‘वीर अस्पतालमा तीन दिनमा सय बेड आइसियू सञ्चालनमा ल्याउने तयारी पूरा भएको थियो । मलाई छोड्न बाध्य पारिएको १२ दिनपछि पनि ३५ बेड मात्र ? प्राइभेट अस्पतालको चलखेल सफल भएछ । अब फेरि मलाई १५ दिन मात्र समय दिए दुई सय बेड आइसियू चलाएर देखाइदिन्थेँ । औषधि खर्च, सेवा विस्तार भत्ता पाए होलान् कर्मचारीले ।’
यो कोभिड-१९ युनिफाइड अस्पतालका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्राडा. जागेश्वर गौतमले सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेको आक्रोश हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यायदेशमार्फत प्राडा. गौतम वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए । नियुक्तिको करिब दुई महिना उनले काम गर्न पाए । त्यो अवधिमा उनले सय बेड आइसियू र सय नै भेन्टिलेटरलगायतको व्यवस्था गरेको दाबी गर्दै आएका छन् । उनले अक्सिजन प्लान्ट पनि थप गरे । अहिले तीन वटा प्लान्टमार्फत अक्सिजनको आपूर्ति भइरहेको छ ।
नियुक्तिको दिनदेखि नै उनी विभिन्न विवादमा पर्दै आए । जसले विवाद सिर्जना गर्न खोज्यो उनीहरूलाई काम चोर, निजी अस्पतालबाट कमिसन खाने गरेको आरोपसमेत उनले लगाउन भ्याए । जिम्मेवारीबाट हटाइएको १२ दिनमा उनले वीर अस्पतालमा निजीको चलखेल सुरु भइसकेको भन्दै ट्विट नै गरे । आखिर अस्पतालमा के कस्तो अवस्था छ ? हामीले अस्पतालमै पुगेर वीरको अवस्थाबारे शोधखोज गर्याैँ ।
अस्पतालमा हेर्ने क्रममा अहिले पनि ४५ आइसियू बेडमा कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । गौतम प्रमुख हुँदा ९ वटा आइसियू बेड सञ्चालनमा थियो । त्यसपछि अहिले थप ९ वटा गरेर नयाँ भवनमा १८ वटा आइसियू बेड सञ्चालनमा छन् ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले बाहिर कुरा आएजस्तो समस्या नरहेको बताए । आइसियू नै चल्न नसकेको ? निजी अस्पतालहरूको चलखेल सुरु भएको ? जस्ता कुराहरू बााहिर आएको छ नि भन्ने प्रश्नमा डा. बस्नेतले भने, ‘उहाँ हुँदा ९४ वटा जनरल बेड, ९ वटा आइसियू चलेको थियो । अहिले हामीले अर्को ९० वटा बेड र ९ वटा आइसियू थप गरेका छौैँ । जसमा ४२ वटा एचडियू बेड छन् । आज (आइतबार)देखि सुरु भएको छ ।’
डा. बस्नेतसँग गरिएको थप कुराकानी :
कोरोना महामारीको तेस्रो लहरसँग जुध्न कस्तो तयारी भइरहेको छ ?
तेस्रो लहरको लागि भनेर सबै कुरा तयारी अवस्थामा राखिएको छ । हामीले पोस्टकोभिड ओपिडी, इमरजेन्सी कोभिड ओपिडी, फिभर क्लिनिक र पिसिआर ल्याब सञ्चालनमा ल्याउँछौँ । जुन ल्याब अब २४ घण्टा नै सञ्चालनमा आउँछ । अहिले ९ देखि ५ बजेसम्म सञ्चालनमा छ । यति दुई साताभित्रमा हुन्छ । नयाँ भवनको पहिलो र दोस्रो तलामा अहिले कोरोना संक्रमित बिरामी राखेका छौँ । अब बाँकी तीन तला जनरल बेडको हिसाबले अर्को दुई सातामा सञ्चालनको अवस्थामा पुर्याउँछौँ । अबको तीन साताभित्रमा ५०० बेड चलाउन सक्ने अवस्थामा पुग्ने छौँ । यो सबै तेस्रो लहरलाई दृष्टिगत गर्दै भइरहेको तयारी हो ।
तेस्रो लहरको लागि भनेर ५०० बेड नयाँ भवनमा तयार गर्छौं । पुरानो भवनमा अहिले पनि ४०० बेड छ । तेस्रो लहर आयो भने थप बेड तयारी अवस्थामा राख्न सक्छौँ । हामी विशेषज्ञ सेवालाई होल्ड गरेर भए पनि कोभिड उपचार गर्छौंँ। अहिले पनि ९०० बेडको तयारी त गरेकै छौं ।
यी सबै त यसअघिकै प्रमुख प्रशासकीय अधिकृतले व्यवस्थापन गरिदिनुभएको हैन र ?
उहाँले केही कुरा व्यवस्थापन गर्नुभएको छ । काम गर्ने र गफ गर्ने भनेको फरक हो । उहाँले काम कम, गफ बढी गर्नुभएको थियो । जुन कुरा छर्लंगै देखिन्छ । आफूले छोडेपछि सबैकुरा भद्रगोल नै भयो भन्ने सोच राख्नु नै गलत हो । सबै कुराहरू सिस्टमेटिक रूपमा अगाडि बढिरहेको छ ।
उहाँले सयवटा मनिटर लिनुभएको थियो । त्यो मनिटर आइसकेको छ । उहाँले ल्याउनुभएको मनिटर भित्तामा ठोक्ने खालको (वाल फिटिङ) थियो । तर, त्यो भवनको संरचना उहाँलाई थाहा भएन । त्यो भवनमा भित्तामा ठोक्न मिल्दैन । त्यो नयाँ प्रविधिले बोर्डबाट बनाइएको छ । त्यसैले त्यो भित्तामा ठोक्न मिल्दैन । उहाँले किनेर ल्याएको मनिटर हामीले राख्न सकेका छैनौँ । अब त्यसका लागि स्ट्यान्ड बनाउनुपरेको छ । त्यसकारण काम गर्न ढिलाइ भइरहेको छ । बजारमा स्ट्यान्ड खोजेका थियौँ, तर पाइएको छैन । त्यो नयाँ बनाउँदा राम्रो हुँदैन । विदेशबाट ल्याउने तयारी भइरहेको छ । अहिले हाम्रै कारखानाबाट कामचलाउखालको स्ट्यान्ड बनाइरहेका छौँ । त्यसले केही समयमात्र काम दिन्छ । विदेशबाट ल्याउँदासम्म यसैबाट काम चलाउँछौँ । हामीले ५० वटा आइसियू र ५० वटा एचडियू गरी १००-१०० वटा आइसियू र एचडियू २४ घण्टा सञ्चालन गर्न सकिनेगरी तयारी गरेका छौं ।
महामारीसँग जुध्नका लागि वीर अस्पतालले व्यहोर्नुपर्नेे चुनौती कस्ताखालका छन् ?
अहिले हामीसँग सबै नयाँ संरचना छ । सानो एउटा नटबोल्ट मिलेन भने पनि काम हुँदैन । मनिटरकै कुरा गर्दा सानो प्राविधिक कारणले रोकियो । हो, त्यस्तैखालका अन्य समस्याहरू पनि आइरहेका छन् । मेडिकलमा कतिपय प्राविधिक कुराले रोकिएको हुन्छ । भित्तामा किला ठोक्नुपर्ने हुन्छ । तर, सानो भाग पनि अड्कियो भने त्यसले काम दिँदैन । त्यसले मेसिन जडानमा समस्या ल्याइदिन्छ । अर्को, जनशक्ति अभावले पनि समस्या भइरहेको छ । जति नयाँ मानिसहरू आउँछन् त्यति नै काम सिक्दै आएका हुन्छन् । तिनीहरूलाई काम सिकाउनुपर्ने पनि चुनौती छ । कतिपय विषयमा विज्ञहरू नपाएर समस्या भइरहेको छ ।
आइसियू चलाउनका लागि विशेषज्ञ चिकित्सकको विज्ञापन गरेका छौँ । त्यो जनशक्ति पाइरहेका छैनौँ । आइसियू चलाउन क्रिटिकल केयर फिजियिसन चाहिन्छ, त्यस्तो जनशक्ति पाउन गाह्रो परेको छ । त्यो एउटा ठूलो चुनौती छ । हामीले ५ जना मागेका थियौँ, दुई जना आए । अझै पनि हामी तीन जनाको खोजीमा छौँ । नयाँ भवनमा पूरै कोभिडका बिरामी र पुरानो भवनमा ननकोभिडका विरामी राख्न खोजेका छौं । त्यस्तो गरिएको चाहिँ विशेषज्ञ सेवामा कोभिडका कारणले असर नहोस् भनेर हो ।
पुराना उपकरण मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिँदैन ?
कतिपय सामानहरू बिग्रिएका छन् । ती सामानको मर्मतसम्भार हुन्छ । एउटै सामान १० जना डाक्टरले चलाइरहेका हुन्छन्, धेरै बिरामीलाई एकैचोटि उपचार गराउनुपर्छ । जसले गर्दा सामानहरू बिग्रिने र मर्मतसम्भार गर्ने काम भइरहन्छ । यसलाई नियमित प्रक्रिया भन्नुपर्छ । सम्भावना रहेसम्म उपकरणहरू मर्मतसम्भार गरेर सञ्चालन गर्दै आएकै छौँ । मर्मत नै गर्न नसकिने उपकरण भने नयाँ किनेर व्यवस्थापन गर्दै आएका छौँ ।
कर्मचारीले सेवासुविधा नपाएर पटकपटक आन्दोलन गर्दै आएका छन् । कहिलेसम्म यस्तो ?
सेवासुविधा सबै कर्मचारीले पाइरहेकै छन् । त्यो त नियमित नै छ । कोभिडको पैसा पनि आइसकेको छ । १५०० कर्मचारीको हिसाब गर्दा केही दिन त लागिहाल्छ । बढी कर्मचारी भएकाले तत्काल नै दिन सम्भव छैन । केही दिनभित्र सबैलाई कोभिड जोखिम भत्ता दिन्छौँ।
वीर अस्पताललाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
म यो अस्पतालमा लामो समयदेखि काम गर्दै आएको छु । यही अस्पतालमा इन्टर्नसिपदेखि लिएर डिएमसम्म पढेको हुँ। मेडिकल अफिसरदेखि प्रोफेसरसम्मको पदमा काम गरेको छु । र, यो अस्पतालको निर्देशकसम्म भइसकेको छु । त्यसैले यो अस्पतालबारे मैले सबै कुरा बुझेको छु । पहिला पनि थुप्रै प्लान थिए । कोभिडले गर्दा काम अघि बढाउन सकिएन । विशेषज्ञ सेवाको लागि नेपालीले यस्तो सेवा यहाँबाहेक कहीँ पाइँदैन भन्ने खालको बनाउने योजना छ । साधारण सेवा सबै ठाउँमा पाइन्छ । विशेषज्ञ र अति विशेषज्ञ सेवाको लागि वीर अस्पताल गएपछि सबै कुरा हुन्छ भन्ने बनाउने मेरो योजना हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।