‘छोराछोरीले नेपाली बोल्न जानेनन् भने के गर्ने ? भन्ने चिन्ताले सताउँछ’

पुतलीजस्तै फुरफुर गरी हिँड्ने उमेर। परिवर्तन पूर्णरुपमा स्वीकार गर्न नसकेको समाज। यही समाजमा गाजल लगाएर राम्री बन्ने रहर। रेडियोमा बज्ने गीतहरूमा कम्मर मर्काउँदै नाच्ने सपना। सम्झिँदा सामान्य लाग्ने यी रहर माथिको असामान्य बन्देज। शिक्षित परिवारमा जन्मिएकी ऋचालाई उति स्वादिलो लाग्दैनथ्यो। 

घरमा आमाका साथीहरू आउँदा उनी गाजल मागेर लगाउँथिन्। कडा अनुशासनमा हुर्कँदै गरेकी उनमा आमाले अरूका अगाडि गाली गर्नुहुन्न भन्ने थियो। गाजल लाएपछि आँखामा अरुले पनि देख्छन् भन्ने सामान्य हेक्का समेत थिएन उनमा। घरमा आमा/बुबा नभएको बेला लुकेरै नाच्थिन्। यतिले उनको धित मर्दैनथ्यो। अनि ऋचाले मनमनै संकल्प गरिन् ‘म एसएलसी पछि आफैं जागिर खान्छु।’

त्यो समय उनकी आमा शिक्षिका। बुवा होटलका सेफ थिए। सामान्य परिवार। दुई दाजुकी एक्ली बहिनी। अरु सबै कुराले पुलपुलिएर हुर्किएकी कान्छी छोरी। पढाइमा बन्देज थिएन। खाने कुराका भेराइटी सानैदेखि जानेकी हुन् उनले। उनका दाजुहरूले पढाइ भन्दाबाहेकको रहर पालेनन् वा भनेनन् ऋचालाई थाहा छैन। तर, सामान्य रहरमा पनि दाजुहरूलाई कुनै रोकतोक हुँदैनथ्यो। आफ्ना रहर खुम्चाउनु पर्दा ऋचाले सोच्थिन्, ‘म मेरी छोरीका हरेक रहर पुरा गर्नेछु।’

उनका बुबा खाने कुराको प्लान गर्थे। छोराछोरीलाई के ख्वाउँदा राम्रो हुन्छ। उनका बुबाको ध्यान सधैँ विभिन्न परिकारमा हुन्थ्यो। आमा त्यसबेला स्कुल पढाउँथिन्। त्यसैले पनि ऋचाले राम्रो स्कुल पढ्न पाइन्  त्यसबेला उनले अहिलेको भिएस निकेतमा पढेकी हुन। आमाको ध्यान सधैँ राम्रो पढाइमा। ऋचाको मन भने आमा बाबुकै ध्यान नगएको नृत्यमा गएर अडियो। नृत्य गर्ने रहर मनमा गाँठो परेर बसिरह्यो। 

यो अनुशासन र बन्देजले एक हिसाबमा ऋचाको जीवनमा राम्रो गर्यो। सानैबाट उनमा आफ्ना लागि आफैंले केही गर्नु पर्छ भन्ने भावनाको  विकास भयो। तर, फेरि कालान्तरमा यो बन्देज नजानिदो घाउ बनेर दुखिरह्यो। उनलाई लाग्थ्यो ‘सानैबाट मैले मेरा रहरको क्षेत्रमा अभ्यास गर्न पाएको भए। सिक्न पाएको भए जीवनमा अझैं राम्रो गर्न सक्थेँ होला।’ 

आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने हुटहुटी थियो उनको मनमा। एसएलसीको परीक्षा सकेर बसेकी थिइन्। त्यही बेला उनकी आमाको खुट्टा फ्याक्चर भयो। आमा ‘भुवनेश्वरी स्कुल’मा पढाउँथिन्। ऋचा सोही स्कुलमा आमाको सट्टामा नर्सरीका बच्चालाई पढाउन गइन्। तिनै बच्चालाई स्कुलपछिको समयमा ट्युसन पढाउन सुरु गरिन्। त्यसपछि ऋचाको व्यस्त दैनिकी सुरु भयो। 



यही समयमा ऋचालाई मोडलिङको अफर आयो। तत्काल सुन्दा लाग्यो, ‘म मा के छ र ?’ अफर बारम्बार आएपछि ऋचाले सोचिन् ‘एकपटक प्रयास गरिहेरौं।’ प्रयास त गर्ने तर घरमा कसरी भन्ने ? उनले निधो गरिन् घरमा नभनी अभिनय सिक्छु। स्कुल र ट्युसनबीचको एक घण्टा समय खाली हुन्थ्यो। अभिनय क्लासका लागि ऋचाले यही समय रोजिन्। 



अभिनय क्लास सकियो। र्याम्पको समय नजिकियो। ऋचाले हिम्मत गरेर घरमा भनिन्। घरबाट अनुमति लिन निक्कै कसरत गर्नुपर्यो। घरमा भनाभन् जस्तै भयो। उनका बाबुआमाले छोरी  आफ्नो हातबाट फुत्किएको महसुस गरे।

अन्त्यमा एकपटक कोसिस गर्छु राम्रो भएन भने छोड्छु भनेर ऋचाले मनाइन्। र्याम्पमा पहिलोपटक हिड्न लागेकी ऋचालाई हेर्न उनका दाजु र आमा पनि गएका थिए। उनकी आमाले छोरीमा सम्भावना देखिन्। त्यसपछि उनको रहरलाई समर्थन गरिन्। त्यसपछि भने ऋचाले आफ्नो रहरका लागि घरसँग संघर्ष गर्नु परेन। 

विषले जुराएको विवाह

निर्देशक शंकर घिमिरे चलचित्र ‘विष’ निर्माणको तयारीमा थिए। यो चलचित्रका लागि पक्का गरिएकी अभिनेत्रीले अन्तिम समयमा आएर काम नगर्ने भइन। त्यो ठाउँमा ऋचालाई अफर गरियो। यो चलचित्रमा सँगै काम गर्दा ऋचा र शंकरका धेरै कुरा मिले सबैभन्दा ठूलो कुरा उनीहरूको मन मिल्यो। ऋचा र शंकरको मित्रता पहिलो फिल्मबाटै झाङ्गियो। यो मित्रता दुई वर्षसम्म चल्यो। 

मित्रता झाङ्गिदै थियो। ऋचाका साथी ‘शंकरले तिमीलाई मन पराउँछन्’ भनिरहन्थे। ऋचा आफैं पनि विवाहका लागि तयार थिइनन्। चलचित्रमा काम गर्ने क्रममा कहिले मेकप आर्टिसले, कहिले ड्रेसडिजाइनले ऋचालाई शकरको मन भनिरहन्थे।

 उनले त्यो कुरालाई सिरियसली लिइनन्। जिन्दगीमा उनले पनि कतिलाई आहा ! भने। कतिलाई उनले आहा ! भनिन्। कोही छोटो समयमा छुटेर गए। केही समयको आकर्षण कालान्तरमा आफैं हराएर जान्छ। यो क्रम ऋचाले थुप्रै पटक देखिन्। केही आफ्नै जीवनमा। केही आफ्नाको जीवनमा। त्यसैले हुनसक्छ सुरुमा ऋचालाई शकरले मन पराएको कुरालाई सिरियस लिन मन नलागेको। 

त्यसपछि शंकरले गरेका व्यवहारमा ऋचाले ध्यान दिन थालिन्। उनी आफैंले माया देखिन्। शंकरको प्रेम स्वीकार गरिन्। त्यसको ६ महिनामा उनीहरूको धुमधाम बिहे भयो। बिहे गर्दा दुवैले फिल्मबाहेक कुनै सपना देखेका थिएनन्। दुईजनाको छुट्टै संसार बनाउन चहान्थे उनीहरू। त्यसैले परै बसेर एकअर्काको परिवारलाई माया गर्ने, साथ दिने निधो गरे। विहेपछि ऋचा र शंकरले छुट्टै घर किने। त्यो घरमा जोडेका हरेक सामानको आज पनि माया लाग्छ ऋचालाई। भन्छिन्, ‘रहरका थुप्रै सामान दुःखले जोडेका थियौँ।’

पहिलो गर्भको सास्ती

बिहे गरेपछि पनि ऋचाले केही चलचित्रमा काम गरिन्। बिहे गर्दा उनको उमेर २६ वर्ष थियो। उनले त्यतिबेलै पक्का गरेकी थिइन्, म २८ देखि २९ वर्षको बीचमा आमा बन्छु। वैवाहिक जीवनले २ वर्षको यात्रा पार गरिसकेको थियो। उनले अभिनय गरेको चलचित्र ‘ब्रेकफेल’ हलमा लागेको थियो। उनलाई लाग्यो अब म आमा बन्नुपर्छ। 

एक दिन ऋचा घरमा एक्लै थिइन्। शंकर कामले बाहिर गएका थिए। ऋचाको ‘प्रेग्नेन्सी रिपोर्ट’ पोजेटिभ आयो। उनले श्रीमानलाई फोन गरेर भनिन् ‘आज अलि छिट्टै घर आउनु है। घरमा नयाँ पाहुँना आउनेवाला छ।’ शंकरले तत्कालै प्रश्न गरे, ‘तिमी आमा बन्न लागेको हो ?’ दुवैले खुसी मनाए। उनीहरूको यो खुसी घर हुँदै माइतीसम्मै पुग्यो। 

गर्भवती भएपछि एउटा महिलाको जीवनमा निक्कै परिवर्तन आउने रहेछ। ऋचाको जीवनमा पनि आयो। उनलाई सानो–सानो कुराले बिझाउन थाल्यो। मन दुखाउँन थाल्यो। सानै कुराले रीस उठाउन थाल्यो। सुरुका ३ महिना उनलाई एक्लो महसुस हुन्थ्यो। रुन मन लाग्थ्यो। यो बाहेक अन्य शारीरिक असर भने देखिएन। अरु गर्भावस्थामा खान मन नलागेको  सुनाउँथे। ऋचालाई भने खानामा अरुची भएन। 

भन्थे ‘गर्भवती महिलाले दुई जनाको भाग खानुपर्छ।’ ऋचाले पनि त्यसै गरिन्। जे मनपर्छ त्यो खाइन्। खान हुने–नहुने केही हेक्का भएन। जसले गर्दा उनी आफैंलाई असहज हुने गरी मोटाइन्। उनी अहिले अरुलाई सुझाव दिन्छिन्, ‘दुई भाग खाने होइन। पौष्टिक खाना सन्तुलन मिलाएर खानुपर्छ।’

गर्भवती भएको ७ महिना भएको थियो। उनको शरीर एक्कासी चिलाउन थाल्यो। उनले आमा बनिसकेका आफ्ना साथीहरूसँग बुझिन्। साथीहरूले सामान्य समस्या भएको बताए। दिन बित्दै गए। ऋचाको शरीर चिलाउँने क्रम बढ्दै गयो। शरीरभरि फोका उठ्थे। कन्याउँदा कन्याउँदै फुट्थे। त्यसपछि शरीरमा आगो लगाएझैं पोल्थ्यो। हस्पिटल जान्थिन्। 

गर्भमा बच्चा भएकाले डाक्टरले औषधि चलाएनन्। ऋचासँग खप्नुको विकल्प थिएन। त्यो समय उनको घरमा काम गर्ने एक युवती थिइन्। उनी काइयोले ऋचाको शरीर कोर्थिन्। युवती थाकेर निदाउँथिन्। पीडा र डाहले ऋचालाई निदाउन दिँदैनथ्यो। उनी रुन्थिन्। उनीसँगै रुन्थे शंकर। शंकरसँग पनि विकल्प थिएन्। ऋचा सोच्थिन् ‘मैले जिन्दगीमा के पाप गरेको रहेछु।’ कन्याउँदा कन्याउँदै उनको शरीर कटहरको बोक्राजस्तो भएको थियो। 

बाहिर शरीर चिलाउँथ्यो, पोल्थ्यो। पेटमा बच्चा मुभ हुन्थ्यो शरीरमा अर्कै तरंग सञ्चारित हुन्थ्यो। तर बाहिरको पीडाले ऋचाले पेटमा बच्चाले दिएको खुसी अनुभूत गर्नै पाइनन्। भन्छिन्, ‘त्यसबेला मैले नर्क भोगेको छु।’ यसबेला उनले ओम नर्सिङ होममा डा. ममता बरालसँग नियमित चेकअप गराउँदै आएकी थिइन्। खप्नै नसक्ने भएँ भनेपछि ममताले उनलाई सामान्य औषधि दिइन्। भनिन्, ‘बच्चा जन्मिएपछि यो बिस्तारै आफैं निको हुँदै जान्छ।’ शरीरको अनावश्यक तौलका कारण ऋचामा यो समस्या देखिएको थियो। यो समय ऋचा धार्मिक पुस्तक पढेर आफूलाई भूलाउने प्रयत्न गर्थिन्। 

ऋचालाई ‘बेबी बम्प’ देखाएर फोटो खिच्ने ठूलो रहर थियो। तर, पेटमा आएको घाउले गर्दा उनको रहर पूरा हुन पाएन। ८ महिनाको गर्भ भएपछि अभिनेत्री सञ्चिता लुइटेलसँग मिलेर फुलबडि कपडा लगाएर एउटा फोटो चाही खिचिन्। 

डेलिभरी डेट आउँन करिब २ हप्ता बाँकी थियो। ऋचामा सुरग र प्रेसर  देखियो। डाक्टरले भने, ‘यो राम्रो होइन। अप्रेसन गरेर बच्चा निकाल्नु पर्छ।’ उनी बच्चा जन्माउन तयार भइन्। त्यसबेलासम्म ऋचाको शरीरमा कुनै चोटपटक थिएन। अप्रेसन थिएटर छिर्नु अघि ऋचाले श्रीमानको हात समाएर भनिन्, ‘मलाई केही भइहाल्यो भने आफ्नो ख्याल गर्नू।’ 

अप्रेसन गरेर बच्चा निकालियो। डाक्टरले उनको बच्चा देखाउँदै भने ‘बधाई छ ऋचा तिमीले हेल्दी छोरा जन्मायौ।’ छोरोदेखेपछि ऋचाका सबै पीडा दुर भए। अनुहारमा छुट्टै कान्ति छायो। 

जन्मेको दिन ऋचालाई छोरो दिइएन। उनी छोरो लिन सक्ने थिइनन्। त्यो रात शंकरले छोरालाई बोतलको दुध खुवाएर राखे। भोलिपल्ट छोराले आमाका दूध चुस्न जानेन। 

ऋचालाई छोरालाई दूध चुसाउँनै ३ घण्टा लाग्यो। उनी आफैं छोरो समातेर दुध ख्वाउन सक्ने अवस्थामा थिइनन्। छोरोलाई दुध चुसाउन उनकी आमा र भाउजूले सिकाए। ऋचा त्यो क्षणको अनुभूति शब्दमा ब्यक्त गर्नै सक्दिनन्। उनलाई लाग्यो ‘एउटा नारीभित्र के हुँदैन रहेछ। बच्चा बस्ने घर। बच्चाले खाने दूध। सबै आमाभित्रै हुने। नारीमा कस्तो अलौकिक शक्ति रहेछ।’

५ दिनमा ऋचा अस्पतालबाट घर फर्किन्। त्यसपछिको जीवनसामान्य बन्दै गयो। ऋचाको पेटको घाउ पनि निको हुँदै गयो। छोरो हुर्काउन उनलाई धेरैले सहयोग गरे। सबैबाट माया पाएकाले पनि उनको पहिलो सुत्केरी अविस्मरीण भयो। 

एउटा छोरो काखमा अर्को पेटमा बोकेर विदेश

ऋचाको छोरा १५ महिनाको हुँदै थियो। ऋचाको जीवन सोचेको जस्तो भएन। उनी दोस्रो पटक गर्भवती भएकी थिइन्। व्यवहार बिग्रिएको थियो। उनले अमेरिका जाने निधो गरिन्। यहाँबाट ऋचा छोरा र श्रीमानसँग पहिला क्यानडा गइन्। क्यानडाबाट अमेरिका। अमेरिकामा यहाँको जस्तो नाम, दाम केही थिएन। शून्यबाट संघर्ष गर्नुपर्यो। बच्चा सानो त्यसमाथि गर्भवती ऋचाले गर्नसक्ने केही थिएन। त्यहाँ ख्याल गर्ने आफन्त थिएनन्। आफन्त सम्झिएर बेलाबेलामा ऋचाको मनमा आँधी चल्थ्यो। आफैंभित्र मडारिन्थ्यो र हराउँथ्यो। 

संघर्षले मान्छेलाई बलियो बनाउँने रहेछ। ऋचालाई पनि यो संघर्षले बलियो बनायो। उनले घरायसी सबै काम आफैं गरिन्। जसले गर्दा पहिलाको जस्तो अनावश्यक तौल बढेन। उनी पहिला भन्दा छरिती थिइन। पहिलाको जस्तो शरीर चिलाउने पीडा दोहरिएन। 

पेटमा २८ हप्ताको बच्चा थियो। त्यो साँझ ऋचालाई हलुवा पुरी खान मनलाग्यो। बनाएर खाइन। त्यही साँझ उनलाई निरन्तर ट्वाइलेट जान मन लाग्यो। यो क्रम बढ्दै गयो। अघिल्लो पटक सुत्केरी व्यथा नै नलागी उनको अप्रेसन भएको थियो। उनलाई सुत्केरी व्यथाको ज्ञानै थिएन। बिस्तारै डाढ दुख्न थाल्यो। बिस्तारै व्यथाले च्याप्यो। दुखाइको क्रम बढ्दै गयो। साथीले पानी नफुटी अस्पताल नजान भनेकी थिइन। उनलाई बेला–बेला शरीरका सबै हड्डी भाँचिएको महसुस हुन्थ्यो। शकर काममा थिए। फोन गरेर बोलाइन्। उनीहरू अस्पताल गए। अस्पताल पुग्दा उनको पाँठेघरको मुख ६ सेन्टिमिटर खुलेको थियो। 

यसपटक ऋचालाई नर्मल डेलिभरीको रहर थियो। अस्पतालले पहिलो बच्चा जन्माउँदाको डकुमेन्ट माग्यो। उनीहरूसँग थिएन। त्यसपछि पुनः अप्रेसन गर्नुपर्ने भयो। दोस्रो पटक पनि अप्रेसन गरेर बच्चा निकालियो। दोस्रो पटक पनि उनको छोरो जन्मियो। अमेरिकमा भने डेलिभरीको हरेक प्रोसेसमा श्रीमानलाई सँगै राखिन्थ्यो। ऋचाका छोरा सानै थिए। छोडेर जाने आफन्त थिएनन्। त्यसैले शंकर बाहिरै बसे।

बच्चा जन्मिएपछि डाक्टरले नाल काट्न बाबुलाई बोलाए। शंकरले डरले नाल काट्न मानेनन्। डाक्टरले ऋचालाई सोधे ‘तिमीहरूको सम्बन्ध राम्रो छैन हो ?’ ऋचाले नेपालको संस्कृति यस्तो नभएको बताइन्। त्यसपछि डाक्टर आफैँले बच्चाको नाल काटिदिए। 

अमेरिकामा बच्चाको केयर गर्ने, सुत्केरीको स्याहार गर्ने आफन्त थिएनन्। अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि घरको सबै काम ऋचा आफैंले गर्नुपर्यो। २ वटा छोराको स्याहार। खानादेखि सबै कुरा आफैँले गर्नुपथ्र्यो। शकर काममा गइहाल्थे। ऋचाले आफ्नो देश र परिवार खुब सम्झना गरिन्। 

तेस्रो पटक छोरी 

ऋचालाई सानैबाट छोरीको रहर थियो। आफ्ना कति अधुरा रहर छोरीमार्फत पूरा गर्नु थियो। उनका २ वटा छोरा जन्मिसकेका थिए। सानो छोरा हुर्कदै थियो। २ पटक अप्रेसन भइसकेकोले अर्को बच्चा जन्माउन रिक्स पनि थियो। ऋचाले एउटा छोरी जन्माउन चाहेको शंकरलाई सुनाइन। शंकरले ‘अर्को पनि छोरो जन्मियो भने के गर्छेउ ?’ भनेर प्रश्न गरे। उनले रहर छाड्न सकिनन्। 

तेस्रो पटक आमा बन्ने भइन्। सानो छोरो दुई वर्ष पुग्नै लागेको थियो। गर्भ बसेको ६ हप्तामा भ्रुणको लिंग परीक्षण गरियो। अमेरिकामा यसलाई कानुनी मान्यता छ। गर्भमा छोरी रहेको थाहा भयो। आमा बन्न लाग्दाको खुसी ऋचामा बल्ल देखियो। यसपटक नेपालबाट उनकी आमा गएकी थिइन्। 

यसपटक पनि उनले खानामा गडबड गरिन्। शरीरको तौल बढ्यो। सुगर देखियो। किड्नीमा समस्या देखियो। औषधि चलाउनु पर्यो। तेस्रो पटक पनि अप्रेसन गरेर बच्चा निकालियो। छोरी जन्मिँदा भने पहिलो पटक छोरी रुँदा ऋचा छोरीसँगै रोइन्। ५ दिनमा उनी घर फर्किन्। यसबेला श्रीमानले पनि आफ्नै व्यापार थालेका थिए। नेपालबाट आमा गएकी थिइन्। उनलाई निक्कै सजिलो भयो। 

विदेशमा बच्चा हुर्काउन गाह्रो

ऋचाका लगभग उस्तै उमेरका ३ वटा बच्चा भए। अर्काको देशमा सहयोग गर्ने कोही हुँदैन। ३ वटा बच्चालाई एकै पटक समय दिन नमिल्ने । एउटा बच्चालाई केयर गर्दा अर्को बच्चाले चित्त दुखाउँछ कि भन्ने साइकोलोजिकल असर ऋचामा पथ्र्यो। यो मात्रै होइन,  उनको जेठो छोरो निक्कै पछिसम्म बोलेनन्।

छोराको बोली नफुटेपछि ऋचालाई छुट्टै खालको पीडा भयो। छोरालाई स्पिस थेरापिस्ट कहाँ लिएर जान्थिन्। सोसल वर्कसहरूसँग सल्लाह गर्थिन्। छोराको स्पष्ट बोली फुटेको दिन उनलाई संसार जितेको जस्तो भएको थियो। 

अहिले उनकी छोरी पनि ५ वर्षकी भइन्। छोराहरू हुर्कँदैछन्। छोराछोरी राम्रोसँग नेपाली बोल्न जान्दैनन्। ऋचाको मन अमिलो हुन्छ। छोराछोरीलाई भन्छिन्, ‘तिमीहरूले सुरुसुरुमा नेपाली बोल्दा अड सुनिन्छ। अरुले जिस्काउन सक्छन्। उनीहरूको वास्ता नगर्नू। नेपाली बोल्नुपर्छ।’ 

लगभग उस्तै उमेरका ३ छोराछोरी छोडेर ऋचाले केही काम गर्न पाइनन्। तर उनलाई पटक्कै पछुतो छैन। छोराछोरी उनको आँखा अगाडि हुर्किए।  भन्छिन् ‘मैले करोडौंमा किन्न नपाइने खुसी संगालेको छु।

मेरो छोराछोरीको सानो–सानो मुमेन्ट आँखामा क्याप्चर गर्न पाएँ।’ ऋचाले छोराछोरीलाई लिएर केही ठूला सपना संगालेकी छैनन्। भन्छिन् ‘मेरा छोराछोरीका लागि म राम्रो साथी बन्न चाहान्छु। उनीहरूका हरेक रहर र सपनामा साथ दिन चाहान्छु।’ उनलाई चिन्ता एउटै छ। भन्छिन्, ‘विदेशमा हुर्किए। छोराछोरीले नेपाली बोल्न जानेनन् भने के गर्ने ?’


 

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १०:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया