गुटगुटमा विभाजित गजलकार, एकले अर्कोको अस्तित्व अस्वीकार

मोतिराम भट्टबाट सुरु भएको नेपाली गजल पछिल्लो समय निकै फैलियो । भट्टले सुरु गरेकोे गजलको शृंगार धारलाई समातेर उनीपछि भीमनिधि तिवारी, नरदेव पाण्डे, शम्भुप्रसाद ढुंगेल, उपेन्द्रबहादुर जिगर, लक्ष्मीदत्त पन्तले समकालीन नेपाली गजल यात्राको अर्को सिँढी निर्माण गरे । त्यसपछि नेपाली गजल सुस्तायो । त्यो समय गजल लेखिए, तर निकै कम । 

२०३५ सालमा गजल लेखनमा ज्ञानुवाकर पौडेल देखा परे । त्यसपछि  ललिजन रावल, रवि प्राञ्जल, बुँद राना, डा. कृष्णहरि बराल, डा. घनश्याम न्यौपाने परिश्रमीलगायतका लेखकहरूले नेपाली गजलको अवस्थालाई वर्तमानसम्म डोर्याउँदै ल्याए। 

नेपाली गजल लेखिँदै जाने क्रममा विभिन्न धारहरू देखा परे । पछिल्लो समय गजल लेखनमा धारसँगै गुट–उपगुटहरू पनि मौलाए । विवादहरू चुलिँदै गए । नेपाली गजलको सतहमा देखिएको विवादचाहिँ बहर वा स्वतन्त्र भन्ने हो, तर भित्री रुपले केलाउने हो भने विभिन्न गुट–उपगुटमा गजलकारहरू विभक्त भएको मज्जैले देख्न सकिन्छ।

यही गुटका कारण सिर्जना भएको विवाद अहिले चर्चामा छ । बहरमा लेख्ने गजलकार र स्वतन्त्र रुपमा गजल लेख्नेबीच सामाजिक सञ्जालमा भनाभन भैरहेको देखिन्छ । बहरमा गजल लेख्नेहरूले सामाजिक सञ्जालमा स्वतन्त्र रुपमा गजल लेख्नेहरूलाई निषेध गर्ने धम्कीपूर्ण स्टाटस लेखेपछि सुरु भएको भनाबैरी अहिले देशभर शाखा विस्तार गर्नेसम्मको तहमा पुगेको छ । 

गजलमा देखिएको निषेधकारी सोचले यसको विकासमा कस्तो असर पार्ला ? स्वतन्त्र रुपले गजल लेख्नेहरूले बहरमा गजल लेख्नेहरूका कार्यक्रममा नजाने, बहरमा लेख्नेहरू स्वतन्त्र गजलका कार्यक्रममा नजाने ! जानेलाई पनि एकअर्काले बहिष्कार गर्नेसम्मको स्थिति अहिले छ । एक गुटका गजलकारले अर्को गुटका गजलकारको अस्तित्व स्वीकार गर्न नसक्दा यो विवाद सतहमा आएको हो । लेखनको बहस भैरहँदा बेलाबेला निक्कै तल्लो स्तरको टिप्पणी, भद्दा शब्दको प्रयोग भैरहेको देखिन्छ । एउटा लेखकलाई यस्तो कुरा कत्तिको सुहाउला ? 

समूह बनाउनु, लेखनको विकास र नयाँनयाँ आयाम तथा सोचमा काम गर्नु राम्रो पक्ष हो । तर, बौद्धिक बहसमा एकले अर्कोलाई तुच्छ गाली गर्दा देख्ने–सुन्नेलाई नै लाज लागेको अवस्था छ । दुवै पक्ष सर्जक हुन् र दुवैको काम सिर्जना हो । दुवैले सिर्जना गरेर राम्रो–नराम्रो छुट्याउन पाठकको इजलासमा छोड्दिनु पथ्र्यो । तर, दुवै पक्ष आफ्नै सिर्जना राम्रा भनेर दौडिरहेका देखिन्छन् । 



हुन त गजलकारहरूबीचको यो द्वन्द्व नयाँ भने होइन । लामो समयदेखि गजलमा हुँदै आएको विवाद समाधानका लागि भन्दै २०७६ माघमा नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सवको आयोजना गर्यो । उक्त महोत्सवले दुवै पक्षका गजलकारलाई समेट्दै ५ बुँदे घोषणपत्र जारी गरेको थियो । घोषणापत्रमा दुवै पक्षका गजलकारले हस्ताक्षर गरेका छन् । 

बहर गुटका गजलकार



अनाममण्डली नामक संस्था स्थापना गरी केही गजलकारहरू गजलमा लयको खोजी, बहस र अन्तर्क्रिया गर्दै आएका छन् । अनाममण्डलीको शर्त आलोचना, अफवाह, विरोधका बाबजुद पनि गजलमा लयको अनिवार्यता हो । 

देवी नेपाल, सुरेश सुवेदी, रुपक अलंकार, राधा कँडेल, सरोज घिमिरे, विकास प्रहर, शैलेन्द्र अधिकारी, प्रभाती किरण, जय जौडेल, नारायण निराशी, ज्ञानु विद्रोही, तपेन्द्र घोडासैनीलगायतका गजलकार अनाममण्डलीमा रहेर गजलमा लयको बहस गर्दै आएका छन्। 

गजलको लयका बारेमा डा. घनश्याम न्यौपाने परिश्रमी, सनतकुमार वस्ती, बुँद राना, पदम गौतम, रश्मि असफल, राधा कँडेल, करुण थापा, आवाज शर्मा, सरोज काफ्ले, गोर्खे साइँलो, खोलाघरे साहिँलो, ललिजन रावल, रवि प्राञ्जललगायतका गजलकारले पनि बहस गर्दै आएका छन् । 

सुरुमा अनाममण्डली स्थापना हुँदा गजलमा लयको अनिवार्य शर्त थियो । पछि लयलाई पनि बहरसँग जोडेपछि त्यहाँ पनि विवाद सुरु भयो । समूह विभाजन भयो । अनाममण्डलीको स्थापनाकालमा त्यसमा जोडिएका घनेन्द्र ओझाले गजल बहरमा लेखिनुपर्छ भनेर छुट्टै बहस थाले । गजल बहरमा मात्रै लेखिनुपर्छ भन्ने उनको तर्क छ । उनी हाल अनाममण्डलीबाट बाहिरिएका छन् । 

तीन धारमा पाको पुस्ता

अघिल्लो पुस्ताका गजलकारहरूमा पनि छुट्टै खालको गुट देख्न सकिन्छ । गजलकार ज्ञानुवाकर पौडेल स्वतन्त्र गजल लेखनका पक्षमा बहस गर्दै आएका छन् । उनको गुटमा बाबु त्रिपाठी खेमाका गजलकारहरू छन्। 

यता गजलकार ललिजन रावलको पनि छुट्टै किसिमको समूह देख्न सकिन्छ । रावल गजल लेखनमा लयको वकालत गर्छन्। उनको धारमा गजलकारहरू रवि प्राञ्जल, बुँद रानालगायतका गजलकारहरू देखिन्छन्। 

स्वतन्त्र गजल गुटका गजलकार

स्वतन्त्र गजल लेखनको नेतृत्व बाबु त्रिपाठीले गर्दै आएका छन् । यो बहसमा गजलकार ज्ञाानुवाकर पौडेल पनि सामेल छन्। 

लामो समयदेखि सर्वनाम नाटक घरसँगको सहकार्यमा गजल महफिल चलाउँदै आएका बाबु त्रिपाठीको नेपाली गजलमा छुट्टै गुट छ । स्वतन्त्र रुपमा गजल लेख्ने थुप्रै गजलकारहरू बाबु र गजल महफिलसँग गाँसिएका छन् । बाबु आफ्नो गुटमा देशभरका झण्डै दुई सय गजलकार रहेको दाबी गर्छन्।

हुकुमठीमा धड्कन, विपिन सलामी, महेन्द्रचन्द महासागर, कृष्ण विरही, संगीता थापा, ईश्वर दहाल, वसन्तवली वसन्ती, प्रदीप रोदन, विमला दाहाल, भरत प्रमोद दहाल, गीता स्मृति कठायत, विद्या निर्दोष पहाडी, क्षितिज समर्पण, गणेश भट्ट, दिग्गज द्यौराली, तारा पल्लवी, विपिन मर्म, लोकेन्द्र बोहोरा, लक्ष्मण संगम, राम अविरल विष्ट, सुमन स्मारिका, अमला अधिकारीलगायतका गजलकार बाबु गुटमा अटाएका छन् । 

गजलकार शीतल कादम्बिनी पनि ‘गीत गजल र शीतल’नामक गजल कार्यक्रम चलाउँदै आएकी छन् । कादम्बिनी सबै गजलकारसँग समदूरीमा रहेर काम गरिरहेकी हुन्छिन् ।

त्यसैले पनि कादम्बिनीको गुटमा गजल लेखनमा रुचि राख्ने धेरै गजलकार छन् । उनी आफैंचाहिँ व्यक्तिगत रुपमा स्वतन्त्र गजल लेखन गुटका गजलकारहरूसँग नजिक छिन् । लेखनका हिसावले उनी गजल लयमा लेख्छिन् । त्यसैले कादम्बिनी स्वतन्त्र र लय दुवै गजल गुटका गजलकारसँग निकटमा छिन् । 

काठमाडौं बाहिर चितवनलाई गजलको राजधानी नै मानिन्छ । चितवनका गजलकारहरू बाहिरका गजलकारहरूसँग त्यति नजिक बस्न रुचाउँदैनन् । एकताका चितवनमा थुप्रै जिल्लाका गजलकारहरू भेला हुन्थे । चितवनमा पनि  गजलकारका दुई गुट देखिन्छन् । एउटा गुटलाई गजलकार पुष्प अधिकारी ‘अञ्जली’ले नेतृत्व गरेका छन् भने अर्कोलाई गोर्खे साइँलोले । त्यहाँ पनि गजल लेखनमा स्वतन्त्र र बहरको बहस देखिनेगरी नै भइरहन्छ । 
 

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार ८:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया