विद्यालय तहको पठनपाठन सञ्चालन गर्न सरोकारवालाको माग
फाइल तस्बिर

शिक्षा क्षेत्रका सरोकारवालाहरूले जनकपुरधामका विद्यालय तहको पठनपाठन सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

कोरोना संक्रमणका कारण नेपाल सरकारले विगत लामो समयसम्म गरेको बन्दाबन्दीले विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले अब भौतिक रुपमा पठनपाठन सञ्चालनमा ल्याइनुपर्ने माग गरेका हुन् ।

बन्दाबन्दीको करिब दुई वर्ष पूरा हुन लाग्दा पनि शैक्षिक संस्था खुलाउन स्थानीय तहले कुनै कार्यक्रम ल्याउन नसक्दा अन्योलको अवस्था आएको जनकपुरधामस्थित जानकी विद्या मन्दिरका सञ्चालक समेत रहेका एनप्याब्सन धनुषाका निवर्तमान सचिव डिके चौधरीले बताए । स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

कोरोना संक्रमितको संख्या घटिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा सतर्कताको उपाय अवलम्बन गरेर विद्यालय खोल्नुपर्ने चौधरीको माग छ । सरकारी निर्णयको अवज्ञा गर्दै कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोले सबैका लागि समान नियम कानुन लागु हुनुपर्ने माग समेत उनले राखेका छन् ।

‘विद्यालय नखोलेरै भएपनि अध्यापन गराउनु छ भने त्यसको पनि कुनै विकल्प खोज्नुपर्छ’, चौधरीले भने, ‘आफूहरुको रोजगारी बन्द रहेको अवस्थामा विद्यालय खोल्नु नै पर्छ भन्ने हाम्रो माग होइन । तर, बालबालिकाको भविष्य ओझेलमा परिरहेको छ । यो एकदम दुःखद पक्ष छ ।’

स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न उदासिनता देखाएको एनप्याब्सन धनुषाका नगर अध्यक्ष दिपक ठाकुरको गुनासो छ । उनले जनकपुरधाम उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । 



निषेधाज्ञा सुरु विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा खुकुलो बनाएर बजार पूर्णरुपमा खोलिसक्दा समेत शैक्षिक संस्थाहरु बन्द राख्ने निर्णय गर्दा जनकपुरका विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । 

यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सरकारले विद्यालय खोल्ने निर्णय नगरेसम्म भौतिक उपस्थितिमा खोल्ने अनुमति दिन नसकिने बताए । उनले आफूहरुले अहिलेसम्म विद्यालयहरु खोल्ने कुनै निर्णय नगरेको जानकारी दिए ।  



उनले भने, ‘कोरोना संक्रमण घटेकाले जनस्तरबाट विद्यालय खोल्न माग आइरहेको छ । तर, केन्द्रकै निर्णयबाट विद्यालय बन्द गरिएकाले खोल्नका लागि पनि केन्द्रबाटै समन्वय हुनुपर्छ ।’

उनले तेस्रो लहरको जोखिम पनि रहेकाले विद्यालय खोल्न हतार नगरिएको बताए । माथिबाट कम्तिमा पनि स्थानीय तहको अवस्था हेरेर विद्यालय खोल्ने अनुमति दिनुपर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया