पहाडी जिल्लामा कालाजारको संक्रमण बढ्दै

काठमाडौ– विशेषगरी तराई क्षेत्रमा देखिने कालाजार पछिल्लो समय पहाडी तथा हिमाली भेगमा देख्न थालिएको छ । गत माघ महिनायता १ सय ५२ जनामा कालाजार फेला परेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. धनश्याम पोखरेल बताउँछन् । 

विगतका वर्षहरूको तथ्यांकलाई हेर्न हो भने कालाजार रोग घट्दै गएको छ । डा. पोखरेल भन्छन्, ‘तर अहिले यो रोगको प्रभाव पहाडी तथा हिमाली क्षेत्रमा बढ्दै गएको छ ।

विगतको आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने २०७०/०७१ मा तीन सय ३९, २०७१/०७२ मा दुई सय २०, २०७२/०७३ मा दुई सय ५० र २०७३/०७४ मा दुई सय २५ जनामा कालाजार देखिएको थियो । 

सरकारले कालाजार न्यूनीकरणका लागि विभिन्न कार्यक्रम ल्याए पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । गत माघदेखि अहिलेसम्मको तथ्यांकलाई हेर्दा कालाजारको संक्रमणबाट चारजनाको मृत्यु भइसकको छ । काठमाडौं, पाल्पा, बाजुरा, जुम्लामा एक–एक जनाको मुत्यु भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

सन् २०१६ मा ४८ जिल्लामा कालाजार देखिएकोमा दुईजनाको मृत्यु भएको थियो । सन् २०१७ मा ४९ जिल्लामा कालाजारको प्रकोप देखिएकोमा पाँचजनाको मृत्यु भएको छ । 

पछिल्लो समय भोजपुर, खोटाङ, काठमाडौं, मकवानपुर, रामेछाप, ओखलढुंगा, खोटाङ, सिन्धुली, स्याङ्जा, तनहुँ, काभ्रे, भक्तपुर, दोलखा, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, दैलेख, हुम्ला, कालिकोट, जुम्ला, सल्यान, अछाम, बैतडी, बाजुरा, डडेलधुरा, दार्चुलालगायतका जिल्लामा कालाजारका रोगी फेला परेका छन् ।



तराई, पहाड, हिमाली जिल्ला गरेर अहिलेसम्म ४९ जिल्ला कालाजार रोगबाट प्रभावित भएको तथ्यांक छ । 

पछिल्लो ९ महिनाको कालाजार रोगीको तथ्यांक
प्रदेश १ : २३ 
प्रदेश २ : २५ 
प्रदेश ३ : १४ 
गण्डकी प्रदेश : ३ 
प्रदेश ५ : ३१ 
कणाली प्रदेश : २७
सुदुरपश्चिम प्रदेश : २८ 



सैन्ड फ्लाई नामको भुसुनाको टोकाइबाट कालाजारको कीटाणु मानिसमा सर्ने गर्छ । सक्रंमण भएपछि यो रोगको कीटाणु कलेजो तथा फियोजस्ता भित्री अगंमा फैलिने गर्दछन् । समयमै रोगको परिचान नभए तथा संक्रमित व्यक्तिले उपचार पाउन सकेन भने मृत्युसमेत हुने गर्दछ । 

डा. पोखरेलका अनुसार सरकारले कालाजार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम, कालाजार संक्रमित व्यक्तिको परिचान गर्ने गाउँ–गाउँमा स्वास्थ्यकर्मी परिचालन गरिरहेको छ ।

कालाजारबाट संक्रमित मानिसलाई दुई सातासम्म ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता हुने र कलेजो तथा फियोको आकारमा उल्लेखनीय रूपमा वृद्धि हुने गर्दछ । 

भुसुनाले टोकेपछि यी लक्षण देखिन दुई महिनादेखि आठ महिनासम्म लाग्न सक्छ । सैन्ड फ्लाई नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको सक्रंमणबाट बच्ने प्रभावकारी उपाय हो । 

गर्मीयाममा साँझपख र राति भुसुनाहरू बढी सक्रिय हुन्छन् । लिस्मेनिया परजीवी कुकुरमा पनि पाइन्छ । संक्रमित कुकुरलाई टोकेका भुसुनाले मानिसलाई टोक्दा पनि यो रोग सर्न सक्छ । संक्रमित रगत ट्रान्सफ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा यो रोग सर्ने गर्दछ । 

निःशुल्क उपचारसहित थप एक हजार प्रोत्साहन रकम 

सरकारी स्वास्थ्य संस्थामा कालाजारको निःशुल्क उपचार तथा औषधि पाइने गर्दछ । डा. पोखरेल भन्छन्, ‘कालाजार लागेको रोगीको स्वास्थ्य संस्थामा उपचार भयो भने सरकारले निःशुल्क उपचारसहित थप एक हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ ।’

पहाडमा कालाजार देखिनुको कारण 

सैन्ड फ्लाई नामक भुसुना न धेरै चिसोे ठाउँमा बस्न सक्छ न त धेरै गर्मी ठाउँमा नै । यो भुसुनालाई नेपालका पहाडी जिल्लाको तापक्रम ठीक हुने भएकाले पहाडी क्षेत्रमा बढी पाइन्छ । 

डा. पोखरेल भन्छन्, ‘यातायातको सहजले मानिसको तराईमा आहोर–दोहोर हुने गर्दा पहाडतर्फ कालाजारको जोखिम बढ्दै गएको छ । त्यसैगरी, जलवायु परिवर्तनले पनि कालाजार रोग पहाडी क्षेत्रमा बढ्दै गएको छ ।’
 

  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १३:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया