बढी भयो,’ थापाले भने, ‘तर गीत बनेर आउँदा उत्कृष्ट बनेर आउने कुरामा हामी विश्वस्त छौँ ।’

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । निर्माता थापाले गीत १५ कात्तिकमा सार्वजनिक हुने जनाएका छन् । 



चलचित्रका निर्देशक विनोद पौडेलले ‘बुलबुल’मा स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफ्नो करियरकै कोसेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।  

फिल्ममा स्वस्तिमा खड्काका साथ मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ । फिल्म १५ फागुनमा रिलिज हुँदै छ ।



  • प्रकाशित मिति : असोज २०, २०७५ शनिबार १९:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया